हाइड्रोपावर कम्पनीले गुमाए १ अर्ब ३१ करोड, किन खुम्चियो नाफा ? « Arthapath.com
४ फाल्गुन २०७९, बिहीबार

हाइड्रोपावर कम्पनीले गुमाए १ अर्ब ३१ करोड, किन खुम्चियो नाफा ?



काठमाडौं । जलविद्युत कम्पनीहरुको नाफामा भारी गिरावट आएको छ । संचालनमा रहेकामध्ये ५१ वटा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार १० वटा जलविद्युत कम्पनीहरुको नाफा वृद्धि भएको छ भने अधिकांश कम्पनीको नाफा घटेको छ । करिब एक दर्जन कम्पनीले नोक्सानी व्यहोरेका छन् ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीहरुले १ अर्ब ८३ करोड ९४ लाख ६२ हजार रुपैयाँ नाफा गरेका छन् । तर, यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने १ अर्ब ३१ करोड ९७ लाख रुपैयाँ अर्थात ४१.७७ प्रतिशतले कमी हो । गत आवको पुस मसान्तसम्ममा कम्पनीहरुले ३ अर्ब १५ करोड ९१ लाख ६५ हजार रुपैयाँ नाफा कमाएका थिए ।

चालु आवको पुस मसान्तसम्ममा अधिकांश कम्पनीहरुको वित्तीय खर्च वृद्धि भएकाले नै नाफा घटेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढेको र वर्षात पनि कम पानी बहाव घटेकाले नाफा प्रभावित भएको जानकाररु बताउछन् । विशेषतः कम्पनीहरुको लागत बढेकाले नै नाफा प्रभावित भएको बताइएको छ । एक अधिकारीले भने,–‘बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर वृद्धि भएकाले नै कम्पनीहरुको लागत बढेको छ, हाइड्रोपावर कम्पनीहरु पनि तरलता अभावको मारमा परेका छन्, जसले नाफामा समेत असर गरेको छ।’

१० कम्पनी बढ्यो नाफाः दोर्दी खोलाले छलाङ मार्दा राप्ती हाइड्रोको उल्लेख्य सुधार

चालु आवको पुस मसान्तसम्ममा १० वटा जलविद्युत कम्पनीहरुले मात्र नाफा वृद्धि गरेका छन् । सो अवधिमा वुटवल पावर, छ्याङ्दी, राधी विद्युत लगायतका कम्पनी नाफा बढाएका छन् ।

चालु आवको ६ महिनामा बुटवल पावरको नाफा २६.४ प्रतिशतले वृद्धि भई २२ करोड ८७ लाख १७ हजार रुपैयाँ पुगेको छ । गत आवको पुस मसान्तसम्ममा कम्पनीले १८ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो ।

सो अवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा दोर्दी खोला हाइड्रोपावर देखिएको छ । गत वर्षको पुस मसान्तसम्ममा ७९ हजार रुपैयाँ मात्रै नाफा गरेको कम्पनीले यस वर्षको सोही अवधिमा भने १ करोड ४२ लाख १७ हजार रुपैयाँ नाफा गरेको छ ।

चालु आवको पुस मसान्तसम्ममा राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको नाफा ५९६.१७ प्रतिशतले वृद्धि भई १२ लाख ७४ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, विन्द्यावासिनी हाइड्रोपावरले ११ करोड १६ लाख, युनिभर्सल पावरले ८ करोड १४ लाख रुपैयाँ नाफा गरेका छन् । यी दुवै कम्पनीहरुको नाफा गत वर्षको पुस मसान्तसम्मको तुलनामा क्रमशः ३.०६ प्रतिशत १९७.९ प्रतिशले बढी हो ।

त्यसैगरि सो अवधिमा अपर सोलु हाइड्रो इलेक्ट्रिकको नाफा १०३.८१ प्रतिशत, राधी विद्युतको ६७.७७ प्रतिशत, नेपाल हाइड्रो डेभलोपर्सको ४३.७१ र छ्याङ्दी हाइड्रोपावरको नाफा ६७.४७ प्रतिशतले वृद्धि भएको छ ।

नोक्सानीमा एक दर्जन कम्पनी, सबैभन्दा धेरै अपर तामाकोशी

चालु आवको पुस मसान्तसम्ममा ११ वटा जलविद्युत कम्पनी नोक्सानीमा देखिएका छन् । सो अवधिमा सबैभन्दा धेरै नोक्सानी अपर तामाकोशीले व्यहोरेको छ ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनी ८२ करोड ४८ लाख ४६ हजार रुपैयाँ नोक्सानीमाा रहेको छ । गत वर्षको सोही अवधिमा पनि कम्पनी ३३ करोड ५ लाख रुपैयाँ नोक्सानीमा देखिएको थियो ।

सो अवधिमा न्यादी हाइड्रोपावर कम्पनी पनि ११ करोड ११ लाख रुपैयाँ, हिमालय उर्जा विकास ५ करोड ३५ लाख, सिंगटी हाइड्रो ४ करोड १४ लाख, रसुवागढी हाइड्रोपावर २ करोड ७१ लाख र मध्य भोटेकोशी २ करोड ६३ लाख रुपैयाँ नोक्सानीमा रहेका छन्।

यस्तै, घलेम्दी हाइड्रोले १ करोड ९५ लाख रुपैयाँ, स्वेटगंगा १ करोड २७ लाख, दिव्यश्वरी ७५ लाख, रिभर फल्स ६६ लाख र साञ्जेन जलविद्युत १३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

करिब तीन दर्जन हाइड्रोको नाफा घट्यो

चालु आवको पुस मसान्तसम्ममा ३० वटा जलविद्युत कम्पनीको नाफामा गिरावट आएको छ । सो अवधिमा सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरको नाफामा गिरावट आएको छ । कम्पनीको नाफा २०७.५१ प्रतिशतले घटेर ६ करोड ९४ लाख रुपैयाँ कायम भएको छ । दोस्रो स्थानमा रहेको लिवर्टी इनर्जीको भने १८२.८२ प्रतिशतले घटेर १ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।

चालु आवको ६ महिनामा रु रु जलविद्युत परियोजनाको नाफा पनि ९.३० प्रतिशतले घटेर ५ करोड ९६ लाख रुपैयाँ कायम भएको छ । यस्तै, आँखुु खोला जलविद्युतको नाफा २९.३९ प्रतिशत, तेह्रथुम पावर ९६.१४, सानिमा माइको ११.३६, पाँचथर पावरको ३४.२२, युनाईटेड इदी मर्दी आरविको ४२.१२, नेशनल हाइड्रोको १३.८९, सयपत्रीको ४१.७९ प्रतिशतले नाफा घटेको छ ।

त्यसैगरि रिदी पावरको नाफामा ९५.८ प्रतिशत, बरुण हाइड्रोपावर १९.०६ प्रतिशत, अपि पावरको ५६.३८, अरुणभ्यालीको ३६.७९ प्रतिशतले गिरावट आएको छ ।


प्रतिक्रिया दिनुहोस्