विकास बैंकहरुले नाफा २९ प्रतिशत बढाए : सर्वाधिक कमाउनेमा मुक्तिनाथ, वृद्धिदरमा ज्योति विकास तगडा « Arthapath.com
७ कार्तिक २०८१, बुधबार

विकास बैंकहरुले नाफा २९ प्रतिशत बढाए : सर्वाधिक कमाउनेमा मुक्तिनाथ, वृद्धिदरमा ज्योति विकास तगडा



काठमाडौं । विकास बैंकहरुको खुद नाफा २९ प्रतिशत वृद्धि भएको छ ।

तीन महिनामा राष्ट्रिय स्तरका आठ विकास बैंकले डेढ अर्ब नाफा कमाएका हुन् । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २९.०७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले १ अर्ब १० करोड ७५ लाख ८७ हजार रुपैयाँ नाफा कमाएका थिए ।

समिक्षा अवधिमा सर्वाधिक नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तुलनामा भने २३.१७ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले २२ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा महालक्ष्मी विकास बाहेकका सबै बैंकहरुले नाफा बढाएका छन् । महालक्ष्मीको नाफा सामान्य अर्थात् १.१४ प्रतिशत घटेर ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ कायम भएको छ ।

तर, पहिलो त्रैमासमा सर्वाधिक नाफा वृद्धि गर्नेको पहिलो सूचीमा ज्योति विकास बैंक छ । बैंकको नाफा झन्डै तीन गुणा अर्थात् १९७.६१ प्रतिशत बढेको छ । गत आवको पहिलो त्रैमासमा बैंकले ५ करोड ८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । तर, चालु आवको सोही अवधिमा भने १५ करोड ११ लाख ९० हजार रुपैयाँ कमाएको छ ।

यस्तै, कामना सेवा विकासको नाफा पनि ४६.४० प्रतिशत बढेर १७ करोड ४९ लाख ७९ हजार, सांग्रिला डेभलपमेन्ट बैंकको २९.१६ प्रतिशत वृद्धि भई ६ करोड १ लाख, शाइन रेसुङ्गाको २४.८९ प्रतिशत बढेर २३ करोड ९३ लाख, लुम्बिनी विकासको १६.५७ प्रतिशत वृद्धि भई २० करोड १९ लाख ८५ हजार र गरिमा विकास बैंकको १२ प्रतिशत वृद्धि भई २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्