नेपालबाट विदेशी कामदारले लगे ४ अर्ब बढी रेमिट्यान्स, अनौपचारिक क्षेत्रबाट बाहिरीने रकमको छैन हिसाव « Arthapath.com
३ चैत्र २०७९, शुक्रबार

नेपालबाट विदेशी कामदारले लगे ४ अर्ब बढी रेमिट्यान्स, अनौपचारिक क्षेत्रबाट बाहिरीने रकमको छैन हिसाव



काठमाडौं । ७ महिनामा ४ अर्ब बढी रेमिट्यान्स नेपालबाट बाहिरिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनामा ४ अर्ब १ करोड ३५ लाख रुपैयाँ रेमिट्यान्स बाहिरीएको हो ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तर, गत वर्षको माघ मसान्तसम्मको तुलनामा भने झिनो गिरावट आएको छ । नेपालबाट गत आवको समिक्षा अवधिमा ४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो ।

नेपाल सरकारको वर्क पर्मिट ल्याएर नेपालमा काम गर्न आउने विदेशी कामदारले सो बराबरको रेमिट्यान्स आफ्नो देश पठाएका हुन् । नेपालमा काम गर्न आउने विदेशी कामदारले आफुले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् । विदेशी कामदारले आफुले कमाएको २५ प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ ।

पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बाहिरीने रेमिट्यान्स घटेको प्रारम्भीक अनुमान समेत गरिएको छ । आर्थिक संकटका कारण नेपालमा बढी मात्रामा रोजगारी सिर्जना हुन सकेको छैन । फलस्वरुप विदेशबाट आउने कामदार त्यति बढेका छैनन् । साथै, महंगी बढ्दा नेपालमा बसोबास गर्ने विदेशी कामदारको खर्च बढेको छ । यी यस्ता कारण बाहिरीले रेमिट्यान्स घटेको हुन सक्ने जानकारहरु बताउछन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार आव २०७७/७८ को समिक्षा अवधिमा ३ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ रेमिट्यान्स बाहिरीएको थियो । गत आव २०७८/७९ मा ७ अर्ब ६७ करोड ९१ लाख रुपैयाँ रेमिट्यान्स बाहिरीएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरि आव २०७७/७८ मा ६ अर्ब १ करोड ८५ लाख रुपैयाँ र आव २०७६/७७ मा ५ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ रेमिट्यान्स बाहिरीएको थियो ।

नेपालमा विदेशी लगानीका कम्पनी, आयोजनाहरुमा विदेशी कर्मचारी छन् । बिभिन्न बैंक तथा वित्तिय संस्थामा समेत विदेशी कर्मचारी छन् । जलविद्युत आयोजनाहरुमा पनि चिनियाँ, भारतीय कामदारहरु आउने गर्छन् । उनीहरुले यहाँ कमाएर आफ्नो देशमा रेमिट्यान्स पठाउछन् ।

यद्यपि, नेपालका अनौपचारिक क्षेत्रमा भारतीय कामदार थुप्रै छन्, उनीहरुले अनौपचारिक रुपमा (नगद बोकेर) नै आफुले कमाएको पैसा आफ्नो देशमा लैजाने गर्छन् । मुख्य रुपमा नेपालबाट भारतमा ठूलो परिमाणमा रेमिट्यान्स पुग्छ । त्यसबाहेकका अन्य मुलुकले पनि नेपालबाट रेमिट्यान्स लैजान्छन् ।

नेपालमा आएर थुप्रै भारतीयहरु नागरिकहरु आएर अनौपचारिक रुपमा काम गर्छन् । उनीहरुले आफुले कमाएको पैसा अनौपचारिक रुपमै लैजान्छन्, यसको हिसाव छैन । नेपालमा आएर औपचारिक रुपमा काम गर्ने भारतीय, चाइनीज लगायतका देशका नागरिकले रेमिट्यान्स लैजाने गरेका छन् ।

नेपालका जलविद्युत आयोजनाहरुमा चिनियाँ कामदार छन् । डावर नेपाल, युनिलिभर जस्ता मल्टीनेशन कम्पनीमा विदेशी कर्मचारी छन् । उनीहरुले यहाँ कमाएको पैसा रेमिट्यान्स मार्फत आफ्नो देश पठाउछन्, जसरी नेपालीले बाहिर गएर नेपालमा रेमिट्यान्स पठाउछन् ।

नेपाल भित्रने रेमिट्यान्स २७ प्रतिशतले बढ्यो

चालु आवको माघ मसान्तसम्ममा नेपालमा भित्रने रेमिट्यान्स ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । जुन, गत वर्षको समिक्षा अवधिमा २७.१ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो ।

चालु आवको माघ मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७६७ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो।

समिक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ५९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।


प्रतिक्रिया दिनुहोस्