कर्णाली डेभलपमेन्ट बैंकमा लगानीकर्ताको ४ अर्ब बन्धक

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएसँगै ५० लाखभन्दा बढी कित्ता सेयर बन्धक बनेको छ । यस बैंकको ५० लाख २८ हजार ३ सय कित्ता सेयर अनिश्चितकालका लागि बन्धक बनेको हो ।
सो बैंकमा सर्वसाधारण समूहको २४ लाख ६३ हजार ८६७ कित्ता र संस्थापक समूहको २५ लाख ६४ हजार ४३३ कित्ता सेयर बाँकी रहेको छ ।
बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषित गरेसँगै यो कम्पनीको सेयर कारोबार रोक्का भएको छ । मंगलबार यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँमा कारोबार भयो । बुधबार राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्यो । बिहीबारदेखि कम्पनीको सेयर कारोबार रोक्का भयो ।
अन्तिम दिन यो बैंकको कुल बजार पुँजीकरण ४ अर्ब ७ करोड २९ लाख २३ हजार रुपैयाँ रहेको छ । यसरी लगानीकर्ताको ४ अर्ब ७ करोड २९ लाख २३ हजार रुपैयाँ सम्पत्ति बन्धक बनेको छ ।
समस्या देखिएपछि राष्ट्र बैंकले २०८१ मंसिर ११ देखि लागू हुने गरी शीघ्र सुधारात्मक कारबाही सुरु गरेको थियो। यो कारबाही सुरु भएपछि संस्थाले राष्ट्र बैंकले तोकेको समयमा तोकेका सूचकहरूमा सुधार गर्नुपर्छ। तर बैंकले प्रतिबद्धताअनुसार सुधारको काम नगरेको र वित्तीय सूचक झन्झन् खराब हुन थालेपछि राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि सञ्चालक समितिको बैठक बसेर व्यवस्थापन नियन्त्रणमा लिएको हो ।
कर्णाली डेभलपमेन्ट बैंकमा करिब ५ अर्ब निक्षेप र ३ अर्ब रुपैयाँ कर्जा प्रवाह छ। निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।