सन्तुलित बन्दै बाह्य क्षेत्र, दबाबमै आन्तरिक अर्थतन्त्र « Arthapath.com
१ आश्विन २०८०, सोमबार

सन्तुलित बन्दै बाह्य क्षेत्र, दबाबमै आन्तरिक अर्थतन्त्र



काठमाडौं । पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्र थप सन्तुलित बन्दै गएको छ । देशको बाह्य स्थिति थप मजबुद देखिएको हो ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थिति सम्वन्धीको आर्थिक तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनमा शोधनान्तर स्थिति अर्थात देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर पनि बचतमा देखिएको छ । अघिल्लो वर्षहरुमा घाटामा रहेको शोधनान्तर स्थिति पछिल्लो बचतमा देखिएको हो ।

साउनमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा रहेको छ ।

साउनमा रेमिट्यान्स आप्रवाह पनि बढेको छ, जसले शोधनान्तर स्थिति बचतमा पुर्याएको छ । चालु आवको साउनमा रेमिट्यान्स २५.८ प्रतिशत वृद्धि भएको छ। साउनमा मात्रै १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

यस्तै, समीक्षा अवधिमा चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ९ करोड ८५ लाखले बचतमा रहेको छ ।

त्यसैगरि पछिल्लो विदेशी विनिमय सञ्चितिमा पनि सुधार नै देखिएको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बाबरको रहेको थियो । तर, एक महिनामै अर्थात साउन मसान्तसम्म आइपुग्दा भने कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको छ । गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो । तर, एक महिनामै अर्थात् साउन मसान्तसम्म आइपुग्दा २.९ प्रतिशतले वृद्धि भई १३ खर्ब ८५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेको थियो । चालु आवको साउन मसान्तमा भने २.९ प्रतिशतले कमी आई १ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

चालु आव २०८०/८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमश: २९.२ प्रतिशत, ८५.७ प्रतिशत र २६.३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमश: २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

दबाबमै आन्तरिक अर्थतन्त्र

बाह्य क्षेत्रमा सुधार देखिएता पनि आन्तरिक अर्थतन्त्र भने दबाबमा छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार निर्यात पनि घटेको छ । समिक्षा अवधिमा निर्यात ८.७ प्रतिशतले घटेको छ ।योसंगै साउन मसान्तसम्मा १३ अर्ब ५३ करोड रुपैयाँ निर्यात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात २०.८ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश: ५२७.२ प्रतिशत र १५.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा अलैंची, जिंक शिट, पार्टिकल बोर्ड, जुस, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, औषधी (आयुर्वेदिक), पश्मिना, सुन तथा चाँदीका सामग्री तथा गरगहना लगायतका वस्तुका निर्यात घटेको छ ।

साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ ।

पछिल्लो कर्जा लगानी पनि बढी रहेको छैन । पछिल्लो समय देखिएको संकटका कारण बजारमा वस्तुको माग घटेको छ । जसले व्यवसायीहरूले ऋण लिएर व्यवसाय विस्तार गर्ने सक्ने अवस्था पनि छैन । निक्षेप संकलन बढे पनि कर्जा प्रवाह सुस्त छ । गत साउन मसान्तसम्मको तथ्याङ्क अनुसार त निक्षेप पनि घटेको हो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ३३ अर्ब २४ करोड (२.३ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०० अर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा गत साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ अर्ब ३१ करोड (०.०५ प्रतिशत) ले घटेकोथियो। वार्षिक बिन्दुगत आधारमा साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्