तीन कम्पनीले सार्वजनिक गरे पहिलो त्रैमासिक वित्तीय रिर्पोट, कुनको प्रगति कस्तो ? (विवरणसहित) « Arthapath.com
६ कार्तिक २०७९, आईतवार

तीन कम्पनीले सार्वजनिक गरे पहिलो त्रैमासिक वित्तीय रिर्पोट, कुनको प्रगति कस्तो ? (विवरणसहित)



काठमाडौं । कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्न थालेका छन् ।

कम्पनीहरुले चालु आवको असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्न थालेका हुन् । हालसम्म तीन वटा कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

हालसम्म महुली लघुवित्त वित्तीय संस्था, बेष्ट फाइनान्स र आरएसडीसी लघुवित्तले प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका हुन् ।

विवरण अनुसार आरएसडीसी लघुवित्तको नाफामा उछाल आएको भने अन्य दुई कम्पनीको नाफा र अन्य मुख्य सूचकमा गिरावट आएको देखिएको छ ।

कुनको वित्तीय अवस्था कस्तो ?

महुली लघुवित्त

महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा कम्पनीले ५८ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७८.२७ प्रतिशतले कमी हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ६८ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको असोज मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी पनि ४.४७ प्रतिशतले घटेर ७ करोड ३३ लाख ५ हजार रुपैयाँ कायम भएको छ ।

उक्त अवधिमा कम्पनीको कुल आम्दानी ९ करोड ९६ लाख ४३ हजार, संचालन नाफा ७८.६८ प्रतिशतले घटेर ८३ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।

उक्त अवधिमा कम्पनीको वितरण योग्य नाफा भने २ लाख १ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा कम्पनीले जगेडा तथा कोषमा ३२ करोड ६३ लाख ६३ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा भने झिनो घटेर २.२५ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३८ रुपैयाँ ३ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्षको पहिलो त्रैमासमा भने ८ रुपैयाँ २६ पैसामा झरेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ६६ पैसा रहेको छ ।

बेस्ट फाइनान्स

बेस्ट फाइनान्सले पनि चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ओरालो लागेको छ ।

कम्पनीको खुद नाफा ९५.१० प्रतिशतले घटेर ५९ लाख ३३ हजार रुपैयाँमा सिमित भएको हो । गत वर्षको सोहि अवधिमा भने कम्पनीले १२ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको संचालन नाफा ओरालो लाग्दा खुद नाफामा प्रभाव पर्ने गएको हो । यसअवधिमा सञ्चालन नाफा पनि ८६.९९ प्रतिशतले घटेर १ करोड ७९ लाख रुपैयाँमा झरेको छ । गत वर्ष उक्त नाफा १३ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी भने ३९.४३ प्रतिशतले बढेर ३ करोड ८० लाख रुपैयाँ पुगेको छ । फाइनान्सको वितरणयोग्य नाफा २२ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ६१ पैसाले घटेर २ रुपैयाँ ८६ पैसा कायम भएको भने कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ६८ पैसा छ । यसको खराब कर्जा बढेर ४.४० प्रतिशत पुगेको छ ।

आरएसडीसी लघुवित्त

आरएसडीसी लघुवित्तले चालु आवको पहिलो त्रैमासमा ३ करोड ८२ लाख ३१ हजार रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने १०१.९८ प्रतिशतले बढी हो । गत वर्षको असोज मसासन्तसम्ममा कम्पनीले १ करोड ८९ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको असोज मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि ११९.३३ प्रतिशतले वृद्धि भई ७ करोड ६५ लाख २ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ३ करोड ४८ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन नाफा पनि ११२.८८ प्रतिशतले वृद्धि भई ५ करोड ४६ लाख १६ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको कुल संचालन आम्दानी भने ८ करोड ५४ लाख ४० हजार रुपैयाँ देखिएको छ । उक्त अवधिमा कम्पनीको वितरण योग्य नाफा ३ करोड १० लाख ३८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा पनि घटेको छ । गत वर्षको असोज मसान्तसमा ०.२८ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने ०.६ प्रतिशतमा झारेको छ ।

कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २१ करोड ७० लाख ९० हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ६५ पैसाले वृद्धि भई १८ रुपैयाँ ९९ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्