६ वर्षे यात्रामा महिला लघुवित्त: ग्राहक सन्तुष्ट, सेयरधनी सधैँ मख्ख, कर्मचारीलाई कहिल्यै निराश बनाएन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले पाँच वर्ष पुरा गरेको छ । कम्पनीले कात्तिक १ गतेदेखि छैटौँ वर्षमा प्रवेश गरेको हो ।
वि.स. २०७५ साल असोज मसान्तदेखि औपचारिक रूपमा सेवा सञ्चालन गरेको कम्पनीले आफ्नो व्यावसायिक कारोबार थालनी गरेको थियो । देशका विभिन्न १७ जिल्लाका ३३ शाखा कार्यालय मार्फत २५ हजार ५२४ परिवारमा वित्तीय सेवा सञ्चालन गरिरहेको थियो ।
केन्द्रीय कार्यालय बनेपा–१३ साँगा काभ्रेमा रहेको छ यस कम्पनीले नेपालको ग्रामीण तथा सहरी क्षेत्रका विपन्न एवं लक्षित वर्ग तथा समुदायका व्यक्तिहरूको दिगो तथा भरपर्दो लघुवित्त सेवा प्रदान गरेको छ । सामाजिक परिचालन तथा गरिबी न्यूनीकरणमा कम्पनीले ठुलो भूमिका खेलेको छ । लघु वित्तीय सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाई गरिबी न्यूनीकरण गरी समग्र राष्ट्रिय आर्थिक विकासमा टेवा पुर्याउन ठुलो योगदान छ ।
माछापुच्छ्रे बैङ्क र लामो समयदेखि लघुवित्त क्षेत्रको अनुभव हासिल गरेका व्यक्तिहरूको संयुक्त लगानीमा महिला लघुवित्त सञ्चालनमा छ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड ७५ लाख रुपैयाँ बढी छ । धितो पत्र दोस्रो बजारमा पनि कम्पनीको निकै चर्चित छ । कुनै बेला कम्पनीले एक हजार लगानी गर्ने लगानीकर्ताले ५८ हजार रुपैयाँसम्म कमाएका थिए । सेयरधनीहरुलाई पनि बर्सेनि राम्रै प्रतिफल दिएको छ । कम्पनीका ग्राहक पनि सन्तुष्ट छन् भने कर्मचारीलाई पनि कहिल्यै दुखी बनाएको छैन ।
सफलतापूर्वक ५ वर्ष पार गरेकोमा कम्पनीले आफ्ना सम्पूर्ण ग्राहक, सेवाग्राही, सेयधनी, नियमनकारी निकाय, कर्मचारी लगायत सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेको छ । संस्थाले विपन्न वर्गका व्यक्तिहरूलाई सहज र सरल रूपमा दीर्घकालीन सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णा प्रसाद न्यौपानेले बताए । उनले भने,–‘विपन्न वर्ग प्रति संस्था सदैव प्रतिबद्ध छ । सरल, सहज, प्रभावकारी, दिगो र भरपर्दो लघु वित्तीय सेवा हामीले निरन्तर प्रदान गर्नेछौँ ।’
उनका अनुसार संस्थामा आबद्ध सदस्यहरूको हितार्थ ग्राहक संरक्षण तथा सामाजिक उत्तरदायित्व सम्बन्धी विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ । विभिन्न उत्पादन, आयमूलक, आय–आर्जन, स्वरोजगार र लघु उद्यमशील क्रियाकलापमा उनीहरूलाई सरिक गराई विपन्न, सीमान्तकृत र पिछडिएका वर्गको आर्थिक तथा सामाजिक जीवनस्तर लगायत समग्र पक्षको स्तरीकरण अभिवृद्धिमा उल्लेखनीय योगदान गरेको सिइओ न्यौपानेले बताए ।
महिला लघुवित्त सातै वटा प्रदेशमा आफ्नो शाखा विस्तार गरि सेवा प्रदान गरिरहेको छ । वित्तीय श्रोतमा आत्मनिर्भरता बढाउन सदस्यहरूको बचत वृद्धि गर्ने नीतिलाई निरन्तरता दिइएको न्यौपानेले बताए । नवीनतम प्रविधिहरूको प्रयोग गरी छिटो छरितो र विश्वसनीय एवं दिगो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा अग्रसर हुँदै आन्तरिक तथा बाह्य श्रोतहरूको परिचालन तथा सहकार्यमा संस्थासँग आबद्ध सदस्यहरूको जीवनस्तर उकास्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको उनले बताए ।
विशेषगरि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, धादिङ, नुवाकोट, लमजुङ, तनहुँ, गोरखा, कास्की, नवलपुर, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर जिल्लाहरूमा लघुवित्त कार्यक्रम सञ्चालनमा आइरहेको छ ।
संस्थाले कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघु उद्यम जस्ता व्यवसायहरू सञ्चालनको लागि लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरूमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिबद्ध रहेको छ । कर्मचारीहरूको संस्था प्रति अपनत्व अभिवृद्धि गर्न वृत्ति विकासका विभिन्न कार्यहरूलाई समेत निरन्तरता दिइएको छ ।