अब लघुवित्तहरूले सेयर, डिबेञ्चर र म्युचुअल फण्डमा लगानी गर्न पाउने « Arthapath.com
२४ पुष २०८१, बुधबार

अब लघुवित्तहरूले सेयर, डिबेञ्चर र म्युचुअल फण्डमा लगानी गर्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई कडाइ गर्दै एकीकृत निर्देशन, २०७९ संशोधन गरेको छ । मंगलबार जारी गरेको सर्कुलरमा राष्ट्र बैंकले अब लघुवित्तहरुलाई सेयर, डिबेञ्चर र सामूहिक लगानी कोष (म्युचुअल)मा लगानी गर्न अनुमति दिने व्यवस्था गरेको छ । तर उनीहरुले त्यस्तो लगानीलाई प्राथमिक पुँजीकोषमा गणना गर्न भने पाउने छैनन्।

‘लघुवित्त वित्तीय संस्थाहरुले संगठित संस्थाको शेयर, डिवेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाइने छैन । तर, नेपाल राष्ट्र बैंकको काम कारबाही वा दायित्व पूरा गर्न सहयोग पुग्ने उद्देश्यले राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेशनल बैंकिङ्ग इन्सटिच्युट, नेपाल क्लियरिङ्ग हाउस लि., कर्जा सूचना केन्द्र लि. लगायतका संस्थाहरुमा र नेपाल फिनसफ्ट कम्पनी लि. मा लगानी गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन’ जारी सर्कुलरमा भनिएको छ ।

अबदेखि सबै लघुवित्त वित्तीय संस्थाहरुले वित्तीय विवरण तयार गर्दा एनएफआरएस अनुसार गर्नुपर्ने व्यवस्था गरेको हो । अहिलेसम्म भने राष्ट्रियस्तरका लघुवित्तलाई मात्र एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्नुपर्ने अनिवार्यता थियो । तर अब सबै किसिमका लघुवित्त कम्पनीहरुले अनिवार्यरुपमा एनएफआरएस विधि अनुसार वित्तीय विवरण तयार पार्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

साथै, नेपाल वित्तीय प्रतिवेदनमानले समावेश नगरेका क्षेत्रहरुमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान (आइएफआरएस) लाई आधारको रुपमा लिनुपर्ने व्यवस्था गरेको छ । ५ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनी र उनका एकाघरका परिवारले संस्थाको कार्यकारी प्रमुख पदको नियुक्त नपाउने व्यवस्था गरिएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।

त्यस्तै थोक कर्जा प्रदायक लघुवित्त र खुद्रा कारोबार गर्ने लघुवित्तबीच एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्तले खुद्रा कारोबार गर्ने लघुवित्तको रुपमा काम गर्न पाउने व्यवस्था गरेको छ । साथै राष्ट्र बैंकले लघुवित्तहरुलाई नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्न निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्