विजय लघुवित्तले गर्यो भूकम्प पीडितलाई आर्थिक सहयोग « Arthapath.com
१५ मंसिर २०८०, शुक्रबार

विजय लघुवित्तले गर्यो भूकम्प पीडितलाई आर्थिक सहयोग



काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित भएका आफ्ना ग्राहक सदस्यहरुलाई सहयोग गरेको छ । संस्थाले सञ्चालक समितिदेखि कर्मचारीहरुसम्मबाट सहयोग संकलन गरेर पीडित सदस्यहरुलाई नगर्दै सहयोग गरेको हो ।

सहयोग रकम हस्तान्तरणका लागि संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्साल पीडितको घरसम्मै पुगेका थिए । प्रमुख कार्यकारी अधिकृत लम्सालका अनुसार जाजरकोटको खलंगा, रिम्ना, भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिकाको रामीडाँडा र सिर्पाचौरका साथै रुकुम पश्चिम जिल्लाको आठविसाकोट गाउँपलिकासम्म पुगेर राहत वितरण गरिएको छ ।

भूकम्पपीडितको सहयोगका लागि सञ्चालक समितिले एक दिनको बैठक भत्ता र कर्मचारीहरुले एक दिनको तलब गरी करिब ६ लाख रुपैया योगदान गरेका थिए । सञ्चालक समिति र कर्मचारीहरुबाट संकलित रकमममा नपुगेको रकम संस्थाले हालेर करिब १५ लाख रुपैयाँ सहयोग गरिएको सीईओ लम्सालले जानकारी दिए । उनका अनुसार पीडितलाई वर्गीकरण गरी परिवारका सदस्य निधन भएको सदस्यलाई २० हजार रुपैयाँसम्मका दरले वितरण गरिएको छ ।

साविकको विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर गत ३१ असारमा विजय लघुवित्त वित्तीय संस्था बनेको थियो । विजय लघुवित्तका देशभर १४७ शाखा सञ्जाल छन् भने करिब १,४३,००० ग्राहक सदस्यहरु रहेका छन् । जाजरकोटमा मात्रै खलंगा र बारेकोट गरी २ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्