सगरमाथा आरोही सुदीप पन्त र साईत शर्मालाई आईसीएफसी फाइनान्सद्वारा सम्मान « Arthapath.com
२९ जेष्ठ २०८३, शुक्रबार

सगरमाथा आरोही सुदीप पन्त र साईत शर्मालाई आईसीएफसी फाइनान्सद्वारा सम्मान



काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले सगरमाथा सफलतापूर्वक आरोहण गरेका सुदीप पन्त र साईत शर्मालाई विशेष समारोहबीच सम्मान गरेको छ।

संस्थाले शनिबार आयोजना गरेको कार्यक्रममा आरोहीद्वयलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष सुशीलकुमार अर्यालको प्रमुख आतिथ्यता रहेको थियो भने कर्मचारी, सामाजिक अगुवा, व्यवसायी, परिवारजन तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ।

कार्यक्रममा बोल्दै वक्ताहरूले सगरमाथा आरोहण व्यक्तिगत उपलब्धि मात्र नभई राष्ट्रको गौरव र पहिचानसँग जोडिएको विषय भएको बताएका थिए। यस्ता सफलताले नेपाली युवापुस्तामा आत्मविश्वास, देशप्रेम तथा उच्च लक्ष्य हासिल गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको थियो।

सम्मानित आरोही सुदीप पन्त र साईत शर्माले आफ्नो आरोहण यात्राका अनुभव साझा गर्दै हिमाल आरोहणका क्रममा सामना गर्नुपरेका चुनौती, जोखिम तथा सफलताका क्षणबारे चर्चा गरेका थिए। उनीहरूले आफ्नो सफलतामा परिवार, सहयोगी संस्था, साथीभाइ तथा सम्पूर्ण नेपालीहरूको साथ र समर्थन महत्वपूर्ण रहेको बताएका थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल पर्वतीय पर्यटन, साहसिक खेलकुद तथा वातावरण संरक्षणका क्षेत्रमा थप योगदान आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। साथै नेपाली पर्वतारोहीहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस्ता प्रतिभालाई निरन्तर प्रोत्साहन र सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।

संस्थाले आगामी दिनमा पनि खेलकुद, पर्यटन, सामाजिक तथा राष्ट्रिय गौरवका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान तथा प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्