सिवाईसी नेपाल लघुवित्तको प्रिअलमेन्ट आज हुदै, बाँडफाँट कहिले ? « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

सिवाईसी नेपाल लघुवित्तको प्रिअलमेन्ट आज हुदै, बाँडफाँट कहिले ?



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ प्रिअलमेन्ट आज (बैशाख १२ गते) हुदैछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार आज साँझ ४ बजे प्रिअलमेन्ट गर्ने तयारी रहेको छ ।

आज प्रिअलमेन्ट सम्पन्न भएसँगै यो साता भित्र आईपीओ बाँडफाँट हुनेछ । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ३६ हजार ९४८ जना आवेदकले मात्रै पाउने छन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकी रहन्छन् । बाँकी रहेका ८ कित्ता थप गरेर ८ जना आवेदकलाई ११ कित्ताका दरले दिईने छ । लघुवित्तको आईपीओमा आवेदन दिएका लगानीकर्ता मध्ये झण्डै २२ लाख बढी आवेदकको हात रित्तो हुने देखिन्छ ।

लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म ७० गुणा बढी आवेदन दिएका थिए । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा २२ लाख ८४ हजार ८४९ जना आवेदकले २ करोड ५७ लाख ६१ हजार ९ सय कित्ता शेयरका लागि २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

लघुवित्तले बैशाख २ गते शुक्रबारदेखि बैशाख ६ गते मंगलबारसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका गरी ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्