एफएनसिसिआईको चुनाव सार्न म नै लागेको हुँ, तर कुनै षड्यन्त्र हैन « Arthapath.com
१२ आश्विन २०७७, सोमबार

एफएनसिसिआईको चुनाव सार्न म नै लागेको हुँ, तर कुनै षड्यन्त्र हैन



शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघ

नेपालको पहिलो उद्योगीको परिवारबाट आएको हु । १७ हजारलाई रोजगारी दिइरहेको छु ।

सरेको–सर्यै छ, नेपाल उद्योग वाणिज्य महासंघको चुनाव कहिले हुन्छ ?

भर्खरै हाम्रो पदाधिकारीको बैठकमा ३ वटा सुझाव प्राप्त भएको छ । त्यसैअनुसार अब मंसिर ११ र १२ गते चुनाव गर्ने सहमति भएको छ । यसका लागि पहिले गृह मन्त्रालयबाट स्वीकृति लिनुपर्छ । स्वीकृति पायौं भने निर्वाचन गराउने प्रस्ताव कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय गरिएको छ ।

निर्वाचन पछि सार्नका लागि तपाईँहरूले पनि भूमिका खेल्नुभयो भन्ने आरोप लागेको छ । त्यसो गर्नुको कारण के हो ?

मैले पक्कै पनि यस काममा भूमिका खेलेको छु । अहिले हामी सबै कोरोना भाइरसको त्रासपूर्ण समयमा छौं । यसबाट बच्न सरकारले लामो समयसम्म जनतालाई घरभित्रै बस्न निर्देशन दिएको थियो । अहिले पनि अवस्था सामान्य भएको छैन । यही जोखिमलाई ध्यान दिएर चुनाव सार्ने निर्णय भएको हो । मलाई एउटा के कुराको विश्वास छ भने, हाम्रो संस्था राज्यको नियम कानुनभन्दा माथि होइन । जब राज्यले निषेधाज्ञा वा लकडाउन गर्छ, त्यस्तो बेला चुनाव गराउनु उद्योग वाणिज्य महासंघजस्तो गरिमामय संस्थालाई शोभा हुँदैन ।

यस्तो बेला ज्यानको जोखिम लिएर निर्वाचन गराउनुपर्ने हुन्छ । सबै जिल्लाबाट जब साथीहरू यहाँ आउँछन् । ठूलो संख्यामा मानिसको भेला हुन्छ । त्यहीँबाट रोग संक्रमित भएमा एकैपटक पूरै देशभरि यो रोग जान्छ । यसको जिम्मेवारीबोध भएकाले हामीले चुनाव सारेका हौं । यसमा कुनै राजनीति गरिएको होइन । कुनै समूहलाई हराउन वा जिताउन भनेर जुन आरोप लागेको छ, त्यस्तो सबै वाहियात तर्क हुन् । यो कुरामा कुनै आधार छैन । म त अध्यक्ष हुने मान्छे, कार्यभार सम्हाल्न आतुर छु । मैले किन ढिलो गर्नुपर्ने र ? बरु हतार त मलाई हुनुपर्ने हो । मैले हतार नगरेको एउटा कारण हो– जिम्मेवारी बोध । उद्योग वाणिज्य महासंघमा हाम्रा बाऊ–बाजेले पनि रगत पसिना बगाउनु भएको छ । दाइहरूको योगदान पनि त्यस्तै छ । यो संस्थाको गरिमा कम हुने कुनै पनि काम म गर्न सक्दिनँ । चुनाव ढिला हुनुमा कसैले षड्यन्त्र गरेको होइन । योमात्र जिम्मेवारी बोधको नतिजा हो । यो देशको भावनात्मक नाता जोडेको संस्था भएकाले खेलवाड गर्नु हँुदैन भन्ने आशय मात्र हो । यो बाहेक कुनै कारण छैन ।

आखिर जोसुकै वरिष्ठ उपाध्यक्ष आए पनि अध्यक्ष तपाईँ नै हो । के फरक पर्छ ? तर तपाईँ त एउटा समूहलाई जिताउन खुलेर लाग्नुभयो नि ?

तपाइँले भन्नुभएकोमा म एकदमै सहमत छु । अहिले जब नयाँ विधान आयो, त्यसमा वरिष्ठ उपाध्यक्ष बन्ने प्रावधान ल्याउनुको कारण पनि एउटा समूहको बाहुल्यता नहोस् भन्ने नै हो । जो अध्यक्ष बन्छ त्यो सबैको अध्यक्ष होस् भन्ने विधान संशोधनको मर्म थियो । जब हाम्रा अग्रज, अभिभावकले ‘शेखर गोल्छाको हैसियत के छ ?’ भनेर खुलेआम अन्तरवार्ता दिनुहुन्छ । ‘म उसलाई ६ महिनाभित्रमा अविश्वासको प्रस्ताव ल्याएर फालिदिन्छु’ भन्नुहुन्छ । मैले कार्यभार सम्हाल्नुभन्दा पहिला नै जव यस्ता गैरजिम्मेवार टिप्पणी आउँछन्, त्यो पनि हाम्रै भिभावकबाट । मेराविरुद्ध त्यस्तो कुरा आएपछि मनमा चिन्ता हुनु जरुरी छ । फोटो झुण्ड्याउनको लागि म महासंघको नेतृत्वमा जान लागेको होइन । म निजी क्षेत्रको लागि केही गर्न सकियो भने मेरो कार्यकाल सफल हुन्छ भन्ने उद्देश्यले गइरहेको छु । तर यस्ता किसिमका अभिव्यक्ति आउँछन् र धेरै साथीहरू उनकै पछि लाग्छन् भने मैले पनि सोच्नैपर्ने हुन्छ । यही कारण मैले आफ्नो पदीय सुरक्षाका लागि बाध्यता भएर एउटा समूहमा लाग्नु परेको हो । नत्र भने यसो गर्न मेरो कुनै उद्देश्य, इच्छा थिएन । यसका लागि मलाई हाम्रा केही अभिभावकले बाध्य गराएका हुन् ।

तपाईँले समर्थन गरिरहनुभएको समूह जितेर आउन सकेन भने के गर्नुहुन्छ ?

भोलि नेतृत्वमा जोसुकै आए पनि मैले काम गर्नैपर्छ । मेरो त्यो बाध्यता छ । तर मैले दुईवटै समूहका साथीहरूलाई यसबारे आफ्ना कुरा राखिसकेको छु । आफ्ना भावी योजनासमेटेर ‘भिजन डकुमेण्ट्री’ पनि बनाएको छु ।

तपाईँले नचाहेको समूह चुनिएर आयो भने त तपाइ“लाई फाल्ने राजनीतिक खेल सुरु होला नि ?

पक्कै पनि अर्को टीम आयो भने काम गर्न असहज हुनसक्छ । मैले एउटा समूहलाई समर्थन नगरेको भए पनि ६ महिनाभित्र फालिदिन्छु भनेको छ भने मेरो लागि अध्यक्षको कार्यकाल दुबै तरिकाले सहज नहुने देखिएको छ । जस्तोसुकै परिस्थितिका लागि म तयार छु ।

लामो समयदेखि महासंघमा गुटबन्दी भएकाले यस संस्थाको साख गिर्दै गएको जस्तो लाग्छ कि लाग्दैन ?

गुटबन्दी, राजनीति यो सबै कुरा महासंघजस्ता संस्थामा हुन्छन् । जुन संस्था चलायमान छ, जहाँ सबैजना नेतृत्व लिन चाहन्छन्, त्यस्ता संस्थामा राजनीति र गुटबन्दी हुनु स्वभाविक हो । म यसलाई नकारात्मक मान्दिन । चुनाव सकिएपछि एउटै गुट हुनुपर्छ भन्ने मेरो मान्यता हो । हामी जुन उद्देश्यले महासंघमा आएका छौं, त्यो उद्देश्य पूर्तिका लागि एक ढिक्का हुनुबाहेक अरु कुनै विकल्प छैन । तर, चुनावअघि राजनीति र गुटबन्दी हुनु स्वभाविक हो । यो एउटा प्रजातान्त्रिक अभ्यास पनि हो । यसलाई नकारात्मकरुपमा लिन आवश्यक देख्दिन ।

महासंघको प्रतिस्पर्धामा चेम्बर, सीएनआईजस्ता संस्था आइरहेका छन् । उनीहरू देशव्यापीरुपमा आफ्ना सञ्जाल विस्तार गरिरहेका छन् । यो अवस्थामा महासंघको औचित्य कम भएको हो ?

यो कुरालाई म स्विकार गर्दिन । किनभने, नेपाल उद्योग वाणिज्य महासंघ करिब ५५ वर्षको इतिहास बोकेको संस्था हो । नेपालको नीति–नियम र जति पनि कानूनहरू छन्, त्यसमा महासंघले भूमिका खेलेको छ । नेपालमा निजी क्षेत्रलाई यहाँसम्म पु¥याउनमा महासंघको ठूलो देन छ । हामी व्यावसायिकजगत्को तल्लो तहसम्म संगठित छौं । ७७ जिल्ला, हरेक नगरपालिकामा हाम्रा सदस्य छन् । सबै बस्तुगत व्यवसायी हाम्रा सदस्य छन् । त्यस्तै, १ हजार एशोसिएट कर्पोरेट हाउसहरू हाम्रो सदस्य छन् । यो आकारमा अरु कुनै संगठन छैन । अरु संगठनले पनि एउटै उद्देश्यका लागि काम गरिरहेका छन् भने त्यसलाई म प्रतिस्पर्धा मान्दिन । किनकी निजी क्षेत्रको स्वार्थको लागि काम गरिरहेका छन् भने कसरी प्रतिस्पर्धा भयो ? सबै हामीलेकाम गर्दै जाने हो र निजी क्षेत्रलाई बलियो बनाउँदै जाने हो ।

तोकेको मितिमा निर्वाचन हुनेमा ढुक्क हुनुहुन्छ ?

कार्यसमितिले अनुमोदन गर्न बाँकी नै छ । अनुमोदन भइसकेपछि हामीले जहाँसम्म
हुन्छ, काठमाडौंमै साधारणसभा गराउने छौं । काठमाडौंमा गराउन सकिएन भने हामीले हरेक प्रदेशबाट जिल्लाको गराउने भन्ने विषयमा छलफल चलेको छ । एउटा बाधा अड्काउ फुकाउ यसलाई कार्यसमितिमा लगेर दुईटैको मेण्डेट लगेर हामी अगाडि बढ्छौं । मलाई लाग्छ, यो मितिमा चुनाव गराउँछौ ।

तपाईँहरू कोभिडको कारणले चुनाव सार्दै हुनुहुन्छ, उहारू आज–भोलि नै चुनाव गर्नुपर्छ भन्नुको कारण के हो ?

मलाई लाग्छ, जुन पक्षले आज–भोलि नै गर्नुपर्छ भनेका छन् । उनीहरू अहिलेको स्थितिलाई सायद नबुझेको हो कि । यो कुरा उहाँहरूलाई सोद्धा ठिक होला किनभने कसैको ज्यान जोखिममा राखेर, सरकारको निर्देशनलाई पालना नगर्ने हो भने यो दुभाग्र्यपुर्ण छ ।

तपाईँहरूले निर्वाचनचाहि स्थगित गरेर आफ्नो पक्षमा बहुमत बनाउने कुनै आशय हो ?

म काम गर्नको लागि महासंघमा आएको हुँ । म एउटा नितान्त उद्योगी व्यवसायी इतिहास बोकेर आएको मान्छे हुँ । अहिले पनि १७ हजार जनालाई रोजगारी दिइरहेको छु । देशको प्रथम उद्योग राखेको परिवारबाट म आएको हो । झन्डै १०० वर्षको इतिहास बोकेको संस्था हो । म उद्योग वाणिज्य महासंघमा केही काम गरौँ र निजी क्षेत्रको स्वार्थलाई अझै पूर्ति गरी बलियो बनाउने प्रयास गरौं भन्ने चाहना राख्छु । लगानी देशमा बढाउने, रोजगारी अझै सिर्जना गर्ने उद्देश्यले आएको हुँ । अरु कुनै मकसद छैन । मैले गुटबन्दी गरेर वा राजनीति गरेर लामो समय टिकिराख्ने कुनै पनि स्वार्थ छैन । यो कुरा सबै साथीलाई विश्वास दिलाउन चाहान्छु ।

अब स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ, यहा“सम्म आउन धेरै ‘पापड पेल्नु’ प¥यो होला है ?

पक्कै पनि मजस्तो ब्यक्ति नितान्त उद्योगी व्यवसायी छन् । एउटा गम्भीर प्रकृतिको उद्योगी रहेको छु । त्यो आशयमा अध्यक्ष बनिरहँदा पक्कै पनि धेरै साथीहरूको माया र सपोर्ट पाएको छु । यो नपाउँदा म यहाँसम्म पुग्दैन थिएँ होला । सबै साथीले विश्वास गरेका छन् । म जब वरिष्ठ उपाध्यक्षको लागि निर्वाचन लडँे, आजसम्म कसैले पनि त्यति मत प्राप्त गरेका थिएन । भनेपछि साथीहरूको विश्वास र मायाले केही न केही गर्छ भन्ने सोचले यहाँ पुगेको छु । मैले यसबाट जिम्मेवारीबोध पनि छ । म केही काम गरेर देखाउन चाहान्छु ।

के के काम गर्ने प्लान बनाउनुभएको छ ?

सबैभन्दा महत्वपूर्ण काम तीन वर्षमा गर्ने, पाँच वर्ष र १० वर्षमा निजी क्षेत्रले के के काम गर्नुपर्छ, के उद्देश्य हुनुपर्छ यसका लागि मैले धेरै काम गरिरहेको छु । भिजन डकुमेण्ट्री तयार पारेको छु । त्यो डकुमेण्ट्रीलाई कार्यसमितिबाट अनुमोदन गराएर प्रस्तुत गर्ने छु । यसबाहेक सचिवालय सुधार, मेलमिलाप केन्द्रलाई अझै सुदृढ बनाउने लगायत अन्य धेरै काम छन् । जसलाई मैले फोकस गर्छु । तर, मेन कुराचाहिँ भिजन डकुमेण्ट्रीअनुसार अगाडि बढ्नेछु । यसमा साथीहरूको सहयोग भएन भने पक्कै पनि असफल हुने छु । एक्लै मान्छेले केही पनि गर्न सक्दिनँ । जुन पनि टिम आउँछ, त्यस टिमलाई विश्वासमा लिएर मात्रै सफलता हासिल गर्छु । अल्पकालिनमात्रै होइन, दीर्घकालिन योजना हुनेछ । यसमा हिँडियो भने उद्योग बाणिज्य महासंघले फेरि जुन एउटा साख थियो, त्यो साख प्राप्त गर्छ ।

कोरोनाले उद्योग व्यवसायमा कतिको असर गरेको छ ?

राष्ट्र बैंकको तथ्याङ्क हेर्ने हो भने ९७ प्रतिशत विजनेशले ७५ प्रतिशत व्यवसाय गुमाएको छ भन्ने देखाएको छ । राष्ट्र बैंकको अर्को तथ्याङ्कले २२ प्रतिशत औपचारिक क्षेत्रमा रोजगारी गुमाएको पनि देखाएको छ । आईएलओले पनि बेरोजगारी ३ गुणाले बढेको भनेको छ । यस्तो भयानक अवस्था छ । तर, हामी यो स्थितिबाट चाँडै बाहिर आउन सक्छौँ । त्यसको कारण के हो भने हाम्रो अर्थतन्त्र रेमिट्यान्समा आधारित छ । रेमिट्यान्स अहिलेसम्म उल्लेख्य मात्रामा घटेको अवस्था छैन । त्यसैले गर्दा हामी चाँडै पुनरोत्थान गर्न सक्छौँ ।

निजी क्षेत्रले सरकारसग गरेका कोरोना लक्षित माग कति पूरा भए ?

केही मागहरू पूरा भएका पनि छन् । जस्तो, मौद्रिक नीतिमा पुनर्कर्जा साना तथा मझौला उद्योगहरूले प्राप्त गरुन्, त्यसमा प्रगति भएको छ । हामीले बैंकको ब्याजदर घट्नुपर्ने माग गरेका थियौँ । त्यो पनि घट्ने क्रममा छ । कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरणमा लचक भएर अगाडि बढिएको छ । त्यो हिसावले राष्ट्र बैंक र मौद्रिक नीति खासगरी लचिलो देखिएको छ । बिजुलीमा पनि पूरा भएको छ । तर, अझै पनि बजारलाई चलायमान गर्नको लागि अनौपचारिक क्षेत्रमा काम गर्ने मजदूरलाई राहत दिन सकियो भने त्यो राहतले माग बढाउन सक्छ । उद्योगलाई २० प्रतिशत सहुलियत हुनुपर्ने माग गरेका छौँ । उद्योगलाई सुदृढ गरेमा रोजगार बढी दिनेछौँ ।


प्रतिक्रिया दिनुहोस्