खस्कियो सेयर बजारबाट सरकारलाई जाने राजश्व, एक महिनामै २६ करोडले घट्यो पुँजीगत लाभकर « Arthapath.com
४ असार २०८२, बुधबार

खस्कियो सेयर बजारबाट सरकारलाई जाने राजश्व, एक महिनामै २६ करोडले घट्यो पुँजीगत लाभकर



काठमाडौं । सेयर कारोबार बापत सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर खस्किएको छ । सेयर कारोबारमा आएको कमीले लाभकर बापत सरकारले प्राप्त गर्ने राजस्वमा गिरावट आएको छ । 

पछिल्लो एक महिनामै सेयर बजारबाट सङ्कलन हुने पुँजीगत लाभांश २६ करोड बढीले घटेको छ । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएस)ले सेयर कारोबारबाट सरकारलाई जाने राजश्वको एकीकृत तथ्याङ्क राख्ने गर्दछ । सीडीएसीले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ भदौ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

भदौ महिनामा सरकारले सेयर बजारबाट १४ करोड ६९ हजार रुपैयाँ पुँजीगत लाभकर पाएको छ। जुन गत साउनको तुलनामा ६५.०६ प्रतिशत अर्थात् २६ करोड ८ लाख २२ हजार रुपैयाँले कमी हो । गत साउनमा भने सेयर कारोबारबाट सरकारले ४० करोड ८ लाख ९१ हजार रुपैयाँ पुँजीगत लाभकर सङ्कलन गरेको थियो । विशेषगरि सेयर बजारमा आएको गिरावटसँगै सरकारले पाउने पुँजीगत लाभकरमा पनि ह्रास आएको हो ।

लगानीकर्ताले सेयर कारोबारमा नाफा कमाएपछि नै सरकारलाई कर तिर्ने हो । भदौ पनि सेयर बजार निराशाजनक नै रह्यो । नेप्से परिसूचक घट्दा नै यसबापत सरकारलाई जाने राजश्वमा पनि कमी देखिएको हो । सेयर बजारमा देखिएको अस्थिरताले अधिकांश लगानीकर्ताले घाटा बेहोर्नु परेको छ, जसले राज्यले पाउने पुँजीगत लाभकर पनि घटेको छ । 

गत साउन महिनाको तुलनामा भदौ नेप्से परिसूचक अर्थात् सेयर बजार उच्च अङ्कले घटेको छ । भदौ महिनामा १७ दिन कारोबार भएको थियो । तर, परिसूचक ६८.२१ अंकले घटेको छ । बजारमा आएको भारी गिरावटले नै सरकारले यसबापत पाउने पुँजीगत लाभकरमा पनि धक्का पुगेको हो । नेप्से परिसूचक साउनको तुलनामा भदौमा ४.२७ अंकले बढी घटेको देखिन्छ ।

साउनमा बजार ६३.९४ अंकले  घटेको थियो । सो महिनामा २४ दिन कारोबार भएको थियो । त्यसमा १३ दिन बजार घटेको थियो । यद्यपि, ११ कारोबार दिन भने सुधार आएको थियो । नेप्से परिसूचकमा आएको गिरावटसँगै कारोबार रकम पनि गिरावट देखिन्छ । गत साउनमा कुल ६० अर्ब ५६ करोड २८ लाख ३४ हजार ८२४ रुपैयाँको कारोबार भएको थियो । तर, एक महिनामै ३९ अर्ब ६१ करोड १५ लाख ९८ हजार ५४८ रुपैयाँले खुम्चिएको छ । नेप्सेका अनुसार भदौ महिनामा २० अर्ब ९५ करोड १२ लाख ३६ हजार २७६ रुपैयाँको मात्र कारोबार भएको थियो ।

यसरी सेयर बजारमा आएको मन्दीका कारण नै सरकारले यस बापत पाउने राजश्व घटेको हो । लगानीकर्ताले सेयर कारोबारमा नाफा कमाएपछि नै सरकारलाई कर तिर्ने हो । अघिल्लो वर्ष नेप्से परिसूचक बढ्दो क्रममा थियो । फलस्वरूप सेयर कारोबार गर्ने अधिकांश लगानीकर्ताले नाफा कमाए, सोहीअनुसार गत आवमा यसबापत सरकारलाई जाने कर पनि बढी थियो । तर, पछिल्लो समय बजारमा आएको निरन्तर आएको गिरावटले यस्तो राजश्वमा कमी देखिन थालेको छ । 

भदौमा संस्थागत लगानीकर्ताबाट उठ्ने कर, व्यक्तिगत अल्पकालीन र व्यक्तिगत दीर्घकालीन लगानीकर्ताबाट उठ्ने कर घटेको छ । भदौमा व्यक्तिगत अल्पकालीन लगानीकर्ताबाट ७ करोड ६६ लाख ५ हजार ४६७ रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको छ । तर, गत साउनमा भने यस्ता लगानीकर्ताले सरकारले २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँ बुझाएका थिए । 

सीडीएसका अनुसार भदौमा दीर्घकालीन लगानीकर्ताबाट ५ करोड ६७ लाख ६२ हजार ८७४ रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको थियो । तर, साउनमा भने यस्ता लगानीकर्ताबाट १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको थियो । 

यता, संस्थागत लगानीकर्ताबाट भदौमा सरकारले ६७ लाख ९०१ रुपैयाँ पुँजीगत लाभकर उठेको छ । तर, साउनमा भने संस्थागत लगानीकर्ताले साउनमा ७ करोड ४५ लाख ९४ हजार ६२ रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । 

अहिले दीर्घकालीन कारोबारीले ५ प्रतिशत र अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्ने गरेका छन् । सेयर किनेको एक वर्षपछि बिक्री गरिन्छ भने त्यो दीर्घकालीन सेयर कारोबारमा गणना हुने गर्दछ । यस्तै, सेयर किनेको १ वर्षभित्र नै बिक्री गरिन्छ भने त्यो अल्पकालीन सेयर कारोबारमा पर्दछ । 


प्रतिक्रिया दिनुहोस्