राष्ट्र बैंकको एकिकृत निर्देशनले सनराइज बैंकमा लफडा, ‘समाधान फोर्स मर्जर’ « Arthapath.com
१९ पुष २०७७, आईतवार

राष्ट्र बैंकको एकिकृत निर्देशनले सनराइज बैंकमा लफडा, ‘समाधान फोर्स मर्जर’



काठमाडौं । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको एउटा ब्यवस्थाले सनराइज बैंकमा फेरि भाँडभैलो सुरु भएको छ । एकीकृत निर्देशको संस्थागत सुशासनसम्बन्धी ब्यवस्थामा ‘एउटा सञ्चालक एक कार्यकालभन्दा बढी लगातार एउटै समितिमा संयोजक रहन पाउने छैन’ भन्ने बुँदा थप गरेको छ ।

बैंकमा बच्चराज तातेड १२ वर्षदेखि मानव संशाधन समितिका प्रमुख छन् । निर्देशन आएपछि सञ्चालक समितिमा यसबारेमा जानकारी गराइएको थियो । बैंकको संचालक समितिमा ‘राष्ट्र बैंकको नयाँ ब्यवस्थाका कारण तातेडले मानव संसाधन समितिको संयोजक पद छाड्नुपर्ने’ प्रश्ताव आएपछि बैंकमा लफडा सुरु भएको हो ।

तातेडले भने राष्ट्र बैंकले गरेको ब्यवस्था अर्को कार्यकालबाट लागू हुने बताएका थए । यही विवादका कारण सञ्चालक समिति दुई भागमा बाँडिएको छ । स्रोतका अनुसार बैंकका अध्यक्षले संचालक समितिमा सीईओलाई एजेण्डाका बारेमा कुरा राख्न भनेपछि बैंकमा संचालक र सीईओको विवाद बढेको हो ।

विवाद उत्कर्षमा पुगेपछि मंगलबार नेपाल राष्ट्र बैंकले सञ्चालक समितिका सदस्यहरूसँग छलफल गरेको थियो । राष्ट्र बैंक नियमन विभाग प्रमुख प्रमुख देवकुमार ढकाल, निर्देशक किरण पण्डितलगायतले सञ्चालकहरूसँग किन लफडा भएको हो ? किन मिल्न नसकेको ? कारण आदिकाबारेमा छलफल भएको भनेर सोधेका थिए ।

यद्यपि, तीन दिनअघिमात्रै तातेड समूहले राष्ट्र बैंकमा आफ्नो गुनासो सहितको उजुरी दर्ता गराएका थिए । यसअघि पनि यही समूहले बैंकमा लफडा गरेको थियो । लफडाका कारण प्रमुख कार्यकारी शर्मा राजीनामा गर्ने दबाब दिएका थिए । राष्ट्र बैंकले दबाब दिएपछि लफडा शान्त भएको थियो ।

तातेडको पक्षमा शैलेन्द्र गुरागाइँ र मालचन्द दुगड छन् । अर्को पक्षमा मोतिलाल दुगड, शारदा शर्मा र दीपक नेपाल छन् । राष्ट्र बैंकसँग छलफल गर्न पाँचजना सञ्चालक पुगेका थिए । ‘सञ्चारमाध्यममा बैंककाबारेमा समाचारहरू आउन थाले, के हो समस्या भनेर बुझ्न बोलाएका थियौं,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले भने, ‘हामीले मिलेर काम गर्नुस् भनेर पठाएका छौं । उहाँहरू हुन्छ भनेर जानु भएको छ ।’ बैंकले अबको १० दिनमा वार्षिक साधारणसभा गर्ने तयारी गरिरहेको छ । पुस २४ गतेको साधारणसभा नजिकिँदै जाँदा बैंकमा लफडा बढ्दै गएको हो ।

बैंकले गत वर्षको नाफाबाट ८.२५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले चुक्ता पुँजी ८ अर्ब ९६ करोडको ५.८ प्रतिशत बोनस सेयर दिने छ । बाँकी २.४८ प्रतिशत नगद लाभांश दिनेछ । बोनस सेयर स्वीकृत भएपछि चुक्ता पुँजी ५२ करोड रुपैयाँले बढ्नेछ । बैंकले गत आर्थिक वर्ष ५४ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । सनराइज बैंकले ‘फोर्स मर्जर’को बाटो समाएको छ । सञ्चालकहरूबीच देखिएको विवाद उत्कर्षमा पुग्दा केन्द्रीय बैंकले ‘फोर्स मर्जर’मा लैजाने देखिएको छ । बैंक सञ्चालनको सुरुवातदेखि नै पटक–पटक विवादमा तानिँदै आएको सनराइजलाई मर्जरमा नलगेसम्म समस्या समाधान नहुने निश्कर्षमा नेपाल राष्ट्र बैंक पुगेको छ ।

सनराइज बैंकमा स्थापनादेखि नै एक प्रकारले सञ्चालकहरूबीच विवाद देखिँदै आएको छ । त्यसको पहिलो शिकार बनेका थिए, तात्कालीन महाप्रवन्धक सुमन न्यौपाने । न्यौपानेले पूरै कार्यकाल बिताउन नसके पनि त्यसपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेर राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक सुरेन्द्रमान प्रधानले भने तोकिएको अवधि पूरै बिताए । राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक सुरेन्द्रमान प्रधानलाई सनराइजमा सीईओ बनाएर ल्याएपछि भने सञ्चालक समितिको विवाद मत्थर भएको थियो । तर, प्रधान बैंकबाट बिदा भएसँगै सञ्चालक विवादले फेरि ठाउँ लियो । बैंकका अब्बल कर्मचारी मानिएका र प्रधानपछि लामो समय कायम–मुकायम सीईओ भएर काम गरेका बलराम विष्टलाई पूर्ण जिम्मेवारी दिने सवालमा सञ्चालक समिति फेरि विवादमा तानियो र विष्टले सीईओ जिम्मेवारी नै पाउन सकेनन् । त्यसपछि बैंकले रत्नराज बज्राचार्यलाई सीईओ बनाएर लग्यो र उनको कार्यकालभरी पनि सञ्चालक समिति विवाद सतहमा आउन पाएन ।

बज्राचार्यले सञ्चालकहरूलाई उल्टै हप्काउने र उनको कुरा कसैले काट्न नसक्ने भएका कारण ४ वर्षसम्म सञ्चालक विवाद सतहमा आएन । बज्राचार्यको बैंकमा प्रवेशसँगै सनराइजको विवाद पनि मत्थर भएको मानिएको थियो । तर, त्यो क्षणिक रहेछ । बज्राचार्यको बहिर्गमनसँगै सञ्चालकहरूको विवादले उग्ररूप लिएन मात्रै सीईओ नियुक्ति गर्ने र कार्यभार सुम्पनेमै समस्या भयो । बज्राचार्यको बिदाइपछि निरज श्रेष्ठलाई नियुक्त गर्दा सञ्चालक विवादले उत्कर्षता प्राप्त गरेपछि उनले सनराइज बैंकको सीईओको जिम्मेवारी नै सम्हालेनन् । अध्यक्ष मोतीलाल दुगड र सञ्चालक शैलेन्द्र गुरागाईंबीच नियुक्तिको विषयलाई लिएर तिब्र विवाद भएको थियो । त्यसपछि बैंकले हालका सीईओ जनकराज शर्मालाई व्यवस्थापनको जिम्मेवारी दिएको हो । तर, शर्मा सीईओ भएपछि पनि सञ्चालक विवाद रोकिएको छैन ।

सीईओ शर्माको विषयलाई लिएर गत असारमा अध्यक्ष दुगड र गुरागाईंबीचको खिचातानीले विवाद सतहमा आएको थियो । त्यसबेला पनि केन्द्रीय बैंकको दबाबमा विवाद साम्य भएको थियो । गत साउनमा पनि सीईओ शर्मासँग स्पष्टीकरण सोधिएको र शर्माले राजिनामा दिएको चर्चा चलेको थियो । त्यसबेला पनि राष्ट्र बैंकको हस्तक्षेपले सञ्चालकबीचको झगडा केही मत्थर भएको थियो । राष्ट्र बैंकको हस्तक्षेपपछि स्वतन्त्र सञ्चालक ओमकृष्ण जोशीले राजीनामा दिएका थिए । सञ्चालक समितिको विवादकै कारण बैंकले अझै स्वतन्त्र सञ्चालक नियुक्त गर्न सकेको छैन । पटक–पटक विवादमा तानिएको सनराइज सञ्चालक समितिको बेमेल फेरि एकपटक छताछुल्ल भएको छ । बैंकमा समस्या भने जहिल्यै रहेको बैंकका पुराना कर्मचारीहरू बताउँछन् ।

पछिल्ला दिनहरूमा केन्द्रीय बैंकले सनराइज बैंकका सञ्चालकहरूलाई बोलाएर मिलेर काम गर्न निर्देशन मात्र दिएको छैन मर्जरमा जानका लागि साझेदार खोज्न भनेको छ । सनराइज स्थापनादेखिका सञ्चालक मोतीलाल दुगड अहिले अध्यक्ष छन् । त्यतिबेलैदेखि सञ्चालक रहेका बछराज तातेड पनि सञ्चालक कायमै छन् । स्थापनाकालका सञ्चालक भोगेन्द शर्माले आफ्ना भाइ शैलेन्द गुरागाइलाई सञ्चालक बनाएर पठाएपछि उनी विवादको मुख्य पक्ष बन्ने गरेका छन् । सनराइजमा सञ्चालक विवादकै कारण सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अघि बढ्न सकेन ।

विगतमा सञ्चालक समिति विवादकै कारण बैंक अफ काठमान्डूमा केन्द्रीय बैंकले व्यवस्थापन नियन्त्रणमा लिएको थियो । सनराइजको विवाद यथावत् देखिए राष्ट्र बैंकले तत्काल व्यवस्थापन नियन्त्रणमा लिइन मर्जरमा लगिने केन्द्रीय बैंकको तयारी छ । यद्यपि, केन्द्रीय बैंकले व्यवस्थापन नियन्त्रणमा लिन हतार नगर्ने बताइरहेको छ । तर, मर्जरका लागि भने उसले दबाब दिइरहेको सनराइज बैंकका अधिकारीहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्