राष्ट्रिय वाणिज्य र नेपाल बैंकको मर्जरका लागि एक्शनमा अर्थमन्त्रालय, बरालको संयोजकत्वमा बन्यो कार्यदल

काठमाडौं । सरकारी दुई बैंकको मर्जरका लागि छलफल अघि बढेको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको मर्जरका लागि कार्यदल गठन भएको हो । यी दुई बैंकको मर्जरको सम्वन्धमा अर्थमन्त्रालयले अध्ययनका लागि कार्यदल गठन गरेको हो ।
मर्जर सम्वन्धी अध्ययनका विश्लेषण गर्न अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यववस्थापन महाशाखाका प्रमुख भुपाल बरालको संयोजकत्वमा कार्यदल बनाएको बताइएको छ । केही समयदेखि सरकारी दुई बैंकबीच एक आपसमा गाभ्ने भनेर आन्तरिक रुपमा व्यापक छलफल हुँदै आएको थियो । नियामक निकाय नेपाल राष्ट्र बैंक हुँदै अर्थमन्त्रालयमा छलफल भईरहेको थियो ।
यता, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा सरकारी बैंकहरु पनि मर्जरमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । गत माघ १० गते राष्ट्रिष्य वाणिज्य बैंकको वार्षिकोत्सवको कार्यक्रममै गभर्नर अधिकारीले पछिल्लो समयमा निजी क्षेत्रका बैंकहरुको मर्जरको लहर चलिरहेको र बैंकहरुको व्यावसायिक आकार बढीरहेको भन्दै सरकारी बैंकहरुलाई पनि मर्जरमा जान सुझाव दिएका थिए । उनले भनेका थिए, ‘आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि एक आपसमा कुरा गर्न सक्नेछन् ।’
सार्वजनिक कार्यक्रममा नै उनले सरकारी बैंकहरुले पनि मर्जरको फाइदा र आवश्यकता बुझ्न आवश्यक रहेको औल्याएका थिए । मर्जरपछि बैंकहरुले प्रतिस्पर्धात्मक रुपमा व्यवसाय वृद्धि र गुणस्तरीय सेवा प्रवाह हुने उनको भनाई थियो । यद्यपि, पछिल्लो परिस्थीतिलाई दृष्टिगत गर्दै नेपाल र बाणिज्य बैंकले एक आपसमा मर्ज हुने गरि छलफल अघि बढाएका छन् । यसबार निकै गहिराईमै गएर छलफल भइसकेको स्रोतको भनाइ छ ।