वैदेशिक अध्ययन शीर्षकमै एक वर्षमा बाहिरियो १ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा, अर्थव्यवस्थापनमा कस्तो असर ?

काठमाडौं । नेपालबाट शिक्षा मार्फत ठुलो रकम बाहिरिने गरेको छ । नेपाली विद्यार्थी विदेश अध्ययनका लागि बाहिरिने रकम उच्च दरमा वृद्धि भएको छ ।
पछिल्लो पाँच वर्षमा २ खर्ब ६५ अर्ब १२ करोड रुपैयाँ नेपालबाट शिक्षा मार्फत बाहिरिएको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त तथ्याङ्कले यस्तो देखाएको हो । पछिल्लो केही वर्षदेखि विदेश अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या र सो मार्फत बाहिरिने विदेशी मुद्रा निरन्तर बढेको तथ्याङ्कले देखाउँछ ।
गत वर्ष पाँच वर्ष यताकै बढी रकम शिक्षा मार्फत नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि लगेका छन् । गत वर्ष १ खर्ब ४२ करोड रुपैयाँ नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि लगेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ४८.३३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भने नेपालबाट ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।
राष्ट्र बैङ्कका अनुसार वार्षिक ५३ अर्ब रुपैयाँ बढी नेपालबाट बाहिरिने गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा ४६ अर्ब २४ करोड रुपैयाँ नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि लगेका थिए । यस्तै, आव २०७६/७७ मा भने २५ अर्ब ८१ करोड रुपैयाँ र आव २०७७/७८ मा घटेर २४ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।
पछिल्लो समय नेपाली विद्यार्थी विदेश अध्ययनका लागि बाहिरिने सङ्ख्या पनि बढ्दो नै छ । विशेषगरि कोरोना महामारी पछि नै यस्तो सङ्ख्या बढ्न थालेको तथ्याङ्कले पुष्टि गर्दछ । गत वर्ष मात्रै १ लाख १० हजार २१९ जना विद्यार्थीहरूले एनओसी लिएका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा केही सङ्ख्या घटेको छ । तर, विदेश अध्ययन मोह कम भने देखिँदैन । विशेषगरि कक्षा १२ (प्लस टु) र ब्याचलर पढेर विदेश पढ्न जाने विद्यार्थीहरूको सङ्ख्या निकै बाक्लो रहेको मन्त्रालयले जनाएको छ ।
हाल नेपाली विद्यार्थीहरू अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, जर्मनी, न्युजील्याण्ड लगायत विश्वका धेरै मुलुकहरूमा अध्ययनका लागि जाने गरेका छन् । विशेषगरि गरी यी मुलुक नै नेपाली विद्यार्थीको रोजाइमा देखिन्छ । पढाइका साथै राम्रो कमाई हुने भएपछि नेपाली विद्यार्थी विदेशिने गरेको छन् ।
अघिल्लो वर्ष पनि यी मलुकहरुमा अध्ययनका लागि १ लाख १२ हजार बढी नेपाली विद्यार्थीहरूले एनओसी लिएका थिए । आवमा २०७७/७८ मा भने पाँच वर्षकै कम सङ्ख्यामा अर्थात् २७ हजार ९७८ जना नेपालीले एनओसी लिएका थिए । तर, पछिल्ला वर्षहरूमा भने वार्षिक १ लाख भन्दा धेरै विद्यार्थीहरूले एनओसी लिएका छन् । यसरी बर्सेनि अर्बौँ रुपैयाँ शिक्षा मार्फत नेपालबाट बाहिरिने गरेको छ ।
हाल नेपालको विदेशी मुद्रा सञ्चिति मजबुत नै छ । पछिल्लो तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । विशेषगरि बढ्दो रेमिट्यान्स आप्रवाहले नै यस्तो सञ्चिति बलियो भएको देखिन्छ । गत वर्ष पनि रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । आयात पनि १६.१ प्रतिशतले घटेको छ । रेमिट्यान्स बढ्नु र आयात घट्नका कारण नै यति बेला विदेशी मुद्रा सञ्चिति बलियो देखिएको छ । तर, वार्षिक तथा मासिक रूपमा शिक्षा मार्फत नेपालबाट बाहिरिने ठुलो रकमले भने असर गर्ने बताइन्छ । ठुलो मात्रामा यस्तो रकम बाहिरिँदा आगामी दिनमा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न सक्ने विज्ञहरूको भनाई छ । यसले देशको अर्थव्यवस्थापनमा समेत अल्पकालीन तथा दीर्घकालीन रूपमा असर गर्ने विज्ञको भनाई छ । शिक्षाकै लागि ठुलो रकम बाहिर खर्च हुँदा मुलुकले अन्य क्षेत्रमा गर्ने लगानी अभाव हुन सक्ने समेत बताइन्छ ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार मासिक औसतमा ८ अर्ब ३६ करोड भन्दा बढी विदेशी मुद्रा नेपालबाट बाहिरिएको देखिन्छ । गत वर्ष २०७९ को साउनमा ७ अर्ब १३ करोड, भदौमा ५ अर्ब ६३ करोड, असोजमा ५ अर्ब १३ करोड र कात्तिकमा ४ अर्ब ७२ करोड रुपैयाँ नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि लगेका थिए ।
यस्तै, मङ्सिर, पुस र माघमा क्रमशः ६ अर्ब २० करोड, ६ अर्ब ५५ करोड र ८ अर्ब ३८ करोड रुपैयाँ बाहिरिएको थियो । त्यसपछिका महिनामा भने वृद्धि भएको देखिन्छ । राष्ट्र बैङ्कका अनुसार फागुनमा १० अर्ब ९६ करोड र चैतमा १२ अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको थियो । त्यसपछिको महिना अर्थात् गत वैशाखमा घटेर ७ अर्ब ९५ करोड रुपैयाँ नेपाली विद्यार्थीले नेपालबाट विदेश पढ्नका लागि लगेका थिए । गत जेठमा भने गत आवकै सबैभन्दा धेरै अर्थात् १४ अर्ब ४ करोड रुपैयाँ बाहिरिएको थियो । यता, गत असारमा भने ११ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको थियो ।