धरहराको घुम्टो आज खुल्दै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने « Arthapath.com
११ बैशाख २०७८, शनिबार

धरहराको घुम्टो आज खुल्दै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने



काठमाडौं । वि.स. २०७२ साल बैशाख १२ गते शनिबारको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त धरहराको उद्घाटन आज हुँदै छ । धरहरा स्तम्भको पुनर्निर्माणको कार्य सम्पन्न भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको दिन पारेर आज (बैशाख ११ गते, शनिबार) धरहराको उद्घाटन गर्दै छन् । धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएपछि बैशाख ११ गते शनिबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्दैछन् ।

Image

धरहराका विशेषता

२२ औँ तलाको धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फि लिफ्ट छन् । धरहराको २० औं तलामा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नका लागि सिसाले घेरिएको भ्यु डेस्क छ । धरहराको कुल उचाई २ सय ४५ फिट अर्थात ८० मिटर छ ।

२२ तल्लाको धरहराको टुप्पोमा राखिएको गजुरमा सुनको जलप लगाइएको छ । भूकम्पले भत्किएको पहिलाको धरहराको भग्नावशेषबाट निकालिएको २० तोला पुनःप्राधिकरणले किनेको ७५ तोला गरी ९५ तोला ३ लाल सुनले लेपन गरिएको छ । सुनको गजुर ३३० किलोको हो । गजुर तामाबाट बनेको छ ।

Image

करिब ३ सय हाराहारीको क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्पको संग्रहालय र क्याफेटेरिया निर्माण भैरहेका छन् । भूकम्पले भत्काएको धरहराको भग्नावशेष सिसाले छोपेर राखिने छ । पुरानै संरचनामा हरेक २ तलामा पहिलाकै जस्तो कार्नेसका बुट्टा र गोला झ्यालहरू छन् । २२ औं तलामा भने पुरानै शिव लिंग राखिएको छ । पहिले सुर्की र इँटाबाट बनेको धरहरा अहिले गिट्टी बालुवा, सिमेन्ट र रडको प्रयोग गरी निर्माण गरिएको हो । अहिले बन्न लागेको धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।

Image

कति लाग्यो लागत ?

धरहरा पुननिर्माण गर्न साढे ३ खर्ब रुपैयाँ खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ६ वर्षको अवधिमा ३ खर्ब ५७ अर्ब रुपैँया खर्च भएको हो ।

Image

सर्वसाधारणले कहिले चढ्न पाउँछन् ?

सर्वसाधारणका लागि आगामी मङ्सिरसम्म खुला हुनेछ । अहिले टावरको उद्घाटन हुने भएपनि सर्वसाधारण भने सबै भौतिक संरचना तयार भएर निर्माण कम्पनीले प्राधिकरणलाई हस्तान्तरण गरेपछि मात्रै प्रवेश गर्न पाउने छन् । निर्माण कम्पनी र प्राधिकरणबीच २०७८ पुस १० गतेसम्म काम सक्ने गरी सम्झौता भएको छ । यो अवधि अझै ८ महिना बाँकी छ । धरहरा प्रवेश गर्दा नागरिकले पालना गर्नुपर्ने नियम बनाएपछि मात्रै उनीहरुका लागि खुला गरिने प्राधिकरणले बताएको छ ।

धरहराको ईतिहास

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा निर्माण गरेका थिए । उक्त ११ तलाको धरहरा १९९० को भूकम्पले ढलाएपछि १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको बनाएका थिए । २०७२ सालको भूकम्पमा धरहरा चढेका र धरहराको छेउबाट यात्रा गरिरहेका ६० जनाले अकालमा मृत्युवरण गर्नुपरेको थियो । धरहरा भत्कँदा अन्य कैयौँ ब्यक्ति घाइते तथा अंगभंग भएका थिए ।

Image

धरहराको निर्माण कसले गर्दै छ ?

धरहराको पुनर्निर्माणमा साढे ३ सय मजदुरले काम गर्दै आएका छन् । यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो । निर्माण कम्पनी र प्राधिकरणबीच २०७८ पुस १० गतेसम्म काम सक्ने गरी सम्झौता भएको छ ।

Image


प्रतिक्रिया दिनुहोस्