खराब कर्जाले फाइनान्सको नाफा प्रभावित: समृद्धि र नेपाल फाइनान्सको एनपिएल १३% माथि, अन्य कुनको अवस्था कस्तो ?

काठमाडौं । खराब कर्जा बढेसंगै फाइनान्स कम्पनीहरुको नाफा प्रभावित भएको छ । अधिकांश फाइनान्स कम्पनीहरुको नाफमा भारी गिरावट आएको छ ।
सूचीकृत १४ वटा फाइनान्स कम्पनीहरुको नाफा ६८ प्रतिशतले घटेको छ । ती कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । तर, सेन्ट्रल फाइनान्स कम्पनीले भने हालसम्म वित्तीय रिपोर्ट प्रकाशन गरेको छैन ।
चालु आवको ९ महिनामा १४ फाइनान्स कम्पनीहरुले २७ करोड ६९ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जुन गत आवको समिक्षा अवधिको तुलनामा ५८ करोड ८८ लाख अर्थात ६८.०१ प्रतिशतले कमी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीहरुले ८८ करोड बढी खुद नाफा आर्जन गरेका थिए । सो अवधिमा तीन वटा फाइनान्स कम्पनीहरुले मात्र नाफा वृद्धि गरेका छन् । विवरण अनुसार दुई वटाले नोक्सानी व्यहोरेका छन् भने ८ वटाको नाफामा संकुचन आएको छ ।
मञ्जुश्रीले कमायो सबैभन्दा धेरै नाफा, नाफा वृद्धिमा मल्टीप्रपोजको छलाङ
चालु आवको ९ महिनामा मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै नाफा कमाएको छ । सो अवधिमा कम्पनीले १७ करोड १७ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत आवको समिक्षा अवधिको तुलनामा ५१.९१ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ११ करोड ३० लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, मल्टीप्रपोज फाइनान्सले भने सबैभन्दा धेरै नाफा बढाएको छ । गत आवको तेस्रो त्रैमासमा ५ लाख ७ हजार रुपैयाँ मात्रै नाफा कमाएको कम्पनीले यस वर्षको समिक्षा अवधिमा भने छलाङ मारेको छ । कम्पनीको नाफा ९५८.३८ प्रतिशतले वृद्धि भई ५३ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । यस्तै, समिक्षा अवधिमा पोखरा फाइनान्सले भने नाफामा सामान्य सधुार गरेको छ । कम्पनीको नाफा ६ प्रतिशतले वृद्धि भई ५ करोड ११ लाख रुपैयाँ पुगेको छ । गत आवको समिक्षा अवधिमा कम्पनीले ४ करोड ८२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
समृद्धि र प्रोगेसिभ फाइनान्स नोक्सानीमा
चालु आवको ९ महिनासम्म आईपुग्दा दुई वटा फाइनान्स कम्पनी नोक्सानीमा देखिएका छन् । समिक्षा अवधिमा समृद्धि फाइनान्स र प्रोगेसिभ फाइनान्सले नोक्सानी व्यहोरेका छन् ।
चालु आवको तेस्रो त्रैमासमा समृद्धि फाइनान्स १३ करोड ३४ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा छ । यद्यपि, गत आवको समिक्षा अवधिमा भने कम्पनीले २८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
घट्यो ८ फाइनान्सको नाफा
समिक्षा अवधिमा ८ वटा फाइनान्स कम्पनीको खुद नाफामा गिरावट आएको छ ।
चालु आवको तेस्रो त्रैमासमा गुडविल फाइनान्सले १ करोड ९९ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको समिक्षा अवधिको तुलनामा ८६.६८ प्रतिशतले कमी हो ।
यस्तै, जानकी फाइनान्सको नाफा ७०.७६ प्रतिशत, बेष्ट फाइनान्सको ८४.९१ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ७९.२७, रिलायन्स फाइनान्सको ८७.८८ प्रतिशतले घटेको छ । चालु आवको तेस्रो त्रैमासमा यी कम्पनीहरुले क्रमशः १ करोड ५३ लाख रुपैयाँ, २ करोड ३० लाख, ८४ लाख र ४६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
यस्तै, गोर्खाज फाइनान्सले ९ करोड १५ लाख, आईसीएफसीले ८ करोड ३९ लाख, नेपाल फाइनान्स १ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् । तर, यी कम्पनीहरुको नाफा गत आवको समिक्षा अवधिको तुलनामा भने क्रमशः ३.५५ प्रतिशत, ३२.३० प्रतिशत, ६७.७६ प्रतिशतले कमी हो ।
चुलियो फाइनान्स कम्पनीको खराब कर्जा
फाइनान्स कम्पनीहरुको खराब कर्जा पनि झ्न वृद्धि भएको छ । चालु आवको ९ महिनामा फाइनान्स कम्पनीहरुको खराब कर्जा ७६.२६ प्रतिशत पुगेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा ४५.४५ प्रतिशतले बढी हो ।
गत आवको समिक्षा अवधिमा भने सूचीकृत १४ वटा फाइनान्स कम्पनीको खराब कर्जा ५२.४३ प्रतिशत रहेको थियो । विवरणअनुसार दुई वटा कम्पनीको खराब कर्जा १३ प्रतिशत बढी, ७ वटाका ४ प्रतिशतभन्दा माथि नै छ । पछिल्लो समय देखिएका आर्थिक मन्दीले पनि बैंकहरुको कर्जा असुल हुन सकेको छैन ।
आर्थिक संकटका कारण अधिकांश क्षेत्रको व्यवसायीक आम्दानीमा ह्रास आएको छ । त्यसको असरले ऋणीहरुको ऋण तिर्ने क्षमता घटेको छ । महंगी, खर्च बढी, उच्च व्याजदर लगायतका कारण पनि ऋणीहरुको ऋण तिर्ने क्षमता घटेको छ । फलस्वरुप उनीहरुले कर्जाको किस्ता तथा व्याज तिर्न सकेका छैनन् । त्यसपछि स्वत रुपमा खराव कर्जा बढेको जानकारहरु बताउछन् ।
समृद्धि र नेपाल फाइनान्सको खराब कर्जा १३ प्रतिशत माथि, मल्टीप्रपोजको सबैभन्दा कम
दुई वटा फाइनान्स कम्पनीको खराब कर्जा १३ प्रतिशतभन्दा माथि छ । वित्तीय विवरणअनुसार समृद्धि फाइनान्स र नेपाल फाइनान्सको खराब कर्जा क्रमशः १३.४९ प्रतिशत र १३.१६ प्रतिशत पुगेको छ ।
खराब कर्जा उच्च बढेपछि समृद्धि फाइनान्स नोक्सानीमा पुगेको छ । गत आवको समिक्षा अवधिमा भने कम्पनीको यस्तो कर्जा ३.५९ प्रतिशत रहेको थियो । यता, नेपाल फाइनान्सको भने गत आवको तुलनामा झिनो सधार देखिन्छ । यद्यपि कम्पनीको खराब कर्जा हाल १३.१६ प्रतिशत छ । गत आवको समिक्षा अवधिमा कम्पनीसंग यस्तो कर्जा १५.७४ प्रतिशत थियो ।
यस्तै, सबैभन्दा कम खराब कर्जा भने मल्टीप्रपोज फाइनान्सको देखिएको छ । समिक्षा अवधिमा कम्पनीसंग १.१३ प्रतिशत मात्रै खराब कर्जा छ ।
७ कम्पनीको खराब कर्जा ४ प्रतिशत बढी
सात वटा फाइनान्स कम्पनीको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ । विवरण अनुसार जानकी फाइनान्सको ७.८३ प्रतिशत र गोर्खाज फाइनान्सको ६.७७ प्रतिशत खराब कर्जा छ ।
यस्तै, प्रोगेसिभ फाइनान्सको ४.९५ प्रतिशत, बेष्ट फाइनान्सको ७.८३ प्रतिशत, गुडवीलको ४.७१, गहुेश्वरीको ४.३८, पोखरा फाइनान्सको ४.८२, रिलायन्सको ४.२६ प्रतिशत खराब कर्जा रहेको छ ।
यता, मञ्जुश्री फाइनान्सको खराब कर्जा ३.३६ प्रतिशत र आईसीएफसी भने २.६४ प्रतिशत रहेको छ ।