डिजीटल भुक्तानी र कारोबारमा फड्को, क्यूआर कोड र मोबाइल बैंकिङ्गमा झन् बढ्दै आकर्षण

काठमाडौं । पछिल्लो समय क्यूआर कोड र मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार ह्वात्तै बढेको छ । एक वर्षकै अवधिमा क्यूआर कोड र मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबार झण्डै दोब्बरले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार क्यूआर कोड मार्फत हुने कारोबार १५५.६२ प्रतिशतले वृद्धि भएको हो । गत आवको बैशाख मसान्तसम्ममा १० अर्ब १९ करोड १० लाख रुपैयाँ बढीको कारोबार कूआर कोड मार्फत भएको छ । तर, चालु आवको समिक्षा अवधिमा भने २६ अर्ब ५ करोड १० लाख रुपैयाँ बढीको कारोबार कूआर कोड मार्फत भएको छ ।
समिक्षा अवधिमा ८५ लाख ८७ हजार २२४ पटक कूआर कोड मार्फत भुक्तानी भएको छ । पछिल्लो समय सानातिना किनमेललाई क्यूआर कोडमार्फत डिजिटल भुक्तानीको दायरामा ल्याउने विषयमा उल्लेख्य प्रगति भएको राष्ट्र बैंकका अधिकारीले बताए ।
समिक्षा अवधिमा मोबाइल बैंकिङ्ग कारोबार पनि ८४.८३ प्रतिशतले वृद्धि भएको छ । गत आवको बैशाख मसान्तसम्मा १ खर्ब १३ अर्ब ६२ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको थियो । तर, चालु आवको समिक्षा अवधिमा भने झण्डै दोब्बरले बढेर २ खर्ब १० अर्ब १ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा २ करोड ७४ लाख २४ हजार ७३२ पटक मोबाइल बैंकिङ्ग कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा बढ्दो आकर्षण छ । डिजीटल कारोबार र भुक्तानी दुवै उल्लेख्य रुपमा अघि बढेको हो । डिजीटल कारोबारलाई राष्ट्र बैंकले पनि बढवा दिँदै आएको छ । नेपालमा कोरोना महामारीपछि नै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र क्यूआर कोड पेमेमेन्ट तर्फ प्रयोगकर्ताहरुको आकर्षण बढेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले समेत क्युआर पेमेन्टलाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थासँग समन्वयमा ‘नगदरहित’ कारोबार अभियान नै चलाईरहेको छ । राष्ट्र बैंकका अधिकारीका अनुसार पछिल्लो समय नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेट आइपिएस, इ–कर्मश, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, क्यूआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेको बताउँछन् ।
बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको संख्या २ करोड ७ लाख ६३ हजार ३४६ रहेको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा १७.४६ प्रतिशतले बढी हो । गत चैत मसान्तसम्ममा भने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ४ लाख ३४ हजार ३१ रहेको थियो ।
डिजिटल कारोबार मार्फत एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउने, आफूलाई आवश्यक वस्तुहरुको किनमेल, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण दिनानुदिन बढ्दै गएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, क्युआरकोड अर्थात् (क्विक रेस्पोन्स पेमेन्ट) सेवा र मोवाइल वालेटमा पनि सर्वसाधारणको मुख्य आकर्षण बन्दै आइरहेको छ ।
चालु आवको बैशाख मसान्तसम्ममा इन्टरनेट बैंकिङ्ग मार्फत १३ अर्ब ४५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत आवको समिक्षा अवधिमा भने ११ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार इन्टरनेट बैंकिङ्ग मार्फत भएको थियो ।
यस्तै, समिक्षा कनेक्ट आइपीएस मार्फत ३ खर्ब ५९ अर्ब ५२ करोड ८ लाख बढीको कारोबार भएको छ । समिक्षा अवधिमा कनेक्ट आईपीएस मार्फत ४२ लाख १० हजार ४८० पटक कारोबार भएको छ । कनेक्ट आइपीएस प्रयोगकर्ताको संख्या भने १० लाख ६४ हजार ५४९ रहेको छ ।