अब बजारले नै बैंकहरूलाई मर्जरमा जाने बाध्यता सिर्जना गर्दै छः ज्ञानेन्द्र ढुंगाना « Arthapath.com
२२ जेष्ठ २०७८, शनिबार

अब बजारले नै बैंकहरूलाई मर्जरमा जाने बाध्यता सिर्जना गर्दै छः ज्ञानेन्द्र ढुंगाना



नेपाल बंगलादेश बैंकले २३ जेठमा आफ्नो स्थापनाको २७ औं वार्षिकोत्सव मनाउँदै छ । संयोग नै मान्नुपर्छ, अहिले नेपालमा भएका २७ बाणिज्य बैंकमध्ये यो बैंक २७ औं नम्बरमै पर्छ । पुरानो विराशत भए पनि पछिल्लो समय प्रतिस्पर्धात्मक बजारबाट ओझेल पर्दै गएको यो संस्था मुलुककै ठूला बैंकमध्येको एक नबील बैंकले खरीद गर्न लागेका हल्ला चलेको छ । तर यसबारे कुनै औपचारिक प्रस्तावले सञ्चालक समितिमा प्रवेश पाइनसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना बताउँछन् । उनीसँग सबैभन्दा सानो बाणिज्य बैंकको व्यवसायिक रणनीति र पछिल्लो महामारीको असरबारे अर्थपथका लागि विष्णु तारुकेले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

सबैजसो ठूला बैंकहरू मर्जरमा गइसके । सबैभन्दा सानो ‘व्यालेन्स सीट’ भएको एनबी बैंक कतिञ्जेल यही अवस्थामा टिक्छ ?

सबै बैंकको आफ्नो आफ्नो रणनीति हुन्छ । हामी ४१ प्रतिशत ज्वाइण्ट भेण्चर पार्टनर भएको बैंक हौं । वैदेशिक संस्थागत लगानीकर्ताको आफ्नो उद्देश्य पनि हुन्छ । नेपाल राष्ट्र बैंकले भविष्यमा बाध्यात्मक मर्जरको व्यवस्था ल्यायो भने हामी त्यसका लागि पनि खुला र तयार छौं । तर अहिले यो महामारीको अवस्थामा तत्कालै मर्जर गरेर गइहाल्ने भन्ने निश्चयमा हामीहरू अहिलेसम्म पुगिसकेका छौंनौं । यसबारे हाम्रो रणनीति बनिसकेको पनि छैन ।

तर महामारीपछि हामीलाई सानो आकारमा अघि बढ्नै अझै गाह्रो हुने देखिन्छ । सञ्चालन खर्च र आधार दर बढी भयो भने बजारमा प्रतिस्पर्धामा टिकिरहन मर्जर गर्नुको विकल्प देखिँदैन । यो सबै परिस्थितिलाई मध्येनजर गरेर भविष्यमा सञ्चालक समितिले आवस्यक निणर्य लिन सक्छ ।

भनेको, एनबी बैंक अझै पनि एक्लै चल्न सक्छ ?

चल्न नसक्ने भन्ने त छैन । प्रतिस्पर्धामा आफूले बजारमा अरुभन्दा उत्कृष्ट प्रडक्ट लिएर आउने हो । नयाँ ढंगले काम गर्ने हो । चल्नै नसक्ने भन्ने होइन । तर मर्जर गरेर जाँदा केही न केही लाभ हुन्छ । सञ्चालन खर्च कम हुन्छ । जसले गर्दा भोलि कर्जाको ब्याजदर क मगर्न सकिन्छ र बजारमा थप प्रतिस्पर्धा गर्न सकिन्छ भने मर्जरमा जाँदा पनि उपयुक्त हुन्छ ।

अहिले धेरैजसो बैंकले आक्रामक व्यवसाय विस्तारमा प्रतिस्पर्धा गरिरहेका छन् । तर एनबी बैंक त्यो प्रतिस्पर्धामा सामेल नै भएको छैन । यो सुस्तताको कारण के हो ?

आक्रामक हुने वा नहुने भन्ने बैंकको आ-आफ्नो रणनीति हो । यो महामारीको अवस्थामा बजारमा लगानीको वातावरण नै व्यवस्थित भइसकेको छैन । लगानीका लागि स्तरीय माग पनि बढेको छैन । यस्तो बेलामा आक्रामक विस्तारमा जानु जोखिम हुन्छ भन्ने हाम्रो बुझाइ हो । यही कारण हामी प्राकृतिक बृद्धिमा नै बस्ने भन्ने हाम्रो रणनीतिक निणर्य नै हो ।

तपाइँको मतलव अहिले आक्रामक विस्तारमा लागेका बैंकहरू भविष्यमा समस्याग्रस्त हुनसक्छन् भन्ने हो ?

समस्या निम्तिन्छ नै भन्ने होइन । तर बजारमा स्तरीय माग नभएको बेलामा आक्रामक विस्तार गर्न खोज्दा त्यसले समस्याहरू आउन सक्छन् भन्न खोजेको हो । अहिले नयाँ क्षेत्रका लगानी विस्तार भन्दा पनि एउटा बैंकको व्यवसायलाई अर्को बैंकले सार्ने प्रबृत्ती बनेको छ । अर्काको बैंकको व्यवसाय खोसेर आक्रामक विस्तारमा देखिनु भनेको सबै हिसाबले अब्बल हुन्छ भन्ने होइन । किनकी, त्यसरी बैंक सर्ने ऋणी भनेको मध्येम खालका ऋणीमात्र हो । त्यस्ता ऋणीलाई बढी लगानी गर्दा अधिक लगानी (ओभर फाइनान्सिङ)का समस्याहरू ल्याउन सक्छ । कर्जा भुक्तानीमा समस्या आउन सक्छ । अरु किसिमका समस्या पनि आउन सक्छ । त्यसकारण हामी अहिले ‘पर्ख र हेर’को स्थितिमै छौं ।

मर्जरमा जानका लागि तपाइँहरूको वैदेशिक लगानी साझेदारले सहमति नदिएको र उनीहरू सेयर बेचेर बाहिरिन चाहेको पनि चर्चा छ । यसमा कत्तिको सत्यता छ ?

बजारमा धेरै किसिमका हल्ला चल्छन् । तर ज्वाइण्ट भेञ्चर पार्टनरले आफ्नो सेयर बेच्छ की, भोलि मर्जरमा जान्छ की वा यही बैंकलाई अघि बढाउँछ भनेर कुनै पनि विकल्पमा अहिलेसम्म हाम्रो सञ्चालक समितिमा छलफल भएको छैन । उहाँहरूको मनमा के चल्दैछ भनेर मैले आफ्नो अनुमान गर्नसक्ने अवस्था रहेन ।

बंगलादेशी लगानीकर्ता फिर्ता हुने कुरा चर्चा मात्रै हो त ?

कुनै पनि लगानीकर्ताले उपयुक्त समयमा आफ्नो लगानी फिर्ता गर्न पाउनु उहाँहरूको नैसर्गिक अधिकार हो । अहिले महामारीका कारण यो निणर्य उतैबाट भयो भने मलाई थाहा भएन । बैंकको सञ्चालक समितिमा चाहीँ यस विषयमा हालसम्म औपचारिक छलफल भएको छैन ।

तपाइँले एनबी बैंकको नेतृत्व गर्नुभएको पनि एक दशक हुन लागिसक्यो । यसबीचमा तपाइँले बैंकको व्यवसायिक विस्तार गर्न नचाहनु भएको हो की गर्न नसकेको हो ?

म एनबी बैंक आएको ९ वर्ष भयो । म यो बैंकमा आउँदाको अवस्था पनि तपाइँहरूलाई थाहै छ । र आजको अवस्था पनि थाहा छ । म आउँदा लगभग ९-१० अर्बको बैंक थियो । आज ८०-९० अर्बको बैंक भएको छ भनेपछि व्यवसायिक विस्तार नभएको होइन । यसबीचमा बैंकको आकार झण्डै १० गुण बढेको छ । तर विगत १-२ वर्षमा चाहीँ पहिलेको जस्तो आक्रामक विस्तार कम भएकै हो । एक वर्षदेखि हामी महामारीको चपेटामा छौं । यस बेलामा हामीले रणनीतिक रुपमै प्राकृतिक विस्तारमा बस्ने भन्ने निणर्य भएको हो ।

अर्को कुरा बैंकको नन-फण्डेड विजिनेस पनि हेर्नुपर्ने हुन्छ । वित्तीय विवरणमा त्यो हिसाब देखिँदैन । त्यसैले सञ्चारमाध्यमका साथिहरूले देख्न सक्नुहुन्न । लगभग ८० अर्ब रुपैयाँ बराबरको हाम्रो नन-फण्डेड कारोबार पनि छ । त्यसलाई समेत जोडेर हेर्ने हो भने अहिले पनि बैंकको व्यवसायिक विस्तार सन्तोषजनक नै देखिन्छ ।

पछिल्लो समय नबील र एनबी बैंकको मर्जर हुने चर्चा केही समययता चलिरहेको छ । यसमा सहमति जुटिसकेको हो ?

मैले पनि सुनेको चाहीँ त्यही हो । हामीले पनि सञ्चारमाध्यमबाटै सुन्ने हो । आधिकारिक रुपमा सञ्चालक समितिमा यो विषय प्रवेश भएको छैन । त्यसभन्दा बाहिर कहाँ कसरी कुरा भएको छ वा छैन भन्ने मेरो जानकारीमा छैन ।

अहिले बैंकहरूको ब्याजदर घटे पनि कर्जाको तानातान गर्ने परिपाटी चाहीँ रोकिएको छैन । यस्तो किन भएको हो ?

अहिलेको महामारीको अवस्थामा नयाँ कर्जामा माग खासै बढ्न सकेको छैन । नयाँ ऋणको माग नभएको बेला कारोबार बढाउन चाहने बैंकले अर्को बैंकको ऋण तान्ने नै हो । अहिले त्यसका लागि उपयुक्त समय पनि छ । किनभने अहिले सबै बैंकको आधारदर घटेको छ । यस्तो बेला पुरानो बैंकमा बढी ब्याज तिरिरहेका ऋ णीलाई कम ब्याजमै अर्को बैंकले लगानी गरिदिनसक्ने परिस्थिति बन्छ । यसरी नै एउटा बैंकबाट अर्को बैंकमा सर्ने परिस्थिति बढेको देखिएको छ ।

नबील, हिमालयन, नेपाल इन्भेष्टमेण्टजस्ता ठूला बैंकहरू मर्जरमा गइरहेको सन्दर्भमा एनबीजस्ता साना बैंकमाथि दबाब सिर्जना भएको होल नि ?

नेपाल बंगलादेश बैंकलाई मात्रै होइन, नेपालका सबै बैंकलाई यो घटनाले दबाब सिर्जना भएको जस्तो लाग्छ । इन्भेस्टमेण्ट र हिमालयनजस्ता पुराना र ठूला बैंक मर्ज हुँदा त्यो संस्था धेरै ठूलो आकारमा पुग्छ । नबीलले पनि ३६ वर्षको इतिहासमा पहिलो पटक मर्जर र एक्वीजिशनको नीति लिएको छ । यसले पक्कै पनि सबै बैंकलाई दबाब परेको छ । ठूला बैंक हुने वित्तिकै सञ्चालन खर्च घटेर आधार दर कम हुँदै जान्छ ।

साना बैंकहरूको अधिक सञ्चालन खर्चका करण आधारदर नै महँगो पर्छ । यसले सानाभन्दा ठूला बैंकमा सस्तोमा ऋण पाएपछि राम्रा परियोजना र असल ग्राहकहरू ठूला बैंकतर्फ आकर्षित हुन्छन् । त्यसपछि अन्य बैंकहरूलाई पनि मर्जरमा जानुपर्ने बाध्यात्मक अवस्था बजारले नै तयार पारिदिन्छ । राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था गर्नुपर्ने आवस्यकता नै पर्दैन ।

कोरोनाका कारण राष्ट्र बैंकले मर्जरमा जान दबाब नदिएकाले धेरै बैंकहरू ‘पर्ख र हेर’को अवस्थामा बसेका हुन् ?

त्यही नै कारण हो भन्न त सकिएन । तर नेपाल राष्ट्र बैंकले बाध्यात्मक मर्जरको प्रावधान अघि सार्नसक्छ भन्ने आँकलन यसअघि गरिएको थियो । बीचमा कोरोना महामारी आएपछि राष्ट्र बैंक पनि ‘पर्ख र हेर’ कै नीतिमा गएको हुनसक्छ । त्यस करणले पनि केही बैंकले अलि बढी समय लिएको हुनसक्ला । यो मेरो अनुमान मात्र हो । तर कालान्तरमा धेरै ठूला बैंकहरू आइसकेपछि साना बैंकको व्यवसायिक आकार नै तुलनायोग्य रहँदैन । त्यस्तो बेला बजारले नै साना संस्थालाई मर्जरमा जानुपर्ने बाध्यता तयार गरिदिने छ ।

अहिले देखिएको परिदृष्यले सार्थकता पायो भने नेपालमा कति वटा जति बाणिज्य बैंकको अस्तित्व बाँकी रहलान् ?

यस्तो कुनै अनुमान गर्न सकिने कुरा होइन । यही हिसाबले अझै ८-१० बैंक घटे भने १५ देखि २० वटामात्रै बैंक रहन पनि सक्छन् । त्यसो भयो भने कुनै आश्चर्य मान्नु पर्छजस्तो लाग्दैन ।

कोरोना महामारीका कारण बैंकहरूको खराब कर्जा कति प्रतिशतसम्म बढ्ने देख्नु भएको छ ?

कोरोनाका कारण ठ्याक्कै यति प्रतिशत बढ्छ भनेर भन्न त सकिँदैन । महामारीको पहिलो धक्कामा हामीले खराब कर्जाको अनुपात धेरै बढ्ला की भन्ने आँकलन गरिएको थियो । तर अर्थतन्त्रले निकै छिटो पुनरुत्थानको बाटो समात्यो । जसले गर्दा हामीले पुर्वानुमान गरेजस्तो धेरै ठूलो असर पर्ने देखिएन । तर अर्थतन्त्र पुनरुत्थान भइनसक्दै महामारीको दोस्रो लहर आएको छ । यी दुबै घटनाको एकीकृत असर कति गहिरो पर्छ भन्ने अनुमान गर्न कठनि छ ।

तर पक्कै पनि यति लामो समय व्यापार व्यवसाय ठप्प भएको छ । कतिपय व्यापार व्यवसायको स्वरुप नै परिवर्तन भएको छ । बजारको बदलिँदो परिवेशमा भोलि केही व्यापार व्यवसायहरू लुप्त हुँदै जाने जोखिम पनि छँदै छ । निर्माणाधिन परियोजनाहरूलाई कर्जा भुक्तानीमा सुविधा दिइएको छ । तर निर्माण सकिएर पनि व्यवसाय शुरु गर्न नपाएका कतिपय परियोजना छन् । उनीहरूको कर्जाको गुणस्तर खस्कन सक्छ । जस कारण केही न केही मात्रामा हाम्रो कर्जाको गुणस्तरलाई यो महामारीले असर गर्छ ।

अहिलेको अवस्थामा हामीले कानूनी, व्यवहारिक वा मानवीय रुपमा पनि कर्जा अशुलि गर्न सक्ने अवस्था छैन । राष्ट्र बैंकले निषेधाज्ञा खुलेको एक महिनासम्म ऋण अशुलिको प्रक्रिया शुरु गर्नै नपाइने व्यवस्था गरेको छ । प्रक्रियामा जाँदा पनि कर्जा उठिहाल्छ भन्ने हुँदैन । व्यवसाय चलिरहेको छैन । त्यसले गर्दा केही कर्जाको गुणस्तरमा कमी आउने आँकलन गरेका छौं । तर यति नै भन्ने ‘बेञ्चमार्क’ चाहीँ छैन ।

असार मसान्त नजिकिँदै छ । तर देशब्यापि निषेभाज्ञा कायमै छ । महामारीको असर अपेक्षाकृत रुपमा घटेको छैन । यस्तो बेला बैंकको ब्याज उठ्ने संभावना कत्तिको छ ?

कोरोनाका बेलामा ठप्पै भएका व्यवसायको कुरा एउटा होला । यसबीचमा पनि आंशिक वा पूणर् रुपमा सञ्चालि व्यवसाय पनि छन् । त्यसले गर्दा सबैले ब्याज तिर्न नसक्ने भन्ने होइन । जसजसले ऋण तिर्नसक्ने अवस्था छ, उहाँहरूले तिर्नुहुन्छ । मेरो विचारमा जेठ मसान्तपछि निषेधाज्ञाको अवस्था पनि कायम नरहला । असारमा खुला भयो भने त्यो एक महनिमा जेजस्तो कारोबार हुन्छ, त्यसबाट पनि बैंकको ब्याज उठ्छ भन्ने लागेको छ । तर सामान्य अवस्थामा जसरी कर्जा उठ्न सक्थ्यो, त्यही अवस्थामा फर्किने संभावना त ज्यादै कम छ ।

एनबी बैंकले लगानीकर्तालाई दिने प्रतिफललाई महामारीले कति असर गर्छ ?

महामारीको दोस्रो लहर शुरु नभएको भए हामीले गत आर्थिक वर्षभन्दा राम्रो प्रगति गरेका थियौं । त्यस आधारमा यो वर्षको नाफाबाट दिइने प्रतिफल पहिलेभन्दा बढ्छ भन्ने नै मेरो आशा थियो । तर वैशाख र जेठमा पुनः निषेधाज्ञा भएकाले त्यस लक्ष्य भेट्टाउन कठीन पर्ने देखिएको छ । अब असारमा के कति सावाँ-ब्याज उठ्छ भन्ने कुराले प्रतिफललाई असर गर्छ । हाम्रो प्रयत्न पोहोरभन्दा कम नगर्ने भन्नेमा नै रहन्छ । तर प्रतिफल बढ्छ कि भट्छ भनेर चाहीँ असारको रिकभरी नहेरी भन्न सक्ने अवस्था छैन ।

अब कर्जाको माग र ब्याजदर कहिलेबाट बढ्ला भन्ने अनुमान गर्नुभएको छ ?

ब्याजदर त बजारमा भएको तरलताले निर्धारण गर्ने हो । अहिले बजारमा तरलताको समस्या छैन । विगत एक-डेढ महिनादेखि हामीले लगानी गर्न सकिरहेका छैनौं । लगानी गर्ने वातापरण पनि छैन । मालपोत, नापीजस्ता सरकारी कार्यालयहरू खुलेका छैनन् । उद्योग र व्यापार व्यवसायहरू चलेका छैनन् । यस्तो बेलामा लगानी गर्ने भन्ने सम्भव पनि हुन्न ।

अब आर्थिक वर्षको अन्त्य पनि नजिकिँदै छ । यसले गर्दा अन्तिम समयमा लगानी बढ्ने संभावना हुँदैन । यस कारण आगामी आर्थिक वर्षदेखि चाहीँ लगानीको वातावरणमा सुधार हुनसक्छ । बैंकमा अहिले भएको तरलतालाई आँकलन गर्दा आगामी आर्थिक वर्षको पहिलो त्रैमाससम्मलाई खासै समस्या पर्ने देखिँदैन ।

अब बजारमा एनबी बैंकको रणनीति के हो त ?

हामी यही बजारमा २७ औं बैंकको रुपमा अघि बढिरहेका छौं । विगतका हाम्रा तमाम समस्यालाई समाधान गरेर बलियो अवस्थामा उभिएका छौं । यदी सबै किसिमले उपयुक्त हुने साझेदार पाइयो भने मर्जर वा एक्वीजिशनमा पनि जान सक्छौं । होइन भने हामी एक्लै पनि अघि बढ्न सक्छौं । दुबै विकल्प हाम्रा लागि खुल्ला छन् ।


प्रतिक्रिया दिनुहोस्