नेपाली अदुवाको अन्तर्राष्ट्रिय व्यापार १० वर्ष यताकै उच्च: आयात भने घट्दै, तर सन्तुष्ट छैनन् व्यवसायी « Arthapath.com
१९ श्रावण २०८०, शुक्रबार

नेपाली अदुवाको अन्तर्राष्ट्रिय व्यापार १० वर्ष यताकै उच्च: आयात भने घट्दै, तर सन्तुष्ट छैनन् व्यवसायी



काठमाडौं । अदुवा उत्पादनमा नेपाल विश्वमा चौंथो स्थानमा पर्दछ । अलैंचीपछि सर्वाधिक विदेश निर्यात हुने नेपाली कृषिजन्य उत्पादन मध्ये अदुवा पनि एक हो । पछिल्लो समयमा अदुवा निर्यात बढ्दै गएको छ । सरकारी आकँडा यसको अन्तर्राष्ट्रिय बजार पनि बढ्दै गएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालबाट १ अर्ब २२ करोड २२ लाख रुपैयाँ बढीको अदुवा बाहिरिएको छ । जुन, पछिल्लो १० वर्ष यताकै उच्च निर्यात हो । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो आवको तुलनामा गत वर्ष ९०.५४ प्रतिशतले अदुवा निर्यात बढेको हो । गत आवमा २३ हजार १३ मेट्रिक टन अदुवा नेपालबाट बाहिरिएको छ ।

अघिल्लो आवमा भने ६४ करोड १४ लाख रुपैयाँ बराबरको ११ हजार ९५८ मेट्रिक टन बढी अदुवा निर्यात भएको थियो । नेपालमा उत्पादित अदुवा भारत, बंगलादेश, नेदरल्याण्ड, जापान, जमर्नी, यूएई, कतार लगायतका मुलुकमा पुग्ने गरेको छ ।नेपालमा उत्पादित अदुवा अन्य देशको तुलनामा गुणस्तरयुक्त हुने भएकाले पनि यसको निर्यात बढेको बताईन्छ ।

यी मुलुकहरुमा रोजगारीमा गएका तथा बसोबास गर्ने नेपालीहरुको संख्या पनि बाक्लो छ । सोही कारण पनि अदुवा माग हुने गरेको छ । उनीहरुले भान्सा र औषधीकै रुपमा प्रयोगका लागि अदुवा नेपालबाट लैजाने गरेको सो पाइन्छ । औषधीय महत्वसहित खानाको विशिष्टता र स्वादका लागि अदुवा प्रयोग हुने गरेको जानकारहरु बताउँछन् ।

नेपाली अदुवाको सबैभन्दा ठुलो बजारमा भनेको छिमेकी मुलुक भारत हो । मसला उत्पादनमा भारतमा विश्वकै ठुलो बजार छ । भारतीय व्यवसायीले नेपाली अदुवा खरिद गरेर पाउडर, मसला बनाएर तेस्रो मुलुकमा निर्यात गर्छन् । नेपालमा उत्पादित ९० प्रतिशत अदुवा भारतीय बजारमा पुग्ने गरेको तथ्याङ्कले देखाउँछ । गत आवमा भारतले मात्रै १ अर्ब ७ करोड २३ लाख रुपैयाँ बराबरको २ करोड २७ लाख ३१ हजार ७६६ केजी अदुवा खरिद गरेको छ । यस्तै, जापानले २४ लाख ७३ हजार रुपैयाँ, बंगलादेशले पनि १९ लाख र नेपाल अदुवा खरिद गरेको छन् ।

नेपालबाट झण्डै एक दर्जन बढी जिल्लाहरुमा अदुवा खेती हुने गरेको छ । हाल नेपालको सिन्धली, धनुषा, पाल्पा, धादिङ, प्युठान, ताप्लेजुङ, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन लगायतमा यसको खेती हुने गरेको छ । ती जिल्ला हरुमा अदुवाको व्यवासायिक खेती हुने गरेको हो ।

पछिल्लो १० वर्षमा नेपालले ५ अर्ब ५७ करोड १४ लाख रुपैयाँ बढीको अदुवा निर्यात गरको पाइएको छ । विभागको तथ्याङ्क अनुसार १० वर्षमा १ लाख ५१ हजार ४४० मेट्रिक टनभन्दा बढी नेपाली अदुवा अन्य मुलुकहरुले खरिद गरेका हुन् ।

स्रोत: भन्सार विभाग, रकम हजारमा

सरकारी आकँडामा जस्तो अदुवाको निर्यात भएको छैन, उत्पादन आधाले घटेको छ’: अध्यक्ष खड्का

नेपालबाट करोडौंको अदुवा निर्यात भएको सरकारी तथ्याङ्कले देखाउँछ । विशेषगरि आव २०७६/७७ बाट भने अदुवा निकासी बढेको देखिन्छ । सो आवमा नेपालबाट ४३ करोड ६२ लाख ९१ हजार रुपैयाँ बराबरको ८ हजार ८४७ मेट्रिक टन अदुवा निर्यात भएको थियो ।

यस्तै, आव २०७७/७८ मा पनि थप बढेर ४४ करोड ८३ हजार रुपैयाँ बराबरको ६ हजार ६५ मेट्रिक टन बढी अदुवा निर्यात भएको छ । तथ्याङ्क अनुसार अघिल्लो आवमा भने ६४ करोड १४ लाख बढीको अदुवा निकासी भएको छ ।

यसरी तथ्याङ्क हेर्दा अदुवा निर्यात क्रमश: बढेको पाइन्छ । तर, अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र कुमार खड्काले भने तथ्याङ्क अनुसार अदुवाको निर्यात नभएको बताए । उनले पहिले जस्तो नेपालबाट अदुवा निर्यात हुन छाडेको बताए । उनले भने,– ‘नेपालमा अदुवा उत्पादन लगभग आधाले घटेको छ । सरकारी तथ्याङ्कले उच्च मात्रामा निकासी बढेको पनि देखाएको हो । तर, सोही मात्रामा अदुवा निर्यात भएको छैन।’

विशेषत: भारतमा अहिले अदुवा उत्पादन बढेकाले पनि नेपाली अदुवा सकरकारी आकँडाले देखाएको जस्तो निर्यात नभएको उनको भनाई छ । उनले भने,– ‘नेपालको अदुवाको मुख्य बजार नै भारत हो । अहिले भारतमा उत्पादन बढेको छ । भारतमा सकारले कृषकलाई प्रशस्त सुविधा र अनुदान दिएर उत्पादन पनि बढाईरहेको छ । तर, नेपालको घटेको छ । मूल्यको अस्थिरताले नेपाली व्यवसायी पनि आत्तिएको अवस्था छ ।’

उनले भारत आफ्नै उत्पादनमा निर्भर हुन थालेका पनि पहिले जस्तो माग हुन छाडेको बताउँछन् । नेपाली किसानको परम्परागत कृषि प्रणालीको समस्या र सरकारले पनि विशेष भुमिका निर्वाह नगर्दा अदुवा खेती संकट परेको अध्यक्ष खड्काले बताए । ‘नेपालमा अदुवाको उत्पादन घट्दै गएको छ । सरकारले कृषिका लागि आत्मनिर्भर हुने लक्ष्यका साथ व्यावसायिक अदुवा खेती विस्तार गर्न नसक्ने हो भने यसको सम्भावना पनि छैन’–अध्यक्ष खड्काले भने ।

नेपाली उत्पादन अप्ठ्यारोमा पर्ने अवस्थामा पुगेको अध्यक्ष खड्काको भनाई छ । ‘हाम्रो लागत पनि बढी छ, पहिले भन्दा नेपाली अदुवालाई प्रतिस्पर्धा गर्न पनि गाह्रो छ । हाम्रो पूर्वी नाकाहरुमा नै भारतीय अदुवा आउन थालेका छन् । सरकारले समयमै अन्य विकल्प सोच्नुपर्ने बेला भएको छ’–अध्यक्ष खड्काले भने ।

सरकारले एकदमै महत्वका साथ यस तर्फ ध्यानदिनुपर्ने खड्काले बताए । कृषि र उत्पादनलाई प्रविधिमै बनाउन सके मात्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिने उनको भनाई छ । उनले भने,–‘पुरानौ शैलीमा बिना प्रविधिक नेपाली किसानहरले अदुवाव उत्पादन गरिरहेका छन् । यसमा सरकारले प्रविधिको विकास गरि गुणस्तरीय र उत्पादन वृद्धिमा सहयोग गर्नुपर्छ।’

तर, घट्दै अदुवा आयात

विभागको तथ्याङ्क अनुसार अदुवा आयात पनि घटेको छ । अघिल्लो आवको तुलनामा गत वर्ष भने ७.७१ प्रतिशतले अदुवा आयात घटेको हो ।

अघिल्लो आवमा १२ करोड ९१ लाख रुपैयाँ बराबरको विदेशी अदुवा नेपाल भित्रीएको थियो । तर, गत वर्ष भने घटेर ११ करोड ९१ लाख रुपैयाँको मात्रै आयात भएको छ ।

नेपालले छिमेकी दुई मुलुक भारत, चीन र कोरियाबाट अदुवा आयात गर्दै आएको छ । गत आवमा ति मुलुकहरुबाट ६ लाख १५ हजार २७६ केजी अदुवा नेपाल भित्रिएको थियो ।


प्रतिक्रिया दिनुहोस्