नेपालको कुल निर्यात घट्दा गलैंचाको निकासी भने दोहोरो अंकले बढ्यो, १० महिनामा साढे ९ अर्बको बाहिरियो « Arthapath.com
९ जेष्ठ २०८०, मंगलवार

नेपालको कुल निर्यात घट्दा गलैंचाको निकासी भने दोहोरो अंकले बढ्यो, १० महिनामा साढे ९ अर्बको बाहिरियो



काठमाडौं । नेपालको कुल निर्यात घट्दा पनि कार्पेट (गलैंचा) को निकासी भने दोहोरो अंकले बढेको छ ।

चालु आर्थिक बर्ष २०७९/८० को १० महिनामा नेपालको कुल निर्यात २४.४९ प्रतिशतले घटेको छ । तर, कार्पेट (गलैंचा) को निर्यात भने २३.२१ प्रतिशतले निर्यात बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत आवको १० महिनामा १ खर्ब ७३ अर्बको निर्यात भएको थियो । तर, यसपाली त्यो १ खर्ब ३० अर्ब रुपैयाँमा झरेको छ । त्यो अवस्थामा गलैचा र अलैंचीको निर्यात भने दोहोरो अंकले बढेको हो ।

विभागका अनुसार १० महिनामा साढे ९ अर्ब बराबरको कार्पेत निर्यात भएको छ । चालु आवको बैशाखसम्म नेपालबाट ९ अर्ब ४९ करोड २२ लाख ९३ हजार रुपैयाँ बराबरको कार्पेट निर्यात भएको हो, जुन गत आवको सोही अवधीको तुलनामा १ अर्ब ७८ करोड ८३ लाख रुपैैयाँले बढी हो । गत आवको बैशाखसम्म नेपालबाट ७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको कार्पेट निर्यात भएको थियो ।

तथ्यांकअनुसार कार्पेट निर्यात हुने देशमा अमेरिका अग्र स्थानमा देखिएको छ । चालु आवको १० महिनामा उक्त देशमा ५ अर्ब ८७ करोड ८८ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ । दोस्रो स्थानमा भने जर्मनी रहेको छ, त्यहाँ ७३ करोड ९४ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ । यसैगरि तेस्रो स्थानमा रहेको लन्डनम ६३ करोड रुपैयाँ कार्पेट निर्यात भएको छ ।

पछिल्लो समय विश्व बजारमा नेपाली कार्पेटको माग बढ्दै गएको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले जनाएको छ । बिशेषगरि सेलीव्रेटी तथा हाइफ्रोफाइल व्यक्तिहरुका लागि ब्रान्डेड र गुणस्तरी कार्पेट (गलैचा) को माग हुने गरेको संघको भनाई छ । संघले एक अधिकारीले भने,–‘पछिल्लो समय विश्व बजारमा ब्रान्डेड, गुणस्तरीय कार्पेटको माग बढ्दो छ । जुन माग हामीले पनि पुर्ति गर्न सक्छौं । तर, नेपालको उत्पादन लागत महंगो छ । हामीलाई विश्वका अन्य देशका कार्पेटसँग प्रतिस्पर्धा गर्न गाह्रो छ।’

नेपाली गलैचाँको निर्यात बढाउन सरकारले यसमा आवश्यक पर्ने सबै कच्चा पदार्थमा भन्सार छुट, श्रमशक्ति व्यवस्थापनका लागि सिपमुलक तालिम आयोजना र बजार प्रवर्द्धनमा सहयोग गर्नुपर्ने संघको भनाई छ । सरकाले सहयोग गरेको निर्यात ३/४ गुणासम्म बढाउन सकिने व्यवसायीहरु बताउँछन् ।

अहिले गलैँचाका लागि चाहिने उनमा मात्रै भन्सार छुट छ । तर, अन्य कच्चा पदार्थमा भने भन्सार छुट छैन । जसले गर्दा लागत बढी भएको व्यवसायीहरु बताउछन् । साथै, गलैँचा हातले नै बुन्नुपर्छ, जसको लागि एकदमै राम्रो सिप चाहिन्छ । तर, नेपाली बजारमा त्यस्ता श्रमशक्ति पर्याप्त मात्रामा छैनन् । तसर्थ, यस्ता सिप भएका जनशक्ति उत्पादन गर्न सरकारले तालिम लगायतका कार्यक्रम आयोजना गर्नुपर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्