मुक्तिनाथ विकास बैकले कमायो साढे ६२ करोड नाफा, कस्ता देखिए अन्य सूचकहरु ? (विवरणसहित) « Arthapath.com
८ माघ २०७९, आईतवार

मुक्तिनाथ विकास बैकले कमायो साढे ६२ करोड नाफा, कस्ता देखिए अन्य सूचकहरु ? (विवरणसहित)



काठमाडौं । मुक्तिनाथ विकास बैंकले साढे ६२ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार बैंकले चालु आवको दोस्रो त्रैमासमा ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ३.९६ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले ६० करोड २४ लाख ६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अन्य विकास बैंकभन्दा मुक्तिनाथ विकास बैंक नाफामा सधैं पहिलो स्थानमा आउने गरेको छ ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३३.३७ प्रतिशतले वृद्धि भई २ अर्ब ४ करोड ४४ लाख ३४ हजार रुपैयाँ पुगेको छ । चालु आवको ६ महिनामा बैंकको कुल संचालन आम्दानी २ अर्ब २९ करोड ४२ लाख ६१ हजार रुपैयाँ रहेको छ भने संचालन मुनाफा ८९ करोड ४६ लाख १९ हजार रुपैयाँ कायम भएको छ । बैंकको वितरण योग्य नाफा ६ करोड ३ लाख ९२ हजार रुपैयाँ रहेको छ।

चालु आवको पुस मसान्तसम्ममा बैंकको खराब कर्जा ०.९८ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा भने ०.७२ प्रतिशत रहेको थियो ।

सो अवधिमा बैंकले १ खर्ब ९ अर्ब ३१ करोड ४९ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरेको भने ९२ अर्ब १९ करोड ८६ लाख २६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको तुलनामा यस अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः ४.४३ प्रतिशत र ६.२० प्रतिशतले वृद्धि भएको हो ।

बैंकको चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी गत वर्षको सोही अवधिमा तुलनामा भने १३.५० प्रतिशतले वृद्धि भएको हो । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब २४ करोड ४४ लाख ५९ हजार रुपैयाँ राखेको छ ।

चालु आवको ६ महिनामा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ९६ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्