ठूला बैंकलाई पछि पार्दै एनआईसी फेरी पहिलो स्थानमा, टक्कर दिँदै आरबिबि र सिद्धार्थ, कुनले कति दिन सक्छ ? « Arthapath.com
२५ श्रावण २०७९, बुधबार

बाणिज्य बैंकहरुको प्रतिफल दर १४ प्रतिशतभन्दा कम

ठूला बैंकलाई पछि पार्दै एनआईसी फेरी पहिलो स्थानमा, टक्कर दिँदै आरबिबि र सिद्धार्थ, कुनले कति दिन सक्छ ?



काठमाडौं । एनआईसी एसिया बैंकले अघिल्ला वर्षमा जस्तै उच्च प्रतिफल प्रदान गर्नसक्ने सामथ्र्य गत साल पनि कायमै राखेको छ । बाणिज्य बैंकहरुमध्ये एनआईसीले सर्वाधिक २१.९४ प्रतिशत प्रतिफल दिनसक्ने सामथ्र्य बनाएको छ । बैंकहरुको अपरिस्कृत वित्तीय विवरणका आधारमा नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकमा यस्तो देखिएको हो ।

सेयरमा प्रतिफलको दर हेर्दा एनआईसीपछि सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले साढे १८ प्रतिशतसम्म प्रतिफल दिनसक्ने देखिएको छ । कर तिरिसके पछिको नाफाको आधारमा गरिएको गणनामा सिद्धार्थ बैंक तेस्रो नम्बरमा देखिएको छ । उसले प्रतिकित्ता सेयरबापत १७.२२ प्रतिशत प्रतिफल आर्जन गरेको छ ।

विगतमा वित्तीय स्वास्थ्यका हिसाबले खासै उम्दा प्रदर्शन गर्न नसकेको माछापुच्छ्रे बैंकले पनि गत साल बढी प्रतिफल दिने हैसियत जुटाएको छ । उसले १६.९१ प्रतिशत प्रतिफल दिनसक्ने देखिएको छ । ठूला बैंकहरुमा ग्लोबल आईएमईको प्रतिफल दर उच्च देखिएको छ ।

त्यसपछि एनएमबी र ‘लो प्रोफाइल’ बैंकहरु सानिमा, कुमारी, प्राइम र प्रभू पनि प्रतिफलको हिसाबले ‘टप टेन’मा पर्न सफल भएका छन् । सनराइज, स्ट्याण्डर्ड चार्टर्ड, मेगा र एनसीसी बैंकले पनि औसत (१३.७७ प्रतिशत) भन्दा बढी प्रतिफल दिने क्षमता बनाएका छन् ।

सर्वाधिक बलियोमध्येमा गनिने नबील बैंक प्रतिफलको हिसाबले निकै कमजोर देखिएको छ । उसको स्थान २६ मध्ये २३ औंमा परेको छ । नबिलभन्दा कमजोर हालतमा लक्ष्मी बैंक छ । त्यसपछि सरकारी स्वामित्वका नेपाल बैंक र कृषि विकास बैंक छन् । कृषि विकास बाहेक सबै बैंकले कम्तिमा दुई अंकमा प्रतिफल आर्जन गरेको देखिन्छ ।

औसतभन्दा कम प्रतिफल आर्जन गर्नेमा नेपाल इन्भेष्टमेण्ट, सिभिल, हिमालयन, एभरेस्ट, सेञ्चुरी, सिटिजन्स, बीओके र नेपाल एसबीआई बैंक छन् । यी बैंक साढे १० देखि साढे १३ प्रतिशतको बीचमा प्रतिफल आर्जन गर्नेमा पर्छन् । यस तथ्यांकले बैंकको पूँजी र आक्रामक विस्तारमात्रैले प्रतिफलको दर बढाउन सकिन्न भन्ने देखाउँछ । ठूला बैंकहरुको प्रतिफल कम हुनुको असर सेयर बजारमा पनि देखिन सक्ने बैंकर बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्