फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाले ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी ३७.९४ प्रतिशतले घटेर १५ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । यता, सञ्चालन नाफा पनि ४५.९४ प्रतिशतले घटेर १० करोड १५ लाख रुपैयाँमा सीमित भएको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा प्रभावित बनेको हो। नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ८ पैसा घटेर ७ रुपैयाँमा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०८.६७ गुणा रहेको छ। यसको एनपीएल ०.६७ प्रतिशत रहेको छ ।
तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८ पैसा रहेको छ। १ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड ९२ लाख रुपैयाँ सञ्चित छ।