अझै हटेन ‘घर जग्गा व्यापार’मा संकुचन, कित्ताकाट खुल्दा पनि किन सुस्तायो कारोबार ?

काठमाडौं । केही दशकयता घरजग्गा कारोबार निकै उर्लिएको थियो । योगदानका हिसाबमा नेपालको अर्थतन्त्रमा घरजग्गाको हिस्सा बढी मानिन्छ । तर, पछिल्लो समय यसको कारोबार निरन्तर घटेको छ । केही वर्ष अघिसम्म निकै नै फस्टाएको घरजग्गा व्यवसायमा अझै सङ्कुचन हट्न सकेको छैन । सरकारले अर्थतन्त्र खुम्चिँदै गएपछि कित्ताकाट खुलाउने निर्णय पनि गर्यो । सो निर्णयसँगै घर जग्गा कारोबार निकै बढ्ने आशा गरिएको थियो । सरकारले कित्ताकाट खुलाउने निर्णय गरेकै महिनामा घर जग्गा कारोबारले गति लिन नसकेको हो ।
पछिल्लो एक महिनामै घर जग्गा कारोबार ९.११ प्रतिशतले घटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । साउन महिनाको तुलनामा भदौमा ३ हजार ५७७ वटा कम घर जग्गा लिखित पारित भएको छ । गत साउन महिनामा देशभर ३९ हजार २६३ वटा घर जग्गा किनबेच भएको थियो । तर, भदौमा भने घटेर ३५ हजार ६८६ वटामा झरेको छ । विभागको तथ्याङ्क अनुसार भदौमा २ हजार ८४३ वटा घर जग्गा नामसारी, ९ हजार ३८५ वटा संशोधन, ३५ हजार ४३६ रोक्का र २४ हजार १४ वटा फुकुवा भएको छ ।
विशेषगरि कित्ताकाट, बैङ्क तथा वित्तीय संस्थाहरूको तरलता अभाव र ब्याज वृद्धि लगायतले नै घर जग्गा कारोबारले गति लिन नसकेको हो । यद्यपि, पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढी रहेको छ । तर, कर्जाको माग बढ्न सकेको छैन । खरिदबिक्रीकर्ताहरुले घरजग्गामा लगानी गर्न डराइरहेको अवस्था छ । उनीहरूले बैङ्कबाट ऋण लिएर घर जग्गामा सहज रूपमा लगानी गर्न नसकिरहेको देखिन्छ । यसले बैङ्क तथा वित्तीय कम्पनीहरूबाट कुनै पनि क्षेत्र प्रवाह हुने कर्जाले गति लिन नसकेको अवस्था छ ।
यद्यपि, सहज रूपमा कित्ताकाट हुन नसक्दा नै घर जग्गा कारोबारले गति लिन नसकेको व्यवसायीहरू बताउँछन् । सरकारले भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली–२०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको थियो । तर, सो निर्णय सहज रूपमा कार्यान्वयन हुन् नसक्दा सकिरहेको छैन, त्यसले गर्दा कारोबार बढ्न सकिरहेको छैन । व्यवसायीहरूले सरकारले कित्ताकाट सहज बनाउन गरेको निर्णयपछि घर जग्गा कारोबार बढ्ने आशा थिए । सरकारले साउन मसान्तबाट कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ । सरकारको सो निर्णयले आगामी दिनमा घर जग्गा कारोबारमा उत्साह आउने विश्वास लिइएको थियो । तर, पनि कारोबारमा भने गिरावट देखिएको हो । यद्यपि, कित्ताकाटको परिणाम देखिन अझै केही समय लाग्ने जानकारहरू बताउँछन् ।
तर, कारोबार घट्दा पनि कसरी बढ्यो राजश्व ?
घर जग्गा कारोबार घटे पनि साउनको तुलना राजश्व सङ्कलन भने बढेको छ । भदौमा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब बढी राजश्व उठेको हो ।
विभागका अनुसार भदौमा ३ अर्ब ४ करोड ५९ लाख ४६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । तर, अघिल्लो महिना अर्थात् साउनमा भने २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बढी राजश्व मात्रै उठेको थियो । खासगरि मुख्य ठुला सहरहरूमा घर जग्गा किनबेच हुँदा राजश्व बढ्न पुगेको हो ।
भदौमा सेवा कर मार्फत २५ करोड ५५ लाख ५२ हजार, रजिष्टेशन दस्तुर १ अर्ब ९९ करोड २७ लाख ४४ हजार रुपैयाँ र बागमती तर्फ १ हजार २०० रुपैयाँ उठेको छ । भदौमा ३२ करोड ३५ लाख ४५ हजार रुपैयाँ बराबरको छुट दिइएको विभागले जनाएको छ।
भदौमा काठमाडौं उपत्यकाबाट नै धेरै राजश्व उठेको छ । मालपोत कार्यालय लगनखेलबाट ३३ करोड ९१ लाख ६८ हजार, भक्तपुरबाट २४ करोड १८ लाख ६४ हजार, चाबहिलबाट २० करोड ५० लाख ९ हजार, कलङ्कीबाट १९ करोड १४ लाख ३८ हजार रुपैयाँ राजश्व उठेको हो ।
मालपोत कार्यालय लगनखेलबाट ८४० वटा घर जग्गा, कलङ्कीबाट ५९४, चाबहिलबाट ४०७ वटा, साँघुबाट ३६७, मनमैजूबाट २७३ , डिल्लीबजारबाट १७४ र टोखाबाट १३५ वटा घर जग्गा कारोबार भएको छ ।