फस्टाउँदै अवैध हुन्डी कारोबार, नेपाली अर्थतन्त्रमा कस्तो असर ? « Arthapath.com
२४ भाद्र २०८०, आईतवार

फस्टाउँदै अवैध हुन्डी कारोबार, नेपाली अर्थतन्त्रमा कस्तो असर ?



काठमाडौं । बैङ्किङ कसुर अन्तर्गतको हुन्डी कारोबार पछिल्लो समय देशभर अवैध निकै बढेको पाइएको छ । पैसा स्रोत खुलाउनु नपर्ने र भनेको बेला एजेन्टमार्फत अन्तर्राष्ट्रिय स्तरमा सजिलै पैसा पठाउन सकिने भएकाले अवैधरुपमा हुन्डीको कारोबार फस्टाउँदै गएको हो । 

गत आर्थिक वर्ष २०७९/८० मा हुन्डी कारोबारको २१ वटा मुद्दा दर्ता भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार २ करोड ५२ लाख ३१ हजार रुपैयाँ बराबरको बिगो दाबी सहित हुन्डी कारोबारको २१ वटा मुद्दा दर्ता गरिएको हो । गत वर्ष २५ जना नेपाली र ६ जना विदेशी नागरिक हुन्डी कारोबारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढी हो । अघिल्लो आवमामा १५ वटा मुद्दा दर्ता भएको थियो । अघिल्लो आवमा १ करोड ८६ लाख ४३ हजार रुपैयाँ बराबरको हुन्डी रकमसँगै ११ जना नेपाली र १२ जना विदेशी गरी २३ जना व्यक्ति पक्राउ परेका थिए । 

प्रहरीका अनुसार पछिल्लो समय हुन्डी कारोबार मात्र नभई स्रोत नखुलेको रकम तथा माल वस्तुको देश बाहिर पठाउने र भित्राउने जस्ता अवैध क्रियाकलाप बढिरहेको छ । प्रहरीले सूक्ष्म निगरानीमा राख्दा राख्दै पनि यस्तो अवैध कारोबार बढ्दै गएको देखिन्छ । 

अवैध हुन्डी कारोबारले मुलुकको अर्थतन्त्र नै घाटामा जाने बताइन्छ । ‘बैंकिङ्ग च्यानल वा राष्ट्र बैङ्कबाट अनुमति प्राप्त संस्थाहरू सो मार्फत कारोबार गर्नुपर्ने हुन्छ । तर त्यसो नगरी कुनै मानिसलाई पैसा दिने सर्तमा रकम सङ्कलन गर्ने र अर्को मानिसले भुक्तानी पाउने गरी गोप्य कोडको आधारमा पैसा पठाउँछ र अर्को ठाउँबाट भुक्तानी हुन्छ । यसरी अवैध तरिकाले हुन्डीको कारोबार बढेको छ’– राष्ट्र बैङ्कका अधिकारी बताउँछन् । 

आयातमा आधारित हाम्रो अर्थतन्त्रलाई कति वैध र कति अवैध भनेर ठ्याक्कै छुट्टाउने गरी बृहत्तर अध्ययन नभएता पनि हुन्डीजस्ता अवैध कारोबारले राष्ट्रिय अर्थतन्त्रमा बहु आयामिक रूपमै प्रभावित भइरहेको देखिएको छ । यसले विद्यमान तरलता समस्या र महँगीलाई एकसाथ कायम राख्नमा हुन्डीको भूमिका बढी प्रबल रहेको देख्नेहरू धेरै छन् । हुन्डीजस्ता अवैध बाटोबाट हुने भुक्तानी र त्यसकै पृष्ठपोषणमा मौलाउने छायाँ अर्थतन्त्रको आकार बढिरहेको धेरैको बुझाई छ ।

हुन्डी कारोबारले सरकारको तथ्याङ्क व्यवस्थापनदेखि नीति र योजनाहरूको निर्माण एवम् कार्यान्वयनमा पनि नकारात्मक असर पारिरहेको हुन्छ । हुन्डीले विदेशमा लगानी प्रवाहित हुँदा स्वदेशमा बढ्नुपर्ने लगानी बढ्दैन, रोजगारी बढ्दैन र स्वदेशी माग पनि अपेक्षाकृत रूपमा बढ्न सक्दैन । यसले राष्ट्रिय अर्थतन्त्रलाई सबै पक्षबाट असर पारिरहेको हुन्छ ।

पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने पनि हुन्डी कारोबार निकै बढेको पाइन्छ । आर्थिक वर्ष  २०७५/७६ मा ४१ लाख ९२ हजार रुपैयाँ सहित ६ जना नेपाली नागरिक पक्राउ गरेका थिए । सो आवमा एउटा मात्रै हुन्डीको मुद्दा प्रहरीमा दर्ता भएको थियो । तर, त्यसपछिका वर्षहरूमा भने ह्वात्तै बढेको देखिन्छ । आव २०७६/७७ मा २४ मुद्दा दर्ता भएका छन् । सो आवमा १ करोड ८१ लाख ६२ हजार रुपैयाँ सहित २० जना नेपाली र १८ जना विदेशी नागरिक विरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको थियो । 

यस्तै, आव २०७७/७८ मा २ करोड १७ लाख ९९ हजार रुपैयाँ सहित १३ जना नेपाल र १२ जना विदेशी नागरिक हुन्डी कारोबारको आरोपमा पक्राउ परेका थिए । सो वर्ष १६ वटा मुद्दा दर्ता भएको थियो । 

त्यसैगरि अघिल्लो आव २०७८/७९ मा पनि १ करोड ८६ लाख ४३ हजार रुपैयाँ सहित ११ जना नेपाली र १२ विदेशी नागरिक पक्राउ परेका थिए । सो वर्ष १५ वटा मुद्दा दर्ता भएको थियो । नेपाल प्रहरीका एक अधिकारले भने,–‘विदेशबाट पैसा पठाउन र लिन सजिलो भएकाले हुन्डी प्रति विदेशमा बस्ने नेपाली हुन्डीको प्रयोग सहजै गर्न रुचाउँछन् । अवैध कारोबारमा आकर्षण बढेसँगै हुन्डीबाट ठगिने क्रम पनि निक्कै बढेको छ ।’

हुण्डी कारोबारमा सुरुसुरुमा लोभ्याउने तर, पछि ठगी भएका समेत घटना प्रशस्त छन् । अवैध र एकदमै जोखिमपूर्ण भएकाले यस्तो कारोबारबाट टाढा रहनुपर्ने प्रहरीको भनाई छ । यसले राज्यलाई पनि घाटा पार्ने बताइन्छ । 


प्रतिक्रिया दिनुहोस्