हिमालयन बैंकमा रहेको हबिवको सेयर बेच्न नेपाली लगानीकर्ताको खोजी, सञ्चय कोष र मनोजबहादुरसँग छलफल « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

हिमालयन बैंकमा रहेको हबिवको सेयर बेच्न नेपाली लगानीकर्ताको खोजी, सञ्चय कोष र मनोजबहादुरसँग छलफल



काठमाडौं । हिमालयन बैंकको रणनितीक साझेदार पाकिस्तानको हाबिव बैंकको सेयर बेच्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको संस्थापक सेयर बेच्न नेपाली लगानीकर्ताहरुसँग छलफल थालेको छ । हिमालयनमा हविवको २० प्रतिशत स्वामित्व छ ।

बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पाेरेशन (सीडीसी ग्रुप) हबिवको सेयर नकिन्ने संकेत दिएपछि हबिवले नेपाली लगानीकर्ताहरुसँग छलफल थालेको हो ।

उसले संस्थापक लगानीकर्ताहरु कर्मचारी सञ्चय कोष र मनोजबहादुर श्रेष्ठसँग छलफल गरेको छ । छलफल भए पनि किन्ने विषयमा सहमति हुन बाँकी छ । कोरोना महामारीले गर्दा छलफल मात्र भएको छ ।

हबिवले नेपाली लगानीकर्तासँग सेयर बिक्रीको विषयमा छलफल गरेको सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए । हबिवले सेयर किनिदिनका लागि सञ्चय कोषलाई अनुरोध भएको गौतमले बताए ।

विश्वव्यापी कोरोना महामारीका कारण सीडीसीले नकिन्ने संकेत गरेपछि हबिवले सञ्चय कोषसँग वार्ता थालेको हो । ‘छलफल सुरु भएको छ, निर्णयमा पुगेको छैन, कोरोना संक्रमण हटेर सामान्य अवस्था आएपछि छलफल अघि बढाउन हविवलाई सुझाएको छु’, उनले भने ।

हिमालयलाई ३ करोड डलर अर्थात् ३ अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी गर्न तयारीमा रहेका बेला सीडीसीले स्वामित्व खरिदबाट हात झिक्न लागेको छ । यद्यपि, सीडीसीले औपचारिकरुपमा पछि हटेको घोषणाभने गरिसकेको छैन । सञ्चय कोषको हिमालयनमा १५ प्रतिशत स्वामित्व छ ।

हिमालयका अध्यक्ष कोषका प्रशासक गौतम छन । भोलिका दिनमा बैंक मर्जरमा गएपछि एकजना सञ्चालक पठाउन थप संस्थापक सेयर खरिद गर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए । यद्यपि, सञ्चय कोषले एकल संस्थामा २५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ ।

त्यसैले सञ्चय कोषले हबिवको १० देखि ११ प्रतिशतसम्ममात्र संस्थापक सेयर खरिद गर्न सक्ने गौतमको भनाई छ । बाँकी ९ देखि १० प्रतिशत अरुले किन्नुपर्ने छ ।

यसअघि हबिव सीडीसीबीच प्रतिकित्ता २.५२ अमेरिकी डलर सेयर किनबेच गर्ने सम्झौता भएको थियो । यसबीचमा हिमालयनको सम्पत्ति, दायित्व मूल्याङ्कन (डीडीए) समेत भइसकेको छ ।

हबिवको स्वामित्व सीडीसीमा हस्तान्तरणपछि हिमालयन नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जमा जाने कुरा भएको थियो । सेयर स्वामित्व हस्तान्तरण नहुन्जेलसम्मका लागि मर्जर प्रक्रिया रोक्न नेपाल राष्ट्र बैंकले हिमालयनलाई स्वीकृति दिएको छ ।

हिमालयनको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ६०० रुपैयाँ छ । हिमालयनमा हविबको १ करोड ८७ लाख ४४ हजार ५६३ कित्ता सेयर पुगेको छ । हिमालयनमा हिमालयन शम्शेर राणा र खेतान ग्रुपको १२÷१२ प्रतिशत स्वामित्व छ ।

आन्तरिक समस्या आएपछि हबिवले विश्वभरि भएको आफ्नो सबै लगानी फिर्ता ल्याइरहेको छ । सोही योजना अनुसार हविब ३० वर्ष लामो सम्बन्धलाई छुटाउँदै हिमालयनबाट बाहिरिन लागेको हो ।

हिमालयनको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ५६८ रुपैयाँ छ । हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरमा जानका लागि छलफल भइरहेको छ । हबिवको स्वामित्व बिक्रीको विषयलाई लिएर मर्जर प्रक्रियाले गति लिन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्