यो वर्षको पहिलो त्रैमासमा आर्थिक बृद्धिदर ७ वर्षकै न्यून, सरकारी लक्ष्य भेट्टाउन असम्भव

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको आर्थिक बृद्धिदर निराशाजनक देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले यो वर्ष साउनदेखि असोजसम्म जम्मा शून्य दशमलव ८ प्रतिशत मात्रै आर्थिक बृद्धि भएको तथ्यांक सार्वजनिक गरेको छ ।
यो अवधिमा खानी तथा उत्खनन र निर्माण क्षेत्रले उच्च दरमा संकुचन भोगेपछि आर्थिक बृद्धिमा सुस्ता आएको देखिएको छ । सरकारले क्रसर उद्योगहरुमा प्रतिबन्ध लगाउनु अघि नै सिमेण्ट उद्योगहरु ज्यादै कम क्षमतामा चलिरहेका थिए । यसले खानीजन्य उत्पादनमा असोजअघि नै ब्यापक गिरावट आएको देखिएको छ ।
वित्तीय प्रणालीमा तरलता अभाव चर्किँदै गएपछि निर्माण क्षेत्र नराम्रोसँग प्रभावित बन्न पुग्यो । मानिसहरुले नयाँ घर बनाउने होस् वा सरकारी आयोजनाहरुका काम हुन्, सबै रोकिन पुग्यो । मंसिरमा भएको संघीय तथा प्रादेशिक निर्वाचनले पनि सरकारी खर्चमा हुने विकास निर्माणका काम अवरुद्ध बन्न पुग्यो ।
नयाँ उद्योगधन्दा लगाउने, जलविद्युत आयोजनाहरुजस्ता निजी क्षेत्रले विकास गर्ने पुर्वाधारमा पनि संकुचन आयो । आयात प्रतिबन्धका कारण कतिपय आयोजनाहरु स्थगित भए । प्रतिबन्धले असर नपार्ने क्षेत्रमा पनि राष्ट्र बैंकले लगाएको आयात मार्जिनको भार उठाइहाल्ने हिम्मत व्यवसायीले गरेनन् ।
उद्योगी व्यवसायी पनि ‘पर्ख र हेर’को अवस्थामा रुमल्लिएपछि यो सालको पहिलो त्रैमासमा निर्माणका काम रोकिन पुगे । त्यसको सिधा असर सिमेण्टजस्ता खानिजन्य कच्चापदार्थमा निर्भर उद्योगमा पर्यो । निर्माणका काम रोकिएपछि सिमेण्ट उद्योगमात्रै होइन, बालुवा, गिटी उत्पादन गर्ने क्रसर उद्योगहरुले पनि काम पाएनन् । यसले खानी तथा उत्खनन क्षेत्रको बृद्धिदर २९.२ प्रतिशत र निर्माण क्षेत्रको बृद्धिदर २४ प्रतिशतले ऋणात्मक रहेको कार्यालयले जनाएको छ ।
यसबाहेक थोक तथा खुद्रा ब्यापार, सवारीसाधन मर्मत, ढुवानी तथा भण्डारणदेखि शैक्षिक क्षेत्रको बृद्धिदर पनि खुम्चिन पुगेको छ । गत साल कोभीडका कारण ठूलो घाटामा पुगेको होटेल व्यवसायमा भने यो साल उल्लास छाएको देखिन्छ । होटेल तथा रेस्टुरेण्ट लगायतको आर्थिक बृद्धि यो वर्ष ४५.८ प्रतिशत बढेको देखिएको छ ।
विद्युत्, ग्यास तथा वाष्प एवम् एयर कण्डिसनिङ आपूर्तिको बृद्धिदर पनि ह्वात्तै बढेको छ । पहिलो त्रैमासमा यस क्षेत्रको आर्थिक बृद्धिदर २७.५ प्रतिशत बढेको छ । होटेलहरुमा भएको तीव्र लगानी र मानिसहरुको उच्च आयका कारण एयर कण्डिसनको आपूर्ति बढाएको पनि हुनसक्छ । वर्षातको बेला भएकाले विद्युतको आपूर्ति यसै पनि बढ्छ । यो साल नयाँ जलविद्युत् आयोजनाहरु तयार भएका कारण जलविद्युत उत्पादनमा बढोत्तरी भएको छ ।
वित्तीय एवम् बीमा गतिविधीले पनि यो वर्षको पहिलो त्रैमासमा राम्रै बृद्धि हासिल गरेको छ । धेरै व्यवसाय धरासायी भएका बेला तिनै व्यवसायमा लगानी गर्ने बैंक र उनीहरुको जोखिम बहन गर्ने बीमा क्षेत्र फस्टाएको देखिएको छ । यी दुई क्षेत्रको बृद्धिदर २२ प्रतिशत छ । अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सेदारी भएको कृषि, वन तथा मत्स्यपालन लगायत अधिकांश क्षेत्रको बृद्धिदर सन्तोषजनक भएपनि मूलतः निर्माण र खानी तथा उत्खनन क्षेत्रमा आएको तीव्र गिरावटले आर्थिक बृद्धिदरलाई १ प्रतिशतभन्दा पनि कम अन्तरमा सीमित बनाएको देखिन्छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ प्रतिशतको आर्थिक बृद्धि हासिल भएको थियो । त्यसअघिका वर्षमा प्रथम त्रैमासको आर्थिक बृद्धिदर निकै उच्च छ । यो साल सात वर्षपछि पहिलो पटक प्रथम त्रैमासिक बृद्धिदर यति न्यून विन्दुमा झरेको हो । यसअघि भूकम्पका कारण २०७२ मा त्रैमासिक आर्थिक बृद्धिदर झण्डै साढे ७ प्रतिशत ऋणात्मक थियो ।
यसपालि उच्च महँगी, रोजगारीमा संकुचन, वित्तीय प्रणालीमा तरलता अभाव लगायत कारण आर्थिक बृद्धि अपेक्षित रुपमा बढ्न नसकेको कार्यालयले जनाएको छ । तर तरलता अभावकै कारण बैंकहरुले ब्याजदर बढाएर अधिक नाफा कमाउन थालेपछि वित्तीय क्षेत्रको बृघिद्धदर भने एक चौथाई उकासिएको छ ।
सरकारले वैशाखदेखि लागू गरेको आयात प्रतिबन्धले पनि प्रथम त्रैमासको आर्थिक बृद्धि कमजोर पार्न सहयोग पुगेको थियो । चालु आर्थिक वर्षको बजेटले ८ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य अघि सारेको छ । सामान्यतया दोस्रो त्रैमासपछि कुल गार्हस्थ उत्पादनको प्रभावकारी हिसाबकिताब हुने भए पनि बजेटको लक्ष्य भेट्टाउन नसकिने लगभग पक्का भइसकेको छ ।
चित्रः पछिल्ला १२ आर्थिक वर्षमा नेपालको त्रैमासिक आर्थिक बृद्धिको विवरण
