क्रिप्टो कारोबारमा जोखिम नै जोखिम, यी हुन् राष्ट्र बैंकले औल्याएको एक दर्जन जोखिमहरु « Arthapath.com
२२ चैत्र २०७९, बुधबार

क्रिप्टो कारोबारमा जोखिम नै जोखिम, यी हुन् राष्ट्र बैंकले औल्याएको एक दर्जन जोखिमहरु



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा जोखिम बढ्दै गएपछि त्यसमा लगानी नगर्न नेपालीहरुलाई थप सचेत गराएको छ ।

राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार हुने जोखिम सम्बन्धी विश्लेषणात्मक प्रतिवेदन नै सार्वजनिक गर्दै यसबारे थप सचेत गराइएको हो । राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा क्रिप्टोकरन्सी माथि लगाइएको प्रतिवन्धलाई कायमै राख्ने निष्कर्श समेत निकालेको छ ।

राष्ट्र बैंकले सुरुदेखि नै क्रिप्टोकरेन्सीमा लगानी नगर्न आग्रह गर्दै आएको थियो । तरपनि नेपालीहरुले क्रिप्टोकरेन्सीमा लगानी गरिरहेको बताइन्छ । यद्यपि, गैरकानुनी कारोबार भएकाले यस सम्बन्धी तथ्यांक छैन ।

राष्ट्र बैंकको उक्त अध्ययनले क्रिप्टोकरेन्सीको कारोबार गर्दा विभिन्न १३ वटा जोखिम हुने देखिएको छ । यस्तो कारोबारबाट देशलाई मात्र नभएर सम्बन्धी लगानीकर्तालाई समेत जोखिम हुने प्रतिवेदनमा उल्लेख छ ।

विशेषगरि क्रिप्टोकरेन्सीको कारोबारेले समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम बढेको राष्ट्र बैंकको विश्लेषण छ । राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सम्बन्धी, मौद्रिक नीति कार्यान्वय नहुने, विदेशी विनिमय सञ्चिति घट्ने र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिम हुने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, वित्तीय ग्राहक संरक्षण, लगानीको असुरक्षा, ठगी तथा कर छली, अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँगको सहकार्य, वित्तीय मध्यस्थतामा पनि जोखिम हुने राष्ट्र बैंकले जनाएको छ । साथै, मुद्रा निष्काशन गर्ने एकाधिकार सम्वन्धी कानूनको पालना नहुने जोखिम पनि बढेको राष्ट्र बैंकको भनाइ छ । त्यसैगरि विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानून पालना नहुने सम्बन्धी जोखिम रहेको राष्ट्र बैंकको भनाइ छ । साथै विदेशी विनिमय माथिको नियन्त्रण (नियमन) गुम्ने सम्बन्धी जोखिम पनि बढेको प्रतिवेदनमा उल्लेख छ ।

कानुनी पक्ष समावेश नभई गरिने यस्तो लगानी तथा कारोबारमा अत्यधिक जोखिम रहने हुँदा आर्थिक सन्तुलन कायम राख्न चुनौती हुने बताइएको छ । अन्तरराष्ट्रिय मुद्रा कोषको जीएफएसआरुले नै यसले विश्वमै वित्तिय स्थायीत्व ल्याउन चुनौती दिएको प्रतिवेदनमा उल्लेख छ । साथै, यो केन्द्रीय बैंकको नियन्त्रण बाहिर भएकोले मौद्रिक नीतिको प्रभावकारितामा समेत नकारात्मक असर पर्ने बताइएको छ ।

नेपालमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विप्रेषण हो । तर, विदेशमा बस्ने नेपालीलाई विभिन्न प्रलोभनमा क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाइएको आशंका छ । त्यसले नेपाल आउने विप्रेषण विदेशमै लगानी हुने र विदेशी मुद्राको सञ्चितिमा नकारात्मक प्रभाव पर्ने प्रतिवेदनमा उल्लेख छ । क्रिप्टो करेन्सीमा गरेको लगानी समेत जोखिमपुर्ण हुने प्रतिवेदनमा उल्लेख छ ।

क्रिप्टोकरेन्सीलाई मुद्रा भन्ने गरिएतापनि यो कुनै मुलुकले जमानत/सुरक्षण राखेर जारी गरेको मुद्रा भने होइन । यसलाई निजी क्षेत्रका कुनै निश्चित व्यक्ति तथा समूहले जारी गरेका हुन् । त्यसले गर्दा यसमा गरिएको लगानीको कुनै प्रत्याभूति नहुने हुनाले जोखिमपूर्ण हुने राष्ट्र बैंकको निष्कर्ष छ ।

यी हुन् त्रिप्टो कारोबार गर्दा हुने जोखिम

– आर्थिक सन्तुलन कायम नहुने जोखिम
– वित्तीय स्थायित्व सम्बन्धी जोखिम
– मौद्रिक नीति कार्यान्वयन नहुने जोखिम
– विदेशी विनिमय सञ्चिति सम्बन्धी जोखिम
– सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिम
– वित्तीय ग्राहक संरक्षण सम्बन्धी जोखिम
– लगानीको असुरक्षा हुने सम्बन्धी जोखिम
– ठगी तथा कर छली सम्बन्धी जोखिम
– अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँगको सहकार्य विरुद्ध हुने सम्बन्धी जोखिम
– वित्तीय मध्यस्थता नहुने सम्बन्धी जोखिम
– मुद्रा निष्कासन गर्ने एकाधिकार सम्बन्धी कानूनको पालना नहुने जोखिम
– विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानून पालना नहुने सम्बन्धी जोखिम
– विदेशी विनिमय माथिको नियन्त्रण (नियमन) गुम्ने सम्बन्धी जोखिम

प्रतिबन्ध कायम राख्ने राष्ट्र बैंकको निर्णय, यस्तो छ कारण ?

राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निष्कर्श निकालेको छ । यसमा देखिएको विभिन्न जोखिम विश्लेषण गर्दै राष्ट्र बैंकले यसमा लगाएको प्रतिबन्धलाई कायमै राखेको हो ।

विभिन्न मुलुकहरुले आफ्नो देशका नागरिकले अन्य देशमा गर्ने लगानी, एक देशबाट अर्को देशमा हुने पुँजीको प्रवाह र मौद्रिक व्यवस्थाका सम्बन्धमा समेत फरक–फरक प्रबन्ध गरेका छन् । नेपालबाट विदेशमा लगानी गर्न प्रतिबन्धित रहेको छ ।

नेपालमा चालू खातालाई पूर्ण परिवत्र्यता प्रदान गरिएको भएतापनि पुँजीखातामा त्यस्तो व्यवस्था गरिएको छैन । विश्वभर प्रचलित एवम् निश्चित मुलुकले जारी गरेको मुद्रा (जस्तैः अमेरिकी डलर, जापानी येन, बेलायति पाउण्ड आदि) का सम्बन्धमा समेत नेपालमा नियमन/नियन्त्रण गरिएको व्यवस्था विद्यमान छ ।

नेपाली नागरिकले नेपालभित्र तोकिएको सीमासम्म मात्र नगद विदेशी मुद्रा राख्न सक्ने व्यवस्था रहेको छ । सो अवस्थामा क्रिप्टोकरेन्सी सम्बन्धी नियन्त्रण/प्रतिबन्ध नेपालको विशिष्ट व्यवस्था अन्तर्गत रहेको बताइएको छ । यस्तै, संयुक्त राष्ट्र संघ अन्तर्गतको निकाय, यूएनसीटीएडीले क्रिप्टोकरेन्सी विकासशील राष्ट्रहरुलाई हानिकारक हुने र विकासोन्मुख मुलुकहरुमा क्रिप्टोकरेन्सीको विस्तार रोक्नु पर्ने धारणा राखेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले इआई साल्भाडोर लाई क्रिप्टोकरेन्सीको कानूनी ग्राह्यता खारेज गर्न सुझाव दिएको छ । चीन र भारतमा समेत क्रिप्टोकरेन्सीलाई अन्य विकसित मुलुकहरुजस्तो खुल्ला गरिएको छैन । साथै, नेपालमा निजी क्षेत्रले मुद्रा जारी गर्न पाउने व्यवस्था छैन । तसर्थ, प्रचलित नेपाल कानूनले उक्त कार्यलाई दण्डनीय मानेको राष्ट्र बैंकको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्