मौद्रिक नीति: ऊर्जा बण्डलाई ऊर्जा क्षेत्रमा गर्नुपर्ने लगानीको सीमामा गणना गर्न पाउने
काठमाडौं । बैंकहरुले ऊर्जा बण्डलाई ऊर्जा क्षेत्रमा गर्नुपर्ने लगानीको सीमामा गणना गर्न पाउने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले ऊर्जा बण्ड, ऊर्जा सम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने भएका हुन् ।
शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।
‘ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्न ऊर्जा क्षेत्रसँग सम्बन्धित विशिष्टकृत संस्थाहरुबाट जारी गरिएका ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न सकिने व्यवस्था मिलाइनेछ’, मौद्रिक नीतिमा उल्लेख छ ।