कामना सेवा विकास बैंकद्वारा आठौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आठौ शाखा रहित बैंकिङ सेवाको सुरुवाथत गरेको छ । देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो ।
बैंकले सेवा विस्तार गर्ने क्रममा बैशाख ८ गते बिहीबारबाट लमजुङ जिल्लाको मध्यनेपाल नपा वडा नंं ०२ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । मध्यनेपाल नपा वडा नंं ०२ सोतीपसल स्थित पौडेल इलेक्ट्रिक पसल (प्रो. लक्ष्मण पौडेल) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
बैंकका सञ्चालक चतुराखर अधिकारी र वडा नं. ०१ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं. ०२ का वडा अध्यक्ष पदम बहादुर थापाले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन । कार्यक्रममा उद्योग वाणिजय संघका अध्यक्ष ऋषी राम पुरी र मंगला माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णु हरि बास्तोला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।
शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।