विश्व आर्थिक मन्दीको असर : ४० प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिवद्धता « Arthapath.com
२२ फाल्गुन २०७९, सोमबार

विश्व आर्थिक मन्दीको असर : ४० प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिवद्धता



काठमाडौं । वैदेशिक लगानीमा प्रतिवद्धतामा कमी देखिएको छ । चालु आर्थिक बर्ष २०७९/८० मा वैदेशिक लगानी प्रतिवद्धतामा समेत कमी आएको छ ।

कोरोना महामारीमा घटेको वैदेशिक लगानी प्रतिवद्धता गत आवमा बढ्न थालेको थियो । तर, चालु आवको पहिलो ७ महिना (माघ मसान्तसम्म) मा भने ४० प्रतिशतले घटेको छ । उद्योग विभागबाट प्राप्त चालु आवको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

विभागका अनुसार चालु आवको ७ महिनामा १८ अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । जुन गत आवको सोही अवधीको तुलनामा १२ अर्ब ४५ करोड १६ लाख रुपैयाँले कम हो । गत आवको माघ मसान्तसम्म भने नेपालमा ३१ अर्ब १० करोड २७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।

नेपालमा आव २०७६/७७ सम्म वैदेशिक लगानी प्रतिवद्धता बढ्दो क्रममै थियो । तर, कोरोना महामारीका कारण आव २०७७/७८ मा भने वैदेशिक लगानी प्रविद्धतामा कमी आएको थियो । त्यसपछि गत आव २०७८/७९ मा बैदेशिक लगानी प्रतिवद्धता पुनः बढ्न थालेको थियो । तर, चालु आवमा भने सुरुदेखि नै वैदेशिक लगानी प्रतिवद्धता घट्दै गएको बिभागको तथ्यांकले पुष्टी गरेको छ ।

यस्तै, आव २०७६/७७ नेपालमा ३७ अर्ब ८० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । त्यसपछि आव २०७७/७८ मा भने त्यो १५ प्रतिशतले घटेर ३२ अर्ब ७ करोड रुपैयाँमा सिमित भएको थियो । त्यसपछि आव २०७८/७९ मा वैदेशिक लगानी प्रतिवद्धता ६९ प्रतिशतले बढेर ५४ अर्ब १५ करोड रुपैयाँ पुगेको थियो । तर, चालु आवमा भने वैदेशिक लगानी प्रतिवद्धता घट्दै गएको विभागको तथ्यांमा उल्लेख छ ।

विशेषगरि विश्व आर्थिक मन्दीका कारण बैदेशिक लगानी प्रतिवद्धता घटेको बताइएको छ । कोरोना महामारी, रुस–युक्रेन युद्द, विश्वव्यापी महंगी लगायतका कारण पछिल्लो समय विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । सोही कारण नेपालमा वैदेशिक लगानी प्रतिवद्धता घटेको अर्थविद्हरुको भनाई छ ।

कोरोनाका कारण यसैपनि विश्व अर्थतन्त्रमा संकुचन गएको थियो । त्यसलगत्तै रुस–युक्रेनका युद्दका कारण विश्व अर्थतन्त्र थप प्रभावित भयो । सोहीका कारण विश्व व्यापी रुपमा महंगी बढ्ने, सप्लाई चेन बिग्रदै जाने समस्या देखियो । फलस्वरुप पछिल्लो समय विश्व अर्थतन्त्र नै अफ्ठ्यारो परिस्थीतिमा छ ।

त्यो अवस्थामा विदेशमा लगानी गर्दा मुनाफा आउने सम्भावना न्यून भएपछि यस्तो समस्या आएको बताइएको छ । त्यसमाथि विश्व आर्थिक मन्दीलाई दृष्टिगत गर्दै अमेरिका लगायतका मुलुकहरुले विदेशमा नभएर आफ्नै देशमा लगानी प्रोत्साहन गर्ने नीति ल्याएका छन् ।

पछिल्लो समय नेपालमा पनि महंगी तथा व्याजदर बढेको छ । नेपालको सप्लाई चेन्ज सिस्टमा पनि समस्या आएको छ । यो अवस्थामा नेपालमा लगानी गर्दा बढी प्रतिफल आउने सम्भावना न्यून छ । किनकी, महंगी तथा बढी व्याजदरका कारण लागत बढी लाग्छ । तर, त्योअनुसार प्रतिफल आउने सम्भावना भने हुँदैन । यी यस्ता कारण नेपालमा वैदेशिक लगानी घटेको विज्ञको भनाई छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको पहिलो ६ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ७८ प्रतिशतले घटेको छ । गत आव २०७८/७९ को पुस मसान्तसम्म ११ अर्ब ६० करोड ५१ लाख रुपैयाँ वैदेशिक लगानी नेपाल भित्रिएको थियो । तर, चालु आवमा त्यो भन्दा ९ अर्ब ४ करोड ८४ लाख रुपैयाँ कम अर्थात २ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ मात्रै प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ ।


प्रतिक्रिया दिनुहोस्