नबिल बैंकले कमायो ५ अर्ब बढी नाफा: मुख्य सूचकहरुमा सकरात्मक सुधार, कस्तो छ वित्तीय प्रगति ?

काठमाडौं । नबिल बैंकले ५ अर्बभन्दा बढी नाफा कमाएको छ । बैंकले बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको नौ महिनामा बैंकले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा भने ५२.६३ प्रतिशत अर्थात १ अर्ब ७६ करोड ४१ लाख रुपैयाँले बढी हो । गत आवको समिक्षा अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले वृद्धि भई १२ अर्ब १० करोड ११ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र संचालन नाफामा उल्लेख सुधार गरेसंगै नाफा वृद्धिमा टेवा पुगेको हो ।
बैंकले ७ अर्ब ४८ करोड ६६ लाख ५३ हजार रुपैयाँ संचालन नाफा गरेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा ५६.५४ प्रतिशतले धेरै हो । सो अवधिसम्ममा बैंकको वितरवण योग्य नाफा १ अर्ब ७७ करोड २० लाख ९५ हजार रुपैयाँ रहेको छ ।
कको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २७ अर्ब २९ करोड ६३ लाख रुपैयाँ राखेको छ ।
समिक्षा अवधिमा बैंककले कुल ३ खर्ब ६३ अर्ब ४८ करोड७६ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब २३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
अवधिमा बैंकको खराब कर्जा भने २.२७ प्रतिशतले बढेर ३.८७ प्रतिशत पुगेको छ । वित्तीय रिपोर्ट अनुसार बैंकको प्रतिसेयर आम्दानीमा भने झिनो सुधार भई २५ रुपैयाँ २१ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा छ । बैंकको आधार दर ९.९९ प्रतिशत छ ।