धमाधम मर्जरको बाटोमा लघुवित्त, हालसम्म २४ ओटाको मर्जर सम्पन्न « Arthapath.com
११ फाल्गुन २०७७, मंगलवार

धमाधम मर्जरको बाटोमा लघुवित्त, हालसम्म २४ ओटाको मर्जर सम्पन्न



काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त बैंकको संख्या घटाउने रणनिती लिएपछि अहिले लघुवित्त कम्पनीहरु धमाधम मर्जरको बाटो रोजिरहेका छन । पछिल्लो समय लघुवित्त कम्पनीहरूमा मर्जर तथा एक्विजिसनको चटारो देखिएको छ ।

केन्द्रीय बैंकले लघुवित्त कम्पनीलाई मर्जर तथा एक्विजिसनमा जान केही बाध्यता त केही प्रोत्साहन गरेसँगै सहकार्य गर्ने लहर चालेको हो । मर्जर गराउने उदेश्यले राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको हकप्रद सेयरमा कडाई गरेको छ ।

अव पुँजी बढाउन लघुवित्त कम्पनीले बोनस सेयर वा मर्जर बाहेक हरु विकल्प छैन । बोनसबाट पुँजी वृद्धि गर्न नसक्ने कम्पनीले मर्जर तथा एक्विजिसनको बाटो रोज्नुपर्ने भएकाले सहकार्यको संख्या बढ्दो भएको हो ।

अधिकांश लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई बोनस सेयर दिएका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीहरूलाई ३० प्रतिशतभन्दा धेरै नगद लाभांश वितरणमा रोक लगाएको छ । यसका कारण पनि कम्पनीहरूले बोनस सेयर वितरणमा जोड दिएका छन् ।

लाभांश वितरणमा पनि २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्नुपरेमा वितरण हुने लाभाश रकमको २५ प्रतिशत रकम रिजर्भ कोषमा राख्नुपर्ने नियम (क्याप रुल) राष्ट्र बैकले बनाएको छ । यसर्थ, अधिकाश कम्पनीले २० प्रतिशत ननाघ्ने गरी लाभांश वितरण गरेका छन् । तर, मर्जर गरेर आइसकेका कम्पनीलाई भने क्याप नलाग्ने भनिएको छ । यस्तो पुँजी आधारसहित संस्थालाई थप सबल पार्न पनि मर्जर तथा एक्विजिसन प्राथमिकतामा परेको हो । केन्द्रीय बैंकले ९० वटा लघुवित्त कम्पनीहरूलाई सञ्चालन अनुमति दिएको छ ।

मर्जर तथा एक्विजिसनलाई जोड दिएसँगै यो संख्या ७६ मा पुगेको केन्द्रीय बैंकले जनाएको छ । हाल नेपाल स्टक एक्सचेन्जमा ५२ वटा लघुवित्त कम्पनीहरू सूचीकृत रहेका छन् ।

यतिबेला राष्ट्र बैंकले नयाँ लाइसेन्स रोकेरै लघुवित्तहरूलाई मर्जरमा जान प्रोत्साहन गर्न थालेको छ । केन्द्रीय बैंकको योजना अनुसार नै केही लघुवित्त कम्पनीहरू मर्जर तथा एक्विजिसन प्रक्रियामा सहभागी भइसकेका छन् ।

पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म २४ वटा लघुवित्त कम्पनी मर्जर तथा एक्विजिसनमा गइसकेका छन् । केही मर्जर तथा एक्विजिसनको प्रक्रियामा रहेका छन् । नयाँ तथा पुराना दुवैखालका कम्पनीहरू मर्जर प्रक्रियामा सरिक भइरहेका छन् । यता, आरम्भ चौतारी लघुवित्तको सीवाईसी लघुवित्त र शालिग्राम लघुवित्तबीच भएको मर्जर सम्झौता भंग भएको छ । २४ कम्पनी मर्जर तथा एक्विजिसनको प्रक्रियामा रहेका छन् ।

केन्द्रीय बैंकको नियमअनुसार थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीको न्यूनतम चुक्ता पुँजी ६० करोड, राष्ट्रियस्तरका लघुवित्तको १० करोड, क्षेत्रीयस्तरको ६ करोड, ३ जिल्ले लघुवित्तको २ करोड र १ जिल्लास्तरका लघुवित्तको चुक्ता पुँजी न्यूनतम १ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । यतिबेला कतिपय नयाँ कम्पनीहरू साधारण सेयर (आईपीओ) नै जारी नगरिकन मर्जर तथा एक्विजिसन प्रक्रियामा समेत अघि बढेका छन् ।

तर, राष्ट्र बैंकले मौद्रिक नीतिबाट चुक्ता पुँजी बढाउने नियम नतोके पनि लघुवित्तहरूलाई राष्ट्रियस्तरकोलाई १ अर्ब र प्रदेशस्तरकोलाई ५० करोड हुनुपर्ने गरी तयारी गर्न भनिसकेको छ । सोहीअनुसार लघुवित्त कम्पनीहरूले मर्जर र बोनस वितरण गर्दै पुँजी बढाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्