हालसम्म डेढ दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कसले कति कमाए नाफा ?

काठमाडौं । संचालनमा रहेका मध्ये डेढ दर्जन लघुवित्त कम्पनीहरुले मात्रै चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छन् ।
हालसम्म १७ वटा कम्पनीले त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार ९ वटा कम्पनीको नाफामा सुधार भएको देखिन्छ । समिक्षा अवधिमा ५ वटा लघुवित्तको नाफा घटेको छ भने चार कम्पनी नोक्सानीमा देखिएका छन् ।
१७ वटामध्ये सर्वाधिक नाफा ग्रामिण विकास लघुवित्तले कमाएको छ । तीन महिनामा कम्पनीले ८ करोड ७९ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीको नाफा ३०.६३ प्रतिशत वृद्धि भएको छ । यस्तै, डिप्रोक्स लघुवित्तले पनि ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ ।
चालु आवको पहिलो त्रैमासमा सर्वाधिक नाफा वृद्धि गर्नेमा हिमालयन, गुराँस र आरम्भ चौतारी देखिएका छन् । समिक्षा अवधिमा कम्पनीहरुको नाफा क्रमशः ११४३ प्रतिशत, ९८९ प्रतिशत र ७४५.७३ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा यी कम्पनीहरुले क्रमशः १ करोड ३४ लाख ९९ हजार, १ करोड १ लाख ६२ हजार र ३ करोड ७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।
यता, गत आवको पहिलो त्रैमासमा नोक्सानी व्यहोरेका एनएमबि र उपकार लघुवित्तको पनि उल्लेख्य सुधार देखिन्छ । चालु आवको यी कम्पनीहरु क्रमशः ७१ लाख ५४ हजार र २७ लाख ७९ हजार रुपैयाँ नाफा देखिएका हुन् । तर, गत आवको सो अवधिमा भने एनएमबि लघुवित्त ४ करोड ७३ लाख र उपकार ३ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा थिए ।
समिक्षा अवधिमा ग्लोबल आइएमई लघुवित्तले ४ करोड ४ लाख ७७ हजार, फर्स्ट माइक्रोफाइनान्सले ३ करोड १० लाख, आरएसडिसीले २करोड ६० लाख, मिथिलाले १ करोड १ लाख, युनिक नेपालले ७९ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
तर, नाडेप लघुवित्त ४ करोड ९७ लाख, मानुषी ५६ लाख, आत्मनिर्भर ४३ लाख, समाज लघुवित्त ४२ लाख रुपैयाँ नोक्सानीमा छन् ।