मानव जातिले कोरोनाबाट मुक्ति पाउँदै ! « Arthapath.com
२९ कार्तिक २०७७, शनिबार

मानव जातिले कोरोनाबाट मुक्ति पाउँदै !



मानव जातिले कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयास लगातार गरे पनि धेरै असफलता मात्र भेटिरहेको बेला यो हप्ता अमेरिकाबाट एउटा आशा पलाएको छ कि कोरोनाविरुद्ध तयार पारिएको खोपले मानिसमा ९० प्रतिशत लाभ प्राप्त भएको छ । यसले विश्वलाई तरङ्गित पारेको छ । खोपले काम गरेको समाचार आउनासाथ विश्वको सेयर बजार एक्कासि बढेको छ । मानिसमा खुसी पलाएको छ । यद्यपि यसको परीक्षण अझै जारी छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको बुहानमा देखापरेको कोभिड– १९ कोरना भाइरसबाट मानव जातिले एक वर्षपछि मुक्ति पाउने सम्भावना बढेको छ । कोरोनाबाट विश्वका सबैजसो शक्तिशाली र सबैभन्दा कमजोर तथा साना राष्ट्र पनि नराम्रोसँग प्रभावित भएका छन् । सडकमा जीवन बिताउनेदेखि विश्वका शक्तिशाली राष्ट्र अमेरिकासम्मलाई कोरोनाले आक्रमण गरेको छ । कोरोनाले गर्दा लाखौँ मानिसको ज्यान गइसकेको छ । नेपालमा पनि एघार सयभन्दा बढीको कोरोनाको कारण मृत्यु भइसकेको छ । कोरोना सङ्क्रमणको दर नेपालमा अझै घटेको छैन । खासगरी भारतसँगको खुला सिमानाको कारण नेपालमा पछिल्ला महिनामा कोरोना सङ्क्रमण वृद्धि भएको हो ।

कोरोनाबाट बच्नका लागि विश्वले आ–आफ्नो ढोका बन्द गरे । यसबाट खाद्यान्न र दैनिक उपभोग्य वस्तु तथा स्वास्थ्य सेवालगायतका सबै सेवा र व्यापार बन्द भए । यसले अर्थतन्त्रमा नराम्रो असर ग¥यो । निर्माण क्षेत्र ठप्प हुँदा देशको अर्थतन्त्र ठप्प भयो । आम्दानी घट्दा बैंकमा पैसा जम्मा गर्नेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको नेपाल राष्ट्र बैंकले निकालेको तथ्याङ्कमै उल्लेख छ । विश्वमा अझै पनि व्यापार÷व्यवसायले गति लिन सकेको छैन । मानिसका आम्दानीका स्रोत सुकेको छ । गरिबी अझै बढ्ने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकले निकालेको तथ्याङ्कमा उल्लेख छ । यही अवस्था रहँदा चालू आर्थिक वर्षको नेपालका आर्थिक विकास शून्यमा झर्ने देखिएको छ ।

खासगरी दक्षिण एसियाली मुलुकमा धेरै गरिबी थपिने विश्व बैंकले प्रक्षेपण गरेको छ । शक्तिशाली राष्ट्र पनि कोरोना भाइरसको कारण निरीह बनेका छन् । सबै नजरबन्दजस्तै अवस्थामा छन् । विश्वकै पर्यटन क्षेत्र तहस–नहस भएको छ । मानव जातिले कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयास लगातार गरे पनि धेरै असफलता मात्र भेटिरहेको बेला यही साता अमेरिकाबाट एउटा आशा पलाएको छ कि कोरोनाविरुद्ध तयार पारिएको खोपले मानिसमा ९० प्रतिशत लाभ प्राप्त भएको छ । यसले विश्वलाई तरङ्गित पारेको छ । खोपले काम गरेको समाचार आउनासाथ विश्वको सेयर बजार एक्कासि बढेको छ । मानिसमा खुसी पलाएको छ । यद्यपि यसको परीक्षण अझै जारी छ ।

अमेरिकाको औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेकले उक्त खोप बनाएको हो । यही नोभेम्बरमा उक्त कम्पनीले आपतकालीन प्रयोग अनुमतिका लागि आवेदन दिने तयारी गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनबाट अनुमति पाएपछि कम्पनीले आउँदो डिसेम्बरसम्म पाँच करोड मात्रा उत्पादन गरेर बजारमा पठाउने जनाएको छ । एक व्यक्तिलाई दुई डोज लगाउनुपर्ने भएको कारण यसले एकैपटक दुई करोड ५० लाख मानिसको जीवन जोगाउन सहयोग गर्नेछ । अन्य विभिन्न देशका कम्पनीले पनि कोरोनाविरुद्धको खोप पत्ता लगाउने प्रयास जारी राखेका छन् । एउटा मात्र कम्पनीले उत्पादन गरेर विश्वलाई धान्न सक्तैन । त्यही भएर विश्वका विभिन्न देश खोपको सफलताका लागि प्रयासरत छन् ।

उक्त कम्पनीले अनुमति पाएमा सन् २०२१ मा मात्र एक अर्ब ६० करोड मात्रा उत्पादन गर्न सकिने जनाएको छ । उक्त कम्पनीले ९४ जना कोरोना पोजेटिभ भएका स्वयम्सेवीमाथि परीक्षण गर्दा ९० प्रतिशत सफलता हासिल गरेको हो । अर्थात् कोरोना लागेका व्यक्तिलाई उक्त खोप लगाउँदा ९० प्रतिशतलाई पूर्ण निको भएको छ । यसमा कुनै जोखिम नभएको कम्पनीको दाबी छ । खोप लगाएको सात दिनभित्रमै मानिसमा कोरोनाविरुद्धको रोग प्रतिरोधात्मक क्षमताको विकास भएको बताइएको छ ।

विश्वका विभिन्न देशमा कोरोनाका औषधि उत्पादन हुने सम्भावना देखिएपछि नेपाल सरकारले पनि आफ्ना नागरिकको जीवन रक्षाका लागि विदेशबाट औषधि आयातको व्यवस्था गर्न एक समिति बनाएको छ । कात्तिक २४ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय पनि गरेको छ । सर्वोच्च अदालतले आदेश दिएपछि सरकार बाध्य भएर निःशुल्क उपचारको बाटोमा गएको हो । विभिन्न राजनीतिक दल तथा सत्तारुढ दलका नेता तथा कार्यकर्ता पनि कोरोनाको उपचार र परीक्षण निःशुल्क हुनुपर्ने माग गर्दै आएका थिए । उनीहरूको माग नसुने पनि सर्वोच्चको आदेश पालना गर्नुपर्ने बाध्यता सिर्जना भएपछि सरकारले निःशुल्क परीक्षण र उपचार गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्