ग्रे लिष्ट हटाउनेदेखि ग्रामीण कर्जा विस्तारसम्म, बैंकिङ सुधार कार्यदलले माग्यो ६ शीर्षकमा सुझावहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारका लागि गठन गरिएको सुझाव कार्यदललाई आवश्यक सुझाव उपलब्ध गराउन इच्छुक संस्था, विज्ञ तथा सरोकारवाला संस्थाहरुलाई आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै केन्द्रिय बैंकले आफ्नो अनुभव र विशेषज्ञताको आधारमा २०८२ साल असार ११ गतेभित्र सुझाव दिन अनुरोध गरेको छ ।
केन्द्रिय बैंकले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलले बैंकिङ क्षेत्रको समग्र सुधारका लागि विभिन्न महत्वपूर्ण विषयहरूमा सुझाव संकलन गरिरहेको छ । कार्यदलले विभिन्न ६ वटा शीर्षकमा सुझाव माग गरेको छ ।
बैंकिङ नीति तथा नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण प्रणाली बनाउने र ग्राहकमैत्री बैंकिङ सेवा प्रवद्र्धन गर्ने उपायहरू, आर्थिक गतिविधि पुनः तीव्र बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रतर्फ कर्जा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक रणनीतिहरू लगायतका विषयमा सुझाव माग गरेको हो ।
यस्तै, बैंक तथा वित्तीय संस्था गाभ्ने, प्राप्ति गर्ने तथा त्यसपछिका समस्या समाधान सम्बन्धी उपायहरू, नेपाललाई अन्तर्राष्ट्रिय ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले लिनुपर्ने कदमहरू, पुँजी बजारको विकासमा नेपाल राष्ट्र बैंकले समन्वयात्मक भूमिका कसरी खेल्न सकिन्छ भन्ने सम्बन्धमा सुझाव दिन आग्रह गरेको छ।
राष्ट्र बैंकले सुझाव कार्यदलको आधिकारिक इमेल ठेगानामा सुझाव पठाउन सकिने जनाएको छ । समयमै सुझाव उपलब्ध गराई सुधार प्रक्रियामा योगदान पु¥याउन राष्ट्र बैंकले सबै सरोकारवालालाई आह्वान गरेको छ ।