विद्युत बिक्रीबाट हाइड्रोपावर कम्पनीले १३ अर्ब कमाए: अपर तामाकोशीको मात्रै ५ अर्ब, कुनको कति ?

काठमाडौं । हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्री आम्दानी वृद्धि भएको छ । कम्पनीहरुले ६ महिनामा १३ अर्ब रुपैयाँ बढी विद्युत बिक्री गरेका हुन् ।
संचालनमा रहेका जलविद्युत कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको पुस मसान्तसम्ममा ४७ वटा कम्पनीहरुले विद्युत बिक्रीबाट १३ अर्ब २० करोड ४९ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेका हुन् । जुन, गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १० अर्ब ४८ करोड १७ लाख हजार रुपैयाँ आम्दानी गरेका थिए ।
सो अवधिमा २४ वटा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ भने १२ वटा भने घटेको देखिएको छ । वित्तीय विवरण प्रकाशित गरेका ग्रीन लाइफ हाइड्रोपावर, मध्य भोटेकोशी, रसुवागढी,रिभर फल्स, साहस उर्जा, साञ्जेन, पिपुल्स हाइड्रोपावर कम्पनीले भने विद्युत बिक्रीबाट हुने आम्दानी उल्लेख गरेका छैनन् ।
अपर तामाकोशी एक्लैले बेच्यो झण्डै पाँच अर्बको विद्युत
चालु आवको ६ महिनामा सबैभन्दा धेरै विद्युत अपर तामाकोशीले बिक्री गरेको छ । सो अवधिमा कम्पनीले एक्लैले ४ अर्ब ९८ करोड ५१ लाख ८६ हजार रुपैयाँ बराबरको विद्युत बिक्री आम्दानी गरेको छ ।
कम्पनीको यो आम्दानी गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने ३६.७१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६४ करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको विद्युत बिक्री आम्दानी गरेको थियो । विद्युत बिक्री आम्दानी वृद्धि भएपनि कम्पनी अझै ८२ करोड ४८ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।
गत कात्तिक ८ गतेदेखि १८ गतेसम्म विद्युतकेन्द्रको सबै युनिट बन्द गरि विद्युत केन्द्रको बृहत मर्मत सम्भार गरिएकाले विद्युत बिक्री आय घट्न गएको कम्पनीले जनाएको छ । सोही कारण नै कम्पनी नोक्सानी व्यहोरेको कम्पनीको भनाई छ । कम्पनीले २०७८ भदौ २५ गतदेखि पूर्ण रुपमा विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ ।
२४ कम्पनीले बढाए बिक्री आम्दानीः दोर्दी खोला, अरुणभ्याली, युनिभर्सल र सामलिङ पावरको उल्लेख्य सुधार
चालु आवको ६ महिनामा दुई दर्जन हाइड्रोपावर कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी वृद्धि गरेका छन् ।
आम्दानी बढाएका २४ वटा कम्पनीमध्ये दोर्दो खोला, अरुणभ्याली, युनिभर्सल पावर, सामलिङ पावर र अपर सोलुले उल्लेख सुधार गरेको देखिएको छ ।
गत वर्षको पुस मसान्तसमा १ लाख ८३ हजार रुपैयाँ मात्र बिक्री आम्दानी गरेको दोर्दी खोलाले यस वर्षको सोही अवधिमा भने उल्लेख्य सुधार गरेको छ । सो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
यस्तै, सो अवधिमा अरुणभ्याली हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ३५२.९ प्रतिशत, युनिभर्सल पावरको ३४४.२५ प्रतिशत, सामलिङको २५९.६६, अपर सोलु हाइड्रो इलेक्टिकको १९१.७९ प्रतिशतले वृद्धि भएको छ । चालु आवको पुस मसान्तसम्ममा यी कम्पनीहरुले विद्युत बिक्रीबाट क्रमशः १८ करोड २३ लाख, २० करोड ५९ लाख, १६ करोड २७ लाख र ४० करोड ८६ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
त्यसैगरि सो अवधिमा घलेम्दी हाइड्रोपावर विद्युत बिक्री आम्दानी ६५ प्रतिश, छ्याङ्दी हाइड्रोपावरको २८.९३ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको १७.८१, माउनटेन इनर्जीको ९.०९, मैलुङखोलाको ८.३४, रुरु जलविद्युत परियोजनाको ८.१३ प्रतिशतले वृद्धि भएको छ ।
१२ वटा हाइड्रोपावरको विक्री आम्दानीमा गिरावट, रिदी पावरको सबैभन्दा धेरै
चालु आवको ६ महिनामा एक दर्जन हाइड्रोपावर कम्पनीको विद्युत बिक्री आम्दानीमा भने गिरावट आएको छ । सो अवधिमा रिदी पावर कम्पनीको सबैभन्दा धेरै आम्दानी घटेको छ ।
चालु आवको पुस मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी ७१.९३ प्रतिशतले घटेर १८ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड ४४ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो ।
यस्तै, सो अवधिमा विन्ध्यावासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ३३.६४ प्रतिशतले घटेर १६ करोड १६ लाख, सयपत्रीको १३ प्रतिशतले घटेर ४ करोड १२ लाख, अपि पावरको १२.८४ प्रतिशतले घटेर २७ करोड ४२ लाख, सानिमा माइको १२.४२ प्रतिशतले घटेर ५० करोड ४९ लाख, आँखु खोलाको १०.४३ प्रतिशतले घटेर १२ करोड २३ लाख रुपैयाँ कायम भएको छ ।
त्यसैगरि चालु आवको ६ महिनामा सिंगटी हाइड्रोको विद्युत बिक्री आम्दानी ९ प्रतिशत, तेह्रथुम पावरको ४.२४, अरुण काबेलीको ३.९२, युनाईटेड इदी मर्दी आरविको ६.५७, माउनटेन हाइड्रोको २.२७ र युनियन हाइड्रोपावरको १ प्रतिशतले गिरावट आएको छ ।
कुन कम्पनीले कति बेचे विद्युत ?

