आरएमडीसी लघुवित्तले कमायो साढे २० करोड बढी नाफा: इपिएस पनि वृद्धि, यस्तो छ वित्तीय प्रगति « Arthapath.com
२१ माघ २०७९, शनिबार

आरएमडीसी लघुवित्तले कमायो साढे २० करोड बढी नाफा: इपिएस पनि वृद्धि, यस्तो छ वित्तीय प्रगति



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नाफा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा २२.५८ प्रतिशतले वृद्धि भई २० करोड ६५ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

गत वर्षको पुस मसान्तसम्ममा भने कम्पनीले १६ करोड ८५ लाख ४ हजार रुपैयाँ नाफा गरेको थियो । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफा वृद्धि भएकाले खुद नाफा बढ्नमा टेवा पुगेको हो ।

चालु आवको ६ महिनामा कम्पनीको खुद ब्याज आम्दानी २०.४६ प्रतिशतले वृद्धि भई ३३ करोड ४१ लाख ८० हजार रुपैयाँ कायम भएको छ । सो अवधिमा कम्पनीको संचालन नाफामा २९ करोड ५२ लाख ४५ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिका तुलनामा २५.६६ प्रतिशतले बढी हो । कम्पनीको वितरण योग्य नाफा ११ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब २० करोड ७८ लाख ७९ हजार रुपैयाँ राखेको छ ।

सो अवधिमा कम्पनीको खराब कर्जा ०.१६ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको यो खराब कर्जा ०.११ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ १४ पैसाले वृद्धि भई ३३ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २८५ रुपैयाँ ४ पैसा कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्