अधिक तरलताको चाप कायमै, आजै फेरि थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । आइतबार बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।
राष्ट्र बैंकले आजै अर्थात् जेठ ११ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।
बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी असार १ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।