वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी : एनआईसी एशिया सबैभन्दा अगाडि, अन्यको पोजिशन कुन ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।
विवरण अनुसार सो अवधिमा बैंकहरुको खुद नाफा ११.७५ प्रतिशतले वृद्धि भई ३० अर्ब २६ करोड ३८ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकहरुले २७ अर्ब ८ करोड बढी नाफा आर्जन गरेका थिए ।
यो हालै मर्जर भई एकीकृत कारोबार थालनी गरेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंक बाहेकको तथ्याङ्क हो । यी दुई बैंकले दोस्रो त्रैमासमा वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ ।
सो अवधिमा ७ बैंकको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ भने अन्यको वृद्धि भएको छ । हाल २२ वटा वाणिज्य बैंक संचालनमा रहेका छन् । प्रकाशित विवरण अनुसार प्रतिसेयर आम्दानीमा सबैभन्दा धेरै एनआईसी एशियाको देखिएको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ७७ पैसा रहेको छ । यो आम्दानी बैंकले गत वर्षको पुस मसान्तको तुलनामा भने १५ रुपैयाँ ३४ पैसाले वृद्धि गरेको हो ।
दोस्रो स्थानमा रहेको स्टाण्डर्ड चार्टर्डको ३७ रुपैया १९ पैसा रहेको छ । गत वर्षको पुस मसान्तसम्ममा २३ रुपैयाँ ५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी यस वर्षको सोही अवधिमा भने १३ रुपैयाँ ६९ प्रतिशतले बढेको हो ।
चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा बढाएको एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी भने २९ रुपैयाँ ६९ पैसा रहेको छ । बैंकको यो आम्दानी गत वर्षको पुस मसान्तको तुलनामा भने ७ रुपैयाँ ९ पैसाले बढी हो ।
यस्तै, चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा गरेको नबिल बैंकको प्रतिसेयर आम्दानी भने २५ रुपैयाँ ३३ पैसा रहेको छ । बैंकको यो आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने १ रुपैयाँ ७४ पैसाले मात्र बढी हो ।
सो अवधिमा सरकारी स्वामित्व रहेको कृषि विकास बैंकको प्रतिसेयर आम्दानी भने ऋणात्मक देखिएको छ । बैंकको यो आम्दानी ४ रुपैयाँ ४३ पैसा ऋणात्मक रहेको हो । गत वर्षको सोही अवधिमा भने बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १ पैसा रहेको थियो ।
चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सबैभन्दा कम प्रतिसेयर आम्दानी प्रभु बैंकको देखिएको छ । सो अवधिमा बैंकले १० रुपैयाँ १९ पैसा प्रतिसेयर आम्दानी गरेको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने बैंकको यो आम्दानी ९ रुपैयाँ ६७ पैसाले घटेको हो ।
यस्तै, नेपाल एसबिआई बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९६ पैसा, एनएमबि बैंकको २० रुपैयाँ ७ पैसा, सानिमा बैंकको २० रुपैयाँ ६९ पैसा रहेको छ । यी तीनै वटा बैंकको प्रतिसेयर आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा क्रमशः ८ रुपैयाँ ३ पैसा, २ रुपैयाँ ६ पैसा, १ रुपैयाँ ७२ पैसाले वृद्धि भएको हो ।
त्यसैगरि माछापुच्छ«े बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९९ पैसा, लक्ष्मी बैंकको १८ रुपैयाँ ८६ पैसा, हालै मात्र बैंक अफ काठमाण्डूसंग मर्जरमा गएको ग्लोबल आइएमईको १८ रुपैयाँ ७ पैसा, सिटिजन्स बैंकको १७ रुपैयाँ ४५ पैसा, प्राइम कमर्सियल बैंकको १७ रुपैयाँ ३ पैसा रहेको छ ।
यता, सिद्धार्थ बैंकको १६ रुपैयाँ ५३ पैसा, नेपाल बैंकको १५ रुपैयाँ ९३ पैसा, सिभिल बैंकको १४ रुपैयाँ ४ पैसा, हिमालयन बैंकको १३ रुपैयाँ ६३ पैसा र सनराइज बैंकको १२ रुपैयाँ ९३ पैसा रहेको छ ।