बैंकर्स संघको बैठक बिहीवार बस्दै, घट्ला त ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको बैठक पुस २८ गते बिहीवार बस्ने भएको छ ।
संघको बैठकले एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई अध्यक्षमा औपचारिक नियुक्ति र ब्याजदरका लगायतको विषयमा निर्णय हुनेछ ।
संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायको कार्यकाल सकिएपछि केसीले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका थिए । केसी संघका उपाध्यक्ष हुन् ।
सोही बैंठकले ब्याजदरका विषयमा छलफल तथा निर्णय हुने बताइएको छ । नयाँ बनेको सरकारले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन दबाब दिइरहेको छ । सरकारको पहिलो मन्त्रीपरिषदकै बैठकबाट नै ब्याजदरको समस्या समाधान गर्ने निर्णय गरेको थियो । यता, उद्योगी, व्यवसायीहरुले कर्जाको ब्याज घटाउनुपर्ने माग उठाउँदै आएका छन्।
सोही बमोजिम नै आगामी माघ महिनादेखि ब्याजदर घटाउन सक्ने संकेत पनि देखिएको छ । तर, यस बारेमा बिहीवार बस्ने बैंकर्स संघको बैठकले आधिकारिक निर्णय गर्नेछ । ‘बुधवार बैंकर्स संघको बैठक बस्दैछ, ब्याजदर घटाउने कि स्थिर राख्ने भन्ने विषयमा भोलि नै निर्णय हुन्छ ।’–एक सीईओ भने ।