सहकारीमा ११ खर्ब बचत : झन्डै ९ खर्ब कर्जा प्रवाह, ६२ हजार दावीकर्तामध्ये धेरैको पैसा अलपत्र « Arthapath.com
१९ जेष्ठ २०८२, सोमबार

सहकारीमा ११ खर्ब बचत : झन्डै ९ खर्ब कर्जा प्रवाह, ६२ हजार दावीकर्तामध्ये धेरैको पैसा अलपत्र



काठमाडौं । नेपालको सहकारी क्षेत्र आर्थिक गतिविधिको एउटा महत्वपूर्ण खम्बा बनेको छ । हालसम्म देशभकार सहकारी संस्थाहरुले झन्डै साढे ९ खर्ब कर्जा प्रवाह गरेका छन् ।


सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१८२ का तथ्यांकले यस्तो देखाएको हो ।

संस्थाहरूले हालसम्म ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । ग्रामीणदेखि शहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गरेका छन् ।

सहकारी संस्थाहरूले ११ खर्ब २५ अर्ब २८ करोड रुपैयाँ बचत परिचालन गरेका छन् । बचत रकममध्ये ठूलो हिस्सा अझै कर्जा प्रवाहमा छ ।

सहकारी संस्थाहरूमा काम गर्ने जनशक्ति पनि कम हुँदै गएको सर्वेक्षणमा उल्लेख छ । गत वर्षभरि ९४ हजारभन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष रोजगारी पाएका थिए । भने हाल यो संख्या घटेर करिब ९० हजार पुगेको छ ।

सहकारी संस्थाको दायरा विस्तार भएसँगै आवद्ध संस्था संख्या पनि बृद्धि भई १७ हजार ६ सय ९६ देखि बढेर १८ हजार ८ सय ९९ पुगेको छ ।

तर, यतिबेला सबैभन्दा गम्भीर विषय भनेको बचतकर्ताहरूको रकम फिर्ता सम्बन्धी समस्या हो । २२ मध्ये १९ सहकारी संस्थाहरू अझै पनि आफ्नो दायित्व पुरा गर्न असमर्थ छन् । कुल दावीकर्तामध्ये एक ठूलो संख्या अझै बचत फिर्ता पाउन बाँकी छ । केही सदस्यले आंशिक रकम त पाएका छन्, तर धेरैले अझै आफ्ना बचत रकम फिर्ता पाउन सकेका छैनन् ।

अझै पनि सर्वसाधारणको करोडौं बचत रकम फिर्ता हुन बाँकी रहेको छ । आर्थिक सर्वेक्षणअनुसार समस्याग्रस्त घोषित २२ सहकारीमध्ये ३ को हरहिसाब राफसाफ मात्र भएको छ भने १९ सहकारी संस्थामा सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी हुन बाँकी छ । यस्तो अवस्थाले सहकारी क्षेत्रमा व्यापक असन्तुष्टि र अविश्वास निम्त्याएको छ ।

हालसम्म ६२ हजार ७ सय १० कुल दावीकर्तामध्ये ७ हजार १५५ सदस्यको सम्पूर्ण बचत फिर्ता भएको छ भने करिब १ हजार सदस्यको आंशिक बचत मात्र फिर्ता भएको छ । बाँकी सदस्यको बचत फिर्ता हुन सकेको छैन ।

पीडित बचतकर्ताले गरेको मागदाबी ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७ सय १० रहेको छ । तीमध्ये चालू आर्थिक वर्षको फागुनसम्म मात्र १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ फिर्ता भएको तथ्यांक छ ।

गत फागुनसम्म नेपालभरका सहकारी संस्थाको संख्या ३२ हजार ९ सय ६५ पुगेको छ । त्यस्तै, सेयर सदस्य संख्या १ करोड ९ लाख ५ हजार १ सय ९२ र सेयर पुँजी १ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्