निरन्तर सुधारिँदै बाह्य क्षेत्र: रेमिट्यान्सले बढायो विनिमय सञ्चिति, शोधनान्तर २ खर्ब १४ अर्ब बचतमा « Arthapath.com
२६ जेष्ठ २०८०, शुक्रबार

निरन्तर सुधारिँदै बाह्य क्षेत्र: रेमिट्यान्सले बढायो विनिमय सञ्चिति, शोधनान्तर २ खर्ब १४ अर्ब बचतमा



काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्रमा निरन्तर सुधार देखिएको छ । पछिल्लो समय विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, सोधानान्तर स्थिति बचत लगायतका सूचकहरुमा सकरात्मक सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा भने २३.४ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा भने १३.४ प्रतिशतले वृद्धि भएको हो । चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्ममा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । समिक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह बढेर ७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको छ ।

यस्तै, कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यस्तो सञ्चिति गत वर्षको असार मसान्तसम्ममा १२ खर्ब १५ अर्ब ८० करोड बराबरको रहेको थियो । तर, बैशाख मसान्तसम्म आईपुग्दा भने विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले भएको हो । यस्तो सञ्चिति अमेरिकी डलरमा ११ अर्ब २१ करोड रुपैयाँ रहेको छ । जुन गत असार मसान्तसम्मको तुलनामा १७.६ प्रतिशतले बढी हो । गत वर्षको असार मसान्तसम्ममा ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । तर, चालु आवको वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेको थियो । तर, २०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ८०.७ प्रतिशत र २५.० प्रतिशत रहेका छन । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

तथ्याङ्क अनुसार समिक्षा अवधिमा आयत १६.८ प्रतिशतले घटेको छ । निर्यातमा पनि २४.५ प्रतिशतको गिरावट छ । समिक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्