तुलसी सहकारी घोटाला : अध्यक्षसहित तीन जना दोषी ठहर, बचतकर्ताको डेढ अर्ब हिनामिना « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

तुलसी सहकारी घोटाला : अध्यक्षसहित तीन जना दोषी ठहर, बचतकर्ताको डेढ अर्ब हिनामिना



काठमाडौं । झन्डै डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोपमा पक्राउ परेका तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, सचिव र क्षेत्रीय प्रबन्धक दोषी ठहरीएका छन् ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई मोरङ जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले तीनै जनालाई सहकारीको बचत अपचलनमा दोषी ठहर गरेको छ । तर, दण्ड–सजायको टुंगो भने भोली लाग्ने बताइएको छ ।

सहकारीले झापा, उदयपुर, सिराहा लगायतका शाखामार्फत २१ हजारभन्दा बढी सदस्यबाट १ अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको थियो । तर, अध्यक्ष शर्मामाथि मात्रै १६ करोड ९७ लाख रुपैयाँ सहकारीको खातामा नचढाई हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

अदालतले उपाध्यक्ष अनिता गौतम, सञ्चालक आदित्य भट्टराई र निर्मला पोखरेललाई भने सफाइ दिएको छ ।

२०७९ फागुनदेखि बन्द रहेको सहकारीले उठाएको रकमबाट उद्योग र स्टोर सञ्चालन गरे पनि बचतकर्तालाई फिर्ता दिन नसक्दा उजुरी परेको थियो । त्यसपछि तीनै जनालाई पुर्पक्षका लागि मोरङ कारागार पठाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्