विकास बैंकको नाफा ८ प्रतिशत बढ्यो: नाफामा मुक्तिनाथ र गरिमाको चर्को प्रतिस्पर्धा, कसले कति कमाए ?

काठमाडौं । विकास बैंकहरुको नाफा ८ प्रतिशत वृद्धि भएको छ । राष्ट्रिय स्तरका विकास बैंकहरुले १० महिनामै झन्डै साढे ४ अर्ब नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा आठ विकास बैंकले ४ अर्ब ३८ करोड १८ लाख रुपैयाँ नाफाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ८.०८ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकहरुले ४ अर्ब ५ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
अधिकांश बैंकहरुको नाफामा बढोत्तरी देखिएको छ । ६ वटा बैंकले नाफा बढाएका छन् भने २ वटाको घटेको छ ।
मुक्तिनाथ र गरिमा विकास बैंकबीच नाफा निकै टक्कर देखिएको छ ।
समिक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । १० महिनामा बैंकले ८७ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि, यो नाफा गत आवको तुलनामा ११.८६ प्रतिशत कमी हो । गत वर्षको बैशाख मसान्तसम्म बैंकले ९९ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
दोस्रो धेरै नाफा गरिमा विकास बैंकको देखिएको छ । बैंकले ८६ करोड ९३ लाख रुपैयाँ नाफा कमााएको छ । यो नाफा गत वर्षको तुलनामा १४.७७ प्रतिशत बढी हो । नाफा बढाउने मामलामा भने सांग्रिला डेभलपमेन्ट बैंक शीर्ष सूचीमा छ । बैंकको नाफा ७८.७२ प्रतिशत वृद्धि भई ४९ करोड ८७ लाख ५० हजार रुपैयाँ पुगेको छ । जबकि, गत आवको बैशाख मसान्तसम्म बैंकले २७ करोड ९० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
नाफा वृद्धिदरका आधारमा दोस्रो सूचीमा ज्योति विकास बैंक रहेको छ । बैंकको नाफा ५६.५५ प्रतिशत बढेर ३६ करोड १४ लाख रुपैयाँ कायम भएको छ ।
तेस्रो सूचीमा रहेको कामना सेवाको नाफा पनि ४२.८६ प्रतिशत बढेको छ । १० महिनामा बैंकले ५७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, शाइन रेसुङगा डेभलपमेन्ट बैंकको नाफा पनि ५.४२ प्रतिशत वृद्धि भई ६१ करोड ५४ लाख र महालक्ष्मी विकास बैंकको नाफा ०.३१ प्रतिशत बढेर ४६ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । यता, लुम्बिनी विकास बैंकको नाफा भने ६५.१४ प्रतिशत घटेर ११ करोड ९२ लाख रुपैयाँ कायम भएको छ ।