शोधनन्तर स्थिति पौने २ खर्ब बचतमा, चालु खाता १ खर्ब ११ अर्ब बचतमा

काठमाडौं । तीन महिनामा शोधनन्तर स्थिति पौने २ खर्ब बचतमा छ ।
राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्मको देशको वर्तमान स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ बचतमा छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा छ ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ४ अर्ब ८१ करोड रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ३ अर्ब ३८ करोड रहेको थियो ।