सिवाईसी नेपाल लघुवित्तको आईपीओ भाग्यमानी ८ जनाले ११ कित्ता पाउने, १० कित्ता कतिले पाउँछन् ? « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

सिवाईसी नेपाल लघुवित्तको आईपीओ भाग्यमानी ८ जनाले ११ कित्ता पाउने, १० कित्ता कतिले पाउँछन् ?



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन ७० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिनसम्म लघुवित्तको आईपीओमा २२ लाख ८४ हजार ८४९ जना आवेदकले २ करोड ५७ लाख ६१ हजार ९ सय कित्ता शेयरका लागि २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

लघुवित्तले बैशाख २ गते शुक्रबारदेखि बैशाख ६ गते मंगलबारसम्म चुक्ता पूँजीको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ३६ हजार ९४८ जना आवेदकले मात्रै पाउने छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ८ कित्ता थप गरेर ८ जना आवेदकलाई ११ कित्ताका दरले दिईने छ । लघुवित्तको आईपीओमा आवेदन दिएका लगानीकर्ता मध्ये झण्डै २२ लाख बढी आवेदकको हात रित्तो हुने देखिन्छ ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको हालको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपश्चात् लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्