सावाँ र ब्याज नउठ्दा थप चुलियो फाइनान्स कम्पनीको खराब कर्जा: २० प्रतिशतसम्म पुग्यो, कुनको कति ? « Arthapath.com
१३ चैत्र २०८०, मंगलवार

सावाँ र ब्याज नउठ्दा थप चुलियो फाइनान्स कम्पनीको खराब कर्जा: २० प्रतिशतसम्म पुग्यो, कुनको कति ?



काठमाडौं । फाइनान्स कम्पनीहरुको खराब कर्जा पनि बढ्दो नै छ । अधिकांश कम्पनीहरुको खराब कर्जाको ५ प्रतिशत माथि छ ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको पुस मसान्तसममको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार कम्पनीहरुको औसत ७.२२ प्रतिशत छ ।

लगानी गरेको कर्जा उठ्न नसक्दा नै कम्पनीहरुको खराब कर्जा बढेको हो । कतिपय कम्पनीहरुको कर्जा नियन्त्रणभन्दा बाहिर पनि देखिएको छ । राष्ट्र बैंकका अनुसार कम्पनीहरुको खराब कर्जा २० प्रतिशतसम्म पुगेको छ । विशेषतः आर्थिक शिथिलताका कारण लगानी गरेको कर्जा समयमा उठ्न सकेको छैन, साँवा र ब्याज समयमा नउठ्दा कम्पनीहरुको खराब कर्जा बढ्दो छ ।

पुस मसान्तसम्मको तथ्याङ्क अनुसार जानकी फाइनान्सको खराब कर्जा १९.९९ प्रतिशत पुगेको छ । यस्तै, गोर्खाज फाइनान्सको खारब कर्जा १३.७३ प्रतिशत, प्रोग्रेसिभको ११.४५ प्रतिशत, नेपाल फाइनान्सको १०.५२, रिलायन्सको ९.६७, सेन्ट्रल फाइनान्सको ९.४४ प्रतिशत छ ।

मल्टीपर्पस फाइनान्सको सबैभन्दा कम खराब कर्जा, आधा दर्जन कम्पनीको ५ प्रतिशत कम

समिक्षा अवधिमा आधा दर्जन फाइनान्स कम्पनीको खराब कर्जा ५ प्रतिशत कम छ । राष्ट्र बैंकका अनुसार सबैभन्दा कम मल्टीपर्पस फाइनान्सको देखिएको छ । कम्पनीको हाल १.४८ प्रतिशत छ ।

यस्तै, श्रीइन्भेष्टमेन्ट एण्ड फाइनान्सको १.९४ प्रतिशत, आइसीएफसी फाइनान्सको २.२१ प्रतिशत, बेष्ट फाइनान्सको ३.३२ प्रतिशत, मञ्जुश्री फाइनान्स ३.५ प्रतिशत छ । यता, समृद्धि फाइनान्स कम्पनीको खराब कर्जा ४.६८ प्रतिशत र पोखरा फाइनान्सको ४.७६ प्रतिशत रहेको छ ।

तर, गुडवील फाइनान्सको खराब कर्जा ५.२३ प्रतिशत छ । यता, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको पनि ६.४५ प्रतिशत पुगेको छ । खराब कर्जा ५ प्रतिशतभन्दा बढी हुँदा लगानीकर्तालाई लाभांश वितरण गर्न समेत नसक्ने अवस्था छ । यी कम्पनीहरुले आगामी वर्ष लगानीकर्तालाई लाभांश समेत वितरण गर्न सक्दैनन्। खराब कर्जा बढेसँगै कम्पनीहरुको नाफा पनि प्रभावित भएको छ ।

केन्द्रीय बैंकले दुई फाइनान्स कम्पनीलाई यसअघि नै समस्याग्रस्थ घोषणा गरेको छ। राष्ट्र बैंकले नेपाल सेयर मार्केट एण्ड फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई समस्याग्रस्थ घोषणा गरेको हो ।

क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको शतप्रतिशत (१०० प्रतिशत) खराब कर्जा रहेको छ। यता, नेपाल सेयर मार्केट एण्ड फाइनान्सको खराब कर्जा ९८.५२ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्